विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–६ मा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन्। घटनालाई थप गम्भीर बनाउने गरी पीडित बालिकामाथि बेल्टले कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आरोपितका २३ वर्षीय छोरालाई समेत प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार गत कात्तिक २९ गते राति बालिकामाथि आफ्नै घरमा जबरजस्ती करणी भएको प्रारम्भिक सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले बालिकाको ससुरा नाता पर्ने ५५ वर्षीय व्यक्तिलाई नियन्त्रणमा लिएको हो। यसैबीच, सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा आरोपितका छोराले बालिकामाथि बेल्ट प्रहार गर्दै कुटपिट गरेको देखिएको छ। घटनाबारे थप सोधपुछ गर्दा बालिकालाई घरमै राखेर उनकै श्रीमान्ले कुटपिट गरिएको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बलात्कारको आरोपमा पक्राउ परेका व्यक्तिमाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। उनलाई मंसिर ९ गते अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ। त्यस्तै, बालिकामाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका २३ वर्षीय छोराविरुद्ध विद्युतीय अपराध तथा बालविवाहसम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना नियन्त्रण गर्न शून्य सहनशीलताको नीति अवलम्बन गर्दै घटनाको निष्पक्ष अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
१४ वर्षीया बालिका ससुराबाट बलात्कृत, भिडियो सार्वजनिक भएपछि बाबु–छोरा पक्राउ

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






