हिउँद लागे पनि निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माणको प्रयास नै हुनसकेको छैन। डाइभर्सन नहुँदा दुई र तीनपाङ्ग्रे तथा साना चारपाङ्ग्रे सवारीसाधन यस खण्डमा सञ्चालनमा आउन सकेका छैनन्। खोलामा पानीको बहाव घटेसँगै तमोर करिडोर सडकको फिदिम–मुलघाट खण्ड नियमित सञ्चालनमा आइसकेको छ। तर फिदिम–काबेली खण्डमा भने यहाँ डाइभर्सन नहुँदा ठूला सवारीसाधनमात्रै सञ्चालन भइरहेका छन्। हिउँद लागे पनि फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमास्थित हेंवाखोलामा पानीको बहाव मनग्य हुने हुँदा दुई र तीनपाङ्ग्रे सवारी र साना चारपाङ्ग्रे सवारीसाधन पार गर्नसक्ने अवस्था नरहेको हिलिहाङ–७ माझीटारका बासिन्दा रामकुमार माझीले बताए। उनकाअनुसार तमोर करिडोरको यसखण्डको निर्माण गरिरहेको एपेक्स निर्माण कम्पनीले तिहारपछि विगतमा डाइभर्सन रहेको स्थानबाट ठूला सवारीसाधन पार गर्नसक्ने संरचना बनाएको छ। साना सवारी पार हुन नसक्दा तमोर करिडोर सडकले समेट्ने पाँचथरको हिलिहाङ गाउँपालिकाका बासिन्दा अत्यधिक प्रभावित भएका छन्। ‘डाइभर्सन नहुँदा सदरमुकाम आवतजावत गर्न दोब्बर बढी दूरी यात्रा गर्नुपर्ने बाध्यता छ। तमोर करिडोर सडक आयोजना र निर्माण कम्पनीले हेलचेक्रयाँइ गर्दा हामीले दुःख पाइरहेका छौँ’, हिलिहाङ गाउँपालिका–५ का वीरेन्द्र मङ्ग्रातीले भने, ‘यस विषयलाई सम्बन्धित निकायले गम्भीरताका साथ लिनुपर्छ।’ फिदिम–४ माझीटारका व्यवसायी रमेश तामाङ निर्माण कम्पनी र सरकारी निकायले साह्रै सामान्य काम पनि नगरिदिँदा यात्रुले लामो र घुमाउरो बाटो हिँड्नुपरेको तथा माझीटार क्षेत्रको व्यापार व्यवसाय सञ्चालनमा आउन नसकेको बताए। यसवर्ष गत चैतदेखि निरन्तर वर्षा भएकाले डाइभर्सन टिक्न सकेको छैन। जसकारण तमोर करिडोरको यस खण्डमा सवारीसाधन नियमित हुनसकेका छैनन्। ‘एकातिर घुमाउरो बाटो हिँड्नुपरेको छ, अर्कातिर माझीटार क्षेत्रको व्यापार व्यवसाय चौपट भएको छ’, तामाङले भने। विगतमा पनि यहाँ डाइभर्सन मर्मत र पुनर्निर्माणमार्फत नै यातायात सञ्चालन गर्ने गरिएको थियो। तर, यसवर्ष यातायात अवरोध भएको आठ महिना बितिसकेको छ। डाइभर्सन निर्माणमा फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाले समन्वय गरेर तत्कालै काम अगाडि बढाउनुपर्ने स्थानीयवासीको माग छ। निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पर्ने हेंवाखोलामा पुल निर्माण हुन बाँकी छ। यहाँ रहेको बेलिब्रिज तथा खोला किनाराको सडक २०८० साल असारमा आएको बाढीले बगाएपछि डाइभर्सनबाट यातायात सञ्चालन गरिएको थियो। विगतमा नियमित रूपमा डाइभर्सन मर्मत तथा पुनर्निर्माण हुँदै आएकामा यसवर्ष निर्माण कम्पनीले चासो नदिएको र पुल निर्माणकार्यमा समेत प्रगति नभएपछि स्थानीयवासी आक्रोशित बनेका छन्।
हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन, साना सवारी चल्नै सकेनन्

Read Complete Original Article
Published originally on पर्दाफास






