Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Others/२२ लाख बालबालिकालाई भिटामिन ‘ए’, २० लाखभन्दा बढीलाई जुकाको औषधि खुवाइँदै

२२ लाख बालबालिकालाई भिटामिन ‘ए’, २० लाखभन्दा बढीलाई जुकाको औषधि खुवाइँदै

10/26/2026, 5:55:08 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
२२ लाख बालबालिकालाई भिटामिन ‘ए’, २० लाखभन्दा बढीलाई जुकाको औषधि खुवाइँदै

सरकारले कात्तिक १७ र १८ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका २० लाखभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी गरिएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार कार्यक्रम सञ्चालनका लागि देशभर आवश्यक औषधि पु¥याइसकिएको छ। केही स्थानमा औषधि पु¥याउने काम भइरहेको र कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक जनशक्तिसमेत परिचालन गरिएको उनले बताए। नेपाल न्यूज बैंकसँगको कुराकानीमा थापाले भिटामिन ‘ए’ वितरण कार्यक्रमका लागि करिब ५१ हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालन हुने जानकारी दिए। त्यस्तै, करिब १० हजार स्वास्थ्यकर्मी तथा स्थानीय तहका जनप्रतिनिधि पनि कार्यक्रमको अनुगमन र सहजीकरणमा खटिनेछन्। उनका अनुसार यो राष्ट्रिय कार्यक्रम भएकाले देशभरका ७५३ वटै स्थानीय तहमा कार्यक्रम सञ्चालन हुनेछ । बालबालिकाको सङ्ख्याका आधारमा आवश्यक औषधि स्थानीय तहमा पठाइएको छ । स्थानीय तहले आफ्नो अनुकूलता र आवश्यकताअनुसार विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सङ्घसंस्थाका भवन तथा अन्य सार्वजनिक स्थानमा वितरण केन्द्र निर्धारण गर्नेछन्। ‘हामीले यहाँबाट कति लक्षित जनसङ्ख्या छन्, कति औषधि आवश्यक पर्छ र कार्यक्रम सञ्चालनका लागि कस्तो बजेट चाहिन्छ भन्ने व्यवस्था मिलाउँछौँ। वितरण केन्द्र कहाँ राख्ने र कसरी कार्यक्रम सञ्चालन गर्ने भन्ने निर्णय स्थानीय तहले नै गर्छन्,’ थापाले भने। उनका अनुसार लक्षित बालबालिकाको सङ्ख्याभन्दा केही बढी भिटामिन ‘ए’ वितरणका लागि पठाइएको छ । बसाइँसराइका कारण बालबालिकाको सङ्ख्यामा हुन सक्ने परिवर्तन तथा वितरणका क्रममा औषधि अपुग हुन सक्ने अवस्थालाई ध्यानमा राखेर थप औषधि पठाइएको उनले बताए। छुटेका बालबालिकाले पनि औषधि पाउने निर्धारित दुई दिनमा कुनै कारणले औषधि खुवाउन छुटेका बालबालिका यसबाट वञ्चित नहुने थापाले बताए । उनका अनुसार वितरणका क्रममा बाँकी रहेका भिटामिन ‘ए’ स्वास्थ्य संस्थामा राखिनेछ । छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरेर औषधि खुवाउन सकिने व्यवस्था गरिएको छ । ‘कुनै बालबालिका पहिलो दिन वा निर्धारित समयमा छुटे भने पनि उनीहरू औषधि पाउनबाट वञ्चित हुँदैनन्। आवश्यकताअनुसार भोलिपल्ट वा पर्सिपल्ट नजिकको स्वास्थ्य संस्थामा गएर औषधि खुवाउन सकिन्छ,’ उनले भने। विशेषगरी सहरी क्षेत्रमा बालबालिकाको वास्तविक सङ्ख्या यकिन गर्न कठिन हुन सक्ने भएकाले आवश्यकताअनुसार थप औषधि पठाइएको उनले बताए। ग्रामीण क्षेत्रमा भने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई आफ्नो टोलमा रहेका बालबालिकाको सङ्ख्याबारे जानकारी हुने भएकाले वितरण व्यवस्थापन सहज हुने उनको भनाइ छ। थापाले अभिभावकलाई आफ्ना बालबालिकाको उमेरअनुसार भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन नजिकको वितरण केन्द्रमा लैजान आग्रह गरे। भिटामिन ‘ए’ को कमी र रतन्धो रोकथाम मुख्य उद्देश्य पोषण शाखा प्रमुख थापाका अनुसार बालबालिकामा भिटामिन ‘ए’ को कमी हुन नदिनु, आँखाको स्वास्थ्य जोगाउनु तथा कुपोषणसँग सम्बन्धित समस्याको जोखिम घटाउनु कार्यक्रमको मुख्य उद्देश्य हो। उनले विगतमा गरिएको सूक्ष्म पोषण तत्त्वसम्बन्धी राष्ट्रिय सर्वेक्षणमा बालबालिकामा भिटामिन ‘ए’ को कमी तथा रतन्धोको समस्या देखिएको बताए। त्यसैलाई ध्यानमा राखेर पाँच वर्षमुनिका बालबालिकालाई नियमित रूपमा भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन हुँदै आएको उनको भनाइ छ। उनले भने,‘भिटामिन ‘ए’ आँखालाई स्वस्थ राख्न आवश्यक पर्ने महत्त्वपूर्ण पोषक तत्त्व हो। यसको कमीले रतन्धोजस्ता समस्या देखिन सक्छन्। त्यसैले बालबालिकालाई नियमित रूपमा भिटामिन ‘ए’ खुवाउँदा यस्ता समस्या रोकथाम गर्न सहयोग पुग्छ,’ उनका अनुसार विश्व स्वास्थ्य सङ्गठनको सिफारिसअनुसार पाँच वर्षमुनिका बालबालिकालाई वर्षमा दुई पटक भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन गरिँदै आएको छ। नेपालमा पनि यो कार्यक्रम लामो समयदेखि निरन्तर सञ्चालन हुँदै आएको उनले बताए। सूक्ष्म पोषण तत्त्वको अवस्था पत्ता लगाउन राष्ट्रिय सर्वेक्षण सरकारले बालबालिकासहित विभिन्न उमेर समूहका व्यक्तिमा सूक्ष्म पोषण तत्त्वको वर्तमान अवस्था पत्ता लगाउन राष्ट्रियस्तरको सर्वेक्षणसमेत सञ्चालन गर्ने तयारी गरेको थापाले जानकारी दिए। उनका अनुसार सर्वेक्षणमा भिटामिन ‘ए’, आइरन, आयोडिन, जिंक तथा भिटामिन बी–१२ लगायतका सूक्ष्म पोषण तत्त्वको अवस्थाबारे अध्ययन गरिनेछ । रगत तथा पिसाबको परीक्षणमार्फत पोषणको अवस्था पहिचान गर्ने लक्ष्य रहेको उनले बताए। सर्वेक्षणबाट प्राप्त नतिजाका आधारमा आगामी वर्षमा पोषणसम्बन्धी कार्यक्रम तथा नीतिगत निर्णय गर्न सहयोग पुग्ने उनको भनाइ छ । सरकारले सञ्चालन गर्दै आएको भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम बालबालिकाको स्वास्थ्य र पोषण सुधारसँग जोडिएको राष्ट्रिय कार्यक्रम हो। त्यसैले निर्धारित मितिमा आफ्ना बालबालिकालाई नजिकको वितरण केन्द्रमा लगेर औषधि खुवाउन अभिभावकलाई आग्रह गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

एनपीएल : लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ८७ रनमा गर्‍यो अलआउट
OthersJust now

एनपीएल : लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ८७ रनमा गर्‍यो अलआउट

सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका लागि किशोरी महतोले चार, शेर मल्लले तीन, शाड्ली भानले एक, तिलकराज भण्डारी र रोहितकुमार पौडेलले एक विकेट लिए । ...

अनलाइन खबर
आयल निगम निर्देशन- ग्यास बेच्दा अनिवार्य भ्याट बिल दिनू
OthersJust now

आयल निगम निर्देशन- ग्यास बेच्दा अनिवार्य भ्याट बिल दिनू

ग्यास विक्रेताहरूले ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिएको गुनासो बढेपछि निगमले यस्तो निर्देशन दिएको हो । ...

अनलाइन खबर
सेयर बजारमा चम्किए सिमेन्ट कम्पनी, पुनर्निर्माणले व्यापार बढाउने आश
OthersJust now

सेयर बजारमा चम्किए सिमेन्ट कम्पनी, पुनर्निर्माणले व्यापार बढाउने आश

सिमेन्ट कम्पनीका सेयर मूल्यमा चमक देखिनुका पछाडि बाढीपछिको पुननिर्माणमा माग बढ्ने र त्यसले बिजनेसलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा नै रहेको लगानीकर्ता बताउँछन् । ...

अनलाइन खबर
कीर्तिपुरमा एनपीएल उत्सव : ड्रोनबाट यस्तो देखियो पहिलो खेल (तस्वीरहरू)
OthersJust now

कीर्तिपुरमा एनपीएल उत्सव : ड्रोनबाट यस्तो देखियो पहिलो खेल (तस्वीरहरू)

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा चलिरहेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play