सिक्किममा नेपथ्यको चौथो कन्सर्ट कात्तिक १४ मा

काठमाडौँ। लोकरक ब्यान्ड नेपथ्य भारतको सिक्किम राज्यको राजधानी गान्तोकमा हुने कन्सर्टको तयारीमा जुटेको छ। गान्तोकस्थित पाल्जोर स्टेडियममा अक्टोबर ३१ अर्थात् कात्तिक १४ गते नेपथ्यले प्रस्तुति दिनेछ। ब्यान्ड सिक्किममा चौथोपटक प्रस्तुत हुन लागेको हो। कन्सर्टको घोषणा भएसँगै सिक्किम सरकारले पनि यसलाई अपनत्व दिएको थियो। भारतको ८०औँ गणतन्त्र दिवसको मुख्य समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले कन्सर्टको टिकट र नेपथ्यको तस्बिर अंकित टिसर्ट सार्वजनिक गरेका थिए। राजधानीको मुख्य स्टेडियममा आयोजना हुन लागेको कन्सर्टलाई भव्य बनाउने तयारी भइरहेको आयोजक पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्कका विकेश कायस्थले बताए। उनका अनुसार मैदान व्यवस्थापन र सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ। सिक्किमवासीले लामो समयसम्म सम्झिरहने कार्यक्रम बनाउने तयारी रहेको उनले बताए। हिमाली राज्यको सुन्दरता प्रवर्धन गर्नु र युवा पुस्ताको मनोबल बढाउनु पनि कन्सर्टको उद्देश्य रहेको आयोजकको भनाइ छ। फुटबल प्रतियोगिताका लागि लामो समयदेखि प्रयोग हुँदै आएको पाल्जोर स्टेडियमलाई तत्कालीन भारतीय राष्ट्रपति एपीजे अब्दुल कलामले उद्घाटन गरेपछि बहुउद्देश्यीय स्टेडियमका रूपमा विकास गरिएको थियो। कार्यतालिकाअनुसार अक्टोबर ३१ को साँझ ५ बजे स्टेडियमका ढोका खुल्नेछन् भने साँझ ७ बजे कन्सर्ट सुरु हुनेछ। सिक्किममा नेपाली, भुटिया र लेप्चा समुदायका लोकसङ्गीत प्रचलित छन्। मादल, सारङ्गी, डम्फु, टुङ्ना र नौमतीजस्ता वाद्ययन्त्र प्रयोग हुने त्यहाँको समाजमा तामाङ सेलो पनि लोकप्रिय छ। झ्याउरे, दोहोरी, सेलो, मारुनी, चुट्का, सोरठी र पालामजस्ता भाकासँगै च्याब्रुङ बजाउने र नाच्ने परम्परा पनि छ। नेपालमा जस्तै रोपाइँ, मेलापात र चाडपर्वमा समेत सङ्गीतको महत्त्वपूर्ण भूमिका छ। यही सांस्कृतिक निकटताका कारण नेपथ्यका गीत सिक्किमका श्रोतामाझ लोकप्रिय छन्। नेपालका ग्रामीण भेगमा पुगेर सङ्कलन गरिएका गीत त्यहाँका रेडियोमा नियमित बज्ने गरेका छन्। कन्सर्टका लागि सिक्किम पुग्दा गायक अमृत गुरुङका अन्तर्वार्तासमेत रेडियोमा प्रसारण हुने गरेका छन्। ‘सिक्किमका रेडियोमा बज्ने नेपथ्यका गीत सुनेर प्रभावित श्रोताले पठाउने मायालु सन्देश मैले बेलाबेला पाउने गरेको छु,’ अमृतले भने, ‘यसपटक रङ्गशालामै कन्सर्ट हुन लागेको र त्यसबारे उत्साहजनक समाचार आइरहेकाले हौसला झन् बढेको छ।’ अमृतका अनुसार नेपथ्यको स्थापना भएलगत्तै कन्सर्टका लागि निम्तो दिने दर्शकमध्ये सिक्किम–दार्जिलिङ क्षेत्रका दर्शक अग्रपङ्क्तिमा थिए। नेपथ्यलाई प्रवर्धन तथा परिचालन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले पछिल्लो समय दक्षिण कोरिया, दुबई र काठमाडौँमा भएका प्रस्तुतिमा दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको बताए। अन्तर्राष्ट्रिय रङ्गमञ्चदेखि साना गाउँसम्म ब्यान्डलाई प्रस्तुत गर्ने अभ्यास भइरहेको उल्लेख गर्दै उनले सिक्किममा पनि त्यस्तै प्रतिक्रिया पाउने विश्वास व्यक्त गरे। कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गिटारमा सुविन शाक्य, गिटारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन्। सिक्किमपछि नेपथ्यले पूर्वी नेपालका दुई सहरमा प्रस्तुति दिनेछ। कात्तिक १८ गते इटहरी र कात्तिक २१ गते झापाको चारआलीमा कन्सर्ट हुनेछ। तिहारपछि ब्यान्डले नेपालका चार साना तथा मझौला सहरमा साङ्गीतिक यात्रा गर्नेछ। त्यसपछि डिसेम्बरमा अस्ट्रेलियामा प्रस्तुति दिने कार्यक्रम छ। नेपथ्यका यी सबै कन्सर्टका टिकट अनलाइनबाट खरिद गर्न सकिने व्यवस्थापक नेपालयले जनाएको छ। ब्यान्डको आधिकारिक वेबसाइटबाट टिकट काटेर आफ्नो सिट सुरक्षित गर्न सकिनेछ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा दमौलीमा
तनहुँ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट सुरु भएको मेची महाकाली गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा मंगलबार तनहुँको सदरमुकाम दमौली आइपुगेको छ । सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको विस्तार र धार्मिक जागरण अभिवृद्धि... ...

कर्नाटकमा मतदाता सूची पुनरीक्षणपछि ७२ लाख मतदाता घटे, एक जना ‘पाकिस्तानी नागरिक’ पनि भेटिए
काठमाडौँ । भारतको कर्नाटक राज्यमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया सम्पन्न भएपछि कुल मतदाताको सङ्ख्यामा करिब ७२ लाखले कमी आएको छ । विवादका बिच सम्पन्न भएको यस पुनरीक्षणपछि राज्यमा... ...

कञ्चनपुरका स्थानीय तहलाई रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर । कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले यहाँका स्थानीय तहलाई रासायनिक मलको कोटा निर्धारण गरेको छ । कम्पनीले युरिया र डिएपी मलको कोटा निर्धारण गरिएको महेन्द्रनगर शाखाका प्रबन्धक हेमराज जोशीले... ...

१२ बजे १२ समाचार : सरकार ढाल्ने खेलमा विपक्षी दलहरू, सर्वोच्च अदालतमा पुरानो मुद्दाको जाम
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. आन्दोलन चर्काउने तयारी छठ पर्व लगत्तै विपक्षी दलहरूले सरकार विरोधी आन्दोलन... ...


