काठमाडौँ । साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा) द्वारा आयोजित ‘साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड २०२५’ मा नेपालका सातओटा संस्थाले ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेका छन् । बंगलादेशