१२ शय्याबाट थालनी भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो छर्दै

काठमाडाैं । तत्कालीन समयमा पूर्वी नेपालका नागरिक आँखामा समस्या देखिए उपचार गर्न काठमाडौँ अथवा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो । उपचारका लागि लाग्ने खर्च, लामो यात्रा र काम छाडेर अस्पताल बस्नुपर्ने कठिनाइले विशेषगरी आर्थिक अवस्था कमजोर भएका परिवारलाई थप पीडा पर्दथ्यो । अर्काेतर्फ समयमै उपचार नपाउँदा सामान्य समस्या पनि जटिल बन्ने र दृष्टि गुमाउनुपर्ने जोखिम पनि त्यत्तिकै रहन्थ्यो । यस्तो अवस्थालाई अन्त्य गर्दै पायक पर्ने स्थानमा आँखा उपचार सेवा दिने ध्येयले सिरहाको लहानमा सुरुआत गरिएको आँखा उपचार केन्द्र आँखाका बिरामीका लागि भरोसाको केन्द्र भएको छ । आँखा उपचार सेवा लिन अन्यत्र जानुपर्ने अवस्थालाई अन्त्य गरिदिएको छ भने भारतबाट सेवा लिन आउने बिरामीको चाप दिनप्रतिदिन उच्च हुँदै गएको छ । सुरुआती दिनमा केन्द्रले आफ्नो सेवा १२ शय्याबाट थालनी गरेको थियो । स्थानीय समुदायको अपनत्व, अन्तरराष्ट्रिय सहयोग र नेपाल नेत्रज्योति सङ्घको निरन्तर पहलबाट अघि बढेको सगरमाथा चौधरी आँखा अस्पतालको सेवा पछिल्ला समय लहानमा मात्र सीमित रहेको छैन । विराटनगरसम्म विस्तार हुँदै यसले पूर्वी नेपालमा आँखा उपचार सेवाको पहुँच र स्वरूप परिवर्तन गर्न अब्बल साबित भएको छ । भौतिक पूर्वाधार, अत्याधुनिक चिकित्सकीय उपकरण, जनशक्तिका दृष्टिकोणले सगरमाथा चौधरी आँखा अस्पताल लहान र विराटनगरका आँखा अस्पतालले उत्कृष्ट बनेका छन् । स्थानीयवासीसँगको सहकार्य, स्वास्थ्य सेवाप्रतिको सामाजिक जिम्मेवारी, दक्ष जनशक्ति विकास र सर्वसाधारणसम्म उपचार पु¥याउन गरिएको लामो प्रयासबाट ती स्वास्थ्य सस्था खडा भएका थिए । यसरी थालनी भएको थियो लहानबाट नेपालमा आँखा उपचार सेवालाई व्यवस्थित र सर्वसुलभ बनाउने उद्देश्यसहित नेपाल नेत्रज्योति सङ्घको स्थापना सन् १९७८ मा भएको थियो । तत्कालीन समयमा देशका विभिन्न क्षेत्रमा आँखासम्बन्धी रोगको पहिचान र उपचारका लागि आवश्यक स्वास्थ्य संस्था तथा विशेषज्ञ जनशक्तिको पर्याप्त उपलब्धता थिएन । सन् १९८२ मा क्रिस्टोफेल ब्लाइन्डेनमिसन (सिबिएम) र नेपाल नेत्रज्योति सङ्घबीच सहकार्यको आधार तयार भयो । सन् १९८३ मा, सिबिएमसँग आबद्ध चिकित्सक ए. हेनिङ्गका पहलमा लहानस्थित तत्कालीन रामकुमार शारदा उमाप्रसाद मुरारका सार्वजनिक जिल्ला अस्पतालमा १२ शय्याको आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको थियो । पूर्वी क्षेत्रमा आँखा उपचार सेवा विस्तार हुनुमा डा हेनिङ्गको योगदान उल्लेखनीय छ । उहाँले लहानमा निरन्तर ३० वर्षसम्म सेवा गर्दै आँखा उपचार सेवाको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । सुरुआती दिनमा सीमित स्रोतसाधन र अस्थायी संरचनाबाट सेवा दिनु परे पनि बिरामीको चाप उच्च थियो । यसले क्षेत्रमा आँखा उपचार सेवाको आवश्यकता कति ठूलो थियो भन्ने स्पष्ट पार्दै लग्यो । बिरामीको बढ्दो चाप र विशेषज्ञ सेवाको मागअनुसार व्यवस्थित अस्पताल निर्माण गर्नुपर्ने आवश्यकता देखियो । तर त्यसका लागि आवश्यक जग्गा र आर्थिक स्रोत जुटाउनु सहज थिएन । यही चरणमा स्थानीय समाजसेवी तथा समुदायका अगुवाहरूको सहयोग महत्त्वपूर्ण बन्यो । अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने क्रममा छविलाल चौधरी, सरोवरलाल चौधरी र रवीन्द्रलाल चौधरीले निःशुल्क जग्गा उपलब्ध गराउने सहमति दिनुभयो । स्थानीय समुदायको यो योगदानले अस्पतालको संस्थागत विकासका लागि ऐतिहासिक आधार तयार गर्यो । सिबिएमको आर्थिक एवं प्राविधिक सहयोगमा ५० श्ययाको सगरमाथा चौधरी आँखा अस्पतालको अत्याधुनिक पूर्वाधार तयार भयो । सन् १९८६ मा तत्कालीन राजा वीरेन्द्र शाहबाट अस्पताल भवनको शुभारम्भ गरिएको थियो । सानो उपचार केन्द्रबाट सुरु भएको सेवा व्यवस्थित अस्पतालका रूपमा विकास भएपछि लहान र आसपासका क्षेत्रका नागरिकले पायक पर्ने स्थानमै आँखा उपचार पाउने अवसर पाए । तर, बढ्दो बिरामी चापसँगै विशेषज्ञ सेवा र दक्ष जनशक्ति व्यवस्थापनका चुनौती पनि थपिँदै गयो । लहानको अनुभव विराटनगरसम्म सगरमाथा चौधरी आँखा अस्पतालको सेवा विस्तार हुँदै गए पनि विशेषज्ञ चिकित्सक तथा प्राविधिक जनशक्तिलाई नियुक्त गर्न र लामो समयसम्म सेवामा टिकाइराख्न कठिन भयो । उच्च शिक्षाका अवसर, अन्य स्वास्थ्य सेवा र सहरी सुविधाको सीमित उपलब्धताले जनशक्ति व्यवस्थापनलाई चुनौतीपूर्ण बनाएको थियो । यसलाई अन्त्य गर्ने क्रममा आँखा उपचार सेवालाई अर्को सहरसम्म विस्तार गर्ने अवधारणा अघि सारियो । अध्ययनपछि विशेषज्ञ जनशक्ति उपलब्ध हुने सम्भावना र सहरी सुविधाको पहुँच तुलनात्मक रूपमा राम्रो रहेको विराटनगरमा आँखा अस्पताल स्थापना गर्ने निर्णय गरियो । यसै क्रममा सन् २००६ सेप्टेम्बर १३ मा सगरमाथा चौधरी आँखा अस्पतालको शाखाका रुपमा विराटनगर आँखा अस्पताल स्थापना भयो । प्रारम्भमा पुरानो विमानस्थल नजिकै भाडाको भवनबाट सेवा सञ्चालन गरिएको थियो । सगरमाथा चौधरी आँखा अस्पतालबाट प्राविधिक तथा प्रशासनिक सहयोग उपलब्ध गराइएको थियो । यसले नयाँ अस्पताललाई सेवा सञ्चालनको सुरुआती चरणमा आवश्यक सहयोग प्राप्त गर्न सहज बनायो । लहान आँखा तथा कान स्वास्थ्य प्रणालीका प्रमुख प्रशासक सुधीर ठाकुरका अनुसार, ८० श्ययाबाट सुरु भएको विराटनगर आँखा अस्पताल सन् २००९ सम्म आइपुग्दा ३०० शय्याको क्षमतामा विस्तार भएको थियो । बिरामीको बढ्दो चाप र सेवाको आवश्यकताले अस्पतालको विकासलाई तीव्र बनाएको थियो । यसै क्रममा