काठमाडौं । सामाजिक सञ्जालमा एउटा सामान्य भिडियोले कसैको जीवनको दिशा नै बदल्नसक्छ भन्ने उदाहरण बन्नुभएको छ भारतको अरुणाचल प्रदेशकी जेनी काम्की । पढाइ गरिरहेका बेला अचानक नाच्न थालेको उहाँको एउटा भिडियोले इन्टरनेटमा तहल्का मच्चाएपछि उहाँ रातारात चर्चामा आउनुभएको छ । तेलुगु गीत ‘वचिन्दम्मा’मा बनाइएको उक्त रिललाई २३ करोड ५० लाखभन्दा बढी पटक हेरिएको छ ।सामान्य शैलीमा तयार गरिएको उक्त भिडियोले जेनीलाई सामाजिक सञ्जालमा नयाँ पहिचानमात्र दिएन, मनोरञ्जनको क्षेत्रमा समेत अवसर दिलायो । यही लोकप्रियताका कारण उहाँ हाँस्य कलाकार समय रैनाको चर्चित शो ‘इण्डियाज गट लेटेन्ट’मा समेत देखिनुभयो । एउटा सामान्य रिलबाट सुरु भएको जेनीको यात्रा अहिले ठूलो पहिचान र अवसरसम्म पुगेको छ । अध्ययनसँगै आफ्नो रुचि र सिर्जनशीलतालाई निरन्तरता दिँदा सामाजिक सञ्जालले नयाँ सम्भावनाको ढोका खोल्नसक्छ भन्ने उदाहरण बन्नुभएको छ उहाँ । जेनी भारतको अरुणाचल प्रदेशस्थित वेष्ट सियाङ जिल्लाको काम्की गाउँकी हुनुहुन्छ । उहाँ हाल असमको गुवाहाटीमा बसेर होमियोप्याथी विषयको अध्ययन गरिरहनुभएको छ । पढाइसँगै नृत्य, गायन र भिडियो निर्माणमा रुचि राख्ने जेनी सामाजिक सञ्जालमा ‘लुसिड फर यू’ नामले परिचित हुनुहुन्छ । उहाँको लोकप्रियताको सुरुवात भने पढाइ र नृत्यलाई जोडेर बनाइएको एउटा रमाइलो भिडियोबाट भएको थियो । भिडियोमा उहाँ सुरुमा किताब पढिरहेको देखिनुहुन्छ । केही समयपछि अचानक पढाइ छाडेर गीतको तालमा नाच्न थाल्नुहुन्छ । उहाँको यही स्वाभाविक र रमाइलो प्रस्तुतिले दर्शकको मन जित्यो । जेनीको उक्त भिडियो सामाजिक सञ्जालका सामान्य प्रयोगकर्तामाझमात्र सीमित रहेन । दक्षिण भारतीय चलचित्र ‘गीता गोविन्दम’का कलाकार रश्मिका मन्दाना र विजय देवरकोंडाले समेत उहाँको नृत्यको प्रशंसा गर्नुभएको थियो । चर्चित कलाकारबाट प्रशंसा पाएपछि उहाँको लोकप्रियता झन् बढ्दै गयो । सामाजिक सञ्जालमा लोकप्रियता हासिल गरेपछि जेनीलाई समय रैनाको शो ‘इण्डियाज गट लेटेन्ट’को दोस्रो सिजनमा सहभागी हुने अवसर मिल्यो । शोमा उहाँले नृत्यसँगै आफ्नो गायन प्रतिभासमेत प्रस्तुत गर्नुभयो । उहाँले आफ्नो भाइले लेखेको तथा तयार पारेको अहिलेसम्म सार्वजनिक नभएको एउटा गीत गाउनुभएको थियो । कार्यक्रममा आफ्नो एउटा रिल २३ करोडभन्दा बढी पटक हेरिएको बताएपछि समय रैना पनि आश्चर्यचकित बन्नुभएको थियो । उहाँको लोकप्रियताबारे सुनेर समयले ठट्टा गर्दै आफ्नो निर्णायकको कुर्सीसमेत उहाँलाई दिनसक्ने बताउनुभएको थियो । जेनीको सफलता केवल एउटा भाइरल भिडियोको परिणाम मात्र होइन । उहाँ नृत्यमा प्रशिक्षित कलाकारसमेत हुनुहुन्छ । उहाँले भारतीय शास्त्रीय नृत्य कथक र असमको परम्परागत शास्त्रीय नृत्य सत्रियको प्रशिक्षण लिनुभएको छ । यसबाहेक उहाँ विभिन्न लोकनृत्यसँग पनि जोडिनुभएको छ । उहाँका भिडियोमा देखिने आकर्षक हाउभाउ, रमाइलो अभिव्यक्ति र सहज प्रस्तुतिले दर्शकलाई आकर्षित गर्ने गरेको छ । पढाइ, दैनिक जीवन र नृत्यलाई मिसाएर बनाइने उहाँका सामग्री विशेषगरी युवा पुस्तामाझ लोकप्रिय हुनुहुन्छ । ‘इन्डियाज गट लेटेन्ट’मा सहभागी हुनुअघि नै जेनीको इन्स्टाग्राममा १२ लाखभन्दा बढी फलोअर्स थिए । उहाँका भिडियोमा नृत्य, गायन र दैनिक जीवनका रमाइला क्षणहरू समेटिएका हुन्छन् । अहिले उहाँको लोकप्रियता अरुणाचल प्रदेशमा मात्र सीमित छैन, भारतभरका सामाजिक सञ्जाल प्रयोगकर्तामाझ फैलिएको छ । उहाँले नेटफ्लिक्स, युट्युब, च्याटजीपीटी र यस म्याडमजस्ता चर्चित ब्रान्डसँग पनि काम गर्ने अवसर पाउनुभएको छ । त्यस्तै, ‘द हलिउड रिपोर्टर इन्डिया’ले उहाँलाई सन् २०२६ को ‘क्रिएटर ए–लिष्ट’मा समेत समावेश गरेको छ । एउटा सामान्य रिलबाट सुरु भएको जेनीको यात्रा अहिले ठूलो पहिचान र अवसरसम्म पुगेको छ । अध्ययनसँगै आफ्नो रुचि र सिर्जनशीलतालाई निरन्तरता दिँदा सामाजिक सञ्जालले नयाँ सम्भावनाको ढोका खोल्नसक्छ भन्ने उदाहरण बन्नुभएको छ उहाँ ।
सामान्य रिलबाट सेलिब्रेटी पहिचानसम्म

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