नेपाल नेत्रज्योति सङ्घ, सगरमाथा चौधरी आँखा अस्पताल, सिबिएम, युरोपेली सङ्घ, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क तथा आन्तरिक स्रोतको सहयोगमा आधुनिक अस्पताल भवन निर्माण गरियो । सन् २०११ नोभेम्बर १५ मा तत्कालीन राष्ट्रपति डा रामवरण यादवबाट नयाँ भवनको शुभारम्भ भयो । यसरी लहानमा सुरुआत भएको आँखा उपचार सेवाको अनुभव र संस्थागत सहकार्यले विराटनगरमा थप क्षमतासहितको सेवा विस्तार गर्न सहयोग पु¥यायो । एउटा अस्पतालमा बढेको बिरामी चाप व्यवस्थापन गर्ने प्रयासबाट सुरुआत भएको विस्तारले पूर्वी नेपालका नागरिकका लागि थप उपचार अवसर सिर्जना ग¥यो । लहान र विराटनगरमा आँखा अस्पताल स्थापना हुनुको महत्व अस्पतालका भवन वा शय्यामा मात्र सीमित छैन । यसको अर्को महत्त्वपूर्ण पक्ष भनेको अस्पतालसम्म पुग्न कठिन हुने ग्रामीण क्षेत्रका नागरिकलाई समेत उपचारको दायरामा ल्याउने प्रयास हो । लहान आँखा तथा कान स्वास्थ्य प्रणालीले अस्पतालमा आउने बिरामीको उपचारसँगै समुदायस्तरमा सेवा विस्तार गर्न भूमिका खेलेको थियो । सगरमाथा चौधरी आँखा अस्पताल र विराटनगर आँखा अस्पताल, आँखा उपचार केन्द्र तथा समुदायमा आधारित गतिविधिमार्फत आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गरियो । निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविर, विद्यालयमा बालबालिकाको दृष्टि परीक्षण, घरदैलो कार्यक्रम र जनचेतनामूलक गतिविधिले समुदायमा आँखासम्बन्धी समस्या पहिचान गर्न सहयोग पु¥याए । उपचार आवश्यक भएका बिरामीलाई अस्पतालसम्म जोड्ने प्रयास पनि यस्ता कार्यक्रमको महत्वपूर्ण हिस्सा बन्यो । विशेषगरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने, अस्पतालसम्म पुग्न कठिनाइ हुने वा आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन सक्ने नागरिकका लागि समुदायस्तरका कार्यक्रम उपयोगी बने । अस्पतालको क्षमता विस्तारसँगै उपचार सेवाको वास्तविक पहुँच बढाउनु पनि उत्तिकै आवश्यक थियो । आँखा उपचार सेवाको प्रभावलाई भवन र शय्याको सङ्ख्याले मात्र मापन गर्न सकिँदैन । बिरामीले सहज रूपमा उपचार पाउनु, आर्थिक अभावका कारण उपचार रोक्न नपर्नु र दुर्गम क्षेत्रका नागरिकसम्म सेवा पुग्नु नै संस्थागत विकासका महत्वपूर्ण सूचक हुन् । तथ्याङ्कमा देखिएको सेवाको विस्तार नेपाल नेत्रज्योति सङ्घको विवरणअनुसार लहान आँखा तथा कान उपचार प्रणालीअन्तर्गतका संस्थाहरूले अस्पतालमा आधारित उपचार र समुदायस्तरीय कार्यक्रममार्फत आँखा तथा कान स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै आएका छन् । सन् २०२५ को तथ्याङ्कअनुसार यस प्रणालीअन्तर्गत १४ लाख ३१ हजार २८८ जना बिरामीलाई आँखा परीक्षण सेवा (ओपिडी) प्रदान गरिएको थियो । सोही वर्ष एक लाख ३२ हजार २१३ वटा शल्यक्रिया गरिएको थियो भने एक लाख ३३ हजार ३१६ जनाले चस्मा प्राप्त गरेका थिए । तथ्याङ्कअनुसार स्थापना कालदेखि सन् २०२५ सम्ममा यस प्रणालीअन्तर्गत एक करोड ६६ लाख ३१ हजार ९५० जनालाई आँखा परीक्षण सेवा प्रदान गरिएको र २४ लाख ९९ हजार ८९३ वटा शल्यक्रिया गरिएको छ । यी तथ्याङ्कले उपचार सेवाको विस्तार र बिरामीको ठूलो चापलाई सम्बोधन गर्न अस्पतालहरूले निर्वाह गरेको भूमिकालाई देखाउँछन् । यद्यपि, यस्ता उपलब्धिको वास्तविक महत्व सङ्ख्यामा मात्र होइन, उपचारका कारण मानिसले आफ्नो दृष्टि जोगाउन, दैनिक जीवनमा आत्मनिर्भर रहन र परिवार तथा समाजमा सक्रिय सहभागिता जनाउन पाउने अवसरमा पनि निहित छ । दृष्टि जोगाउने अभियानसँगै स्थानीय विकास आँखाको उपचारले व्यक्तिको दृष्टि जोगाउने मात्र होइन, उसको आत्मनिर्भरता, परिवारको जीवनयापन र सामाजिक सहभागितामा पनि प्रभाव पार्छ । दृष्टिसम्बन्धी समस्याका कारण काम गर्न नसक्ने वा दैनिक गतिविधिमा अरूको सहयोग लिनुपर्ने अवस्थाबाट व्यक्तिलाई बाहिर निकाल्न समयमै उपलब्ध हुने उपचार सेवाले महत्वपूर्ण भूमिका खेल्न सक्छ । सगरमाथा चौधरी आँखा अस्पताल र विराटनगरमा आँखा अस्पतालको विकाससँगै उपचारका लागि भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता हटेको छ । अहिले यी अस्पतालमा नेपालका विभिन्न जिल्लाबाट मात्र नभई भारत र बङ्गलादेशबाट पनि बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा बिरामी र उनीहरूका आफन्तको आवागमन बढेसँगै आसपासका क्षेत्रमा आर्थिक तथा व्यावसायिक गतिविधि पनि विस्तार भएका छन् । होटल, भोजनालय, यातायात सेवा, औषधि पसल र अन्य स्थानीय व्यवसायले यसबाट अवसर पाएका छन् । बिरामी तथा आफन्तको आवागमनसँग जोडिएका आवश्यकताले स्थानीय बजारलाई समेत चलायमान बनाउन सहयोग गरेको छ । यस अर्थमा आँखा उपचार सेवाको विस्तार स्वास्थ्य क्षेत्रमा भएको उपलब्धि मात्र होइन, अस्पताल रहेको क्षेत्रको आर्थिक गतिविधि र स्थानीय विकाससँग पनि जोडिएको छ । स्वास्थ्य संस्था विकास हुँदा त्यससँग सम्बन्धित सेवा तथा व्यवसायमा अवसर सिर्जना हुन सक्छ भन्ने उदाहरण लहान र विराटनगरको विकासक्रमले प्रस्तुत गरेको छ । स्थानीय पहललाई दिगो बनाउने जिम्मेवारी लहानमा १२ शय्याको उपचार केन्द्रबाट सुरु भएको यात्रा विराटनगरसम्म विस्तार हुनुमा स्थानीय समुदायको जग्गादान, अन्तरराष्ट्रिय सहयोग, नेपाल नेत्रज्योति सङ्घको संस्थागत पहल र स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको महत्वपूर्ण योगदान जोडिएको छ । यी सबै पक्षको सहकार्यले एउटा स्थानीय प्रयासलाई दीर्घकालीन संस्थागत स्वरूप दिन सम्भव बनायो । तर, विगतका उपलब्धिलाई सम्झनु मात्र पर्याप्त छैन । बढ्दो बिरामी चापअनुसार सेवाको गुणस्तर कायम राख्नु, दक्ष जनशक्ति व्यवस्थापन गर्नु, प्रविधिको विकाससँगै उपचार प्रणालीलाई अद्यावधिक बनाउनु र आर्थिक तथा भौगोलिक कारणले उपचारबाट वञ्चित हुने नागरिकसम्म सेवा पुर्याउनु आजका महत्वपूर्ण आवश्यकता हुन् । आँखा स्वास्थ्य सेवा सर्वसुलभ बनाउने लक्ष्य तब मात्र सार्थक हुन्छ, जब कुनै पनि नागरिकले आर्थिक अभाव, लामो दूरी वा पर्याप्त जानकारीको कमीका कारण उपचारको अवसर गुमाउनु पर्दैन । लहानदेखि विराटनगरसम्मको यो यात्रा दुई अस्पतालको इतिहास मात्र होइन, यो स्थानीय प्रयासले कसरी संस्थागत रूप लिन सक्छ, सहकार्यले कसरी स्वास्थ्य सेवाको दायरा विस्तार गर्न सक्छ र उपचार सेवाले कसरी समुदायको जीवन तथा स्थानीय विकासमा योगदान पु¥याउन सक्छ भन्ने उदाहरण पनि हो । अब यस यात्राको निरन्तरता सेवाको पहुँच, गुणस्तर र समावेशितालाई अझ सुदृढ बनाउँदै प्रत्येक नागरिकको दृष्टि जोगाउने लक्ष्यतर्फ अघि बढ्नुमा निर्भर हुनेछ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

फ्रान्समा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक
काठमाडाैँ । बढ्दो महँगीविरुद्ध फ्रान्सभर भएको प्रदर्शन शनिबार हिंसात्मक बनेपछि प्रहरीसँग झडप, आगजनी र व्यापक लुटपाट भएको छ । घटनामा करिब ४०० जना पक्राउ परेका छन् भने सेन्ट–एटिनेमा भिड नियन्त्रण... ...

काठमाडौं उपत्यकामा पातलिँदै सडक, दशैं मनाउन गाउँ फर्किने बढे
• बडादशैंको अवसरमा काठमाडौं छाडेर गाउँ फर्कने यात्रुको संख्या बढ्दै, जसले सवारी चापमा कमी ल्याएको छ। • काठमाडौं उपत्यका ट्राफिक प्रहरीका अनुसार घटस्थापनादेखि असोज ३० गतेसम्म ४ लाख २३ हजार ६६४ जना यात्रु उपत्यका छाडेका छन्। • सार्वजनिक यातायातको चाप घट्दै, मध्यम र लामो दूरीका सवारीसाधनले रिजर्भमा यात्रु लिएर उपत्यकाबाहिर जान थालेका छन्। ...

महाअष्टमीमा राजदेवी मन्दिरमा खोँइछ भर्ने भक्तजनको घुइँचो (फोटो फिचर)
जनकपुरधाम।महाअष्टमीका अवसरमा मिथिलाञ्चलका प्रमुख शक्तिपीठहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। जनकपुरधामस्थित राजदेवी मन्दिरसहित रामानन्द चोक, पिडरीयामाई स्थानलगायतका शक्तिपीठमा खोँइछ भर्न महिला श्रद्धालुको लामो लाइन लागेको छ। महिलाहरूले देवीलाई खोँइछ भर्ने र पुरुषहरूले प्रसाद चढाउने परम्परा छ। कतिपय शक्तिपीठमा निशा पूजा राति हुने भएकाले बिहान खोँइछ भर्ने गरिन्छ भने अधिकांशमा बिहानैदेखि यो क्रम जारी छ। राजदेवी मन्दिरमा प्रत्येक वर्ष खोँइछ भर्न महिला ...

मोटरसाइकल दुर्घटनामा ७० वर्षीया वृद्धाको मृत्यु, दुई घाइते
रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा परी ७० वर्षीया वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते छन् । ...


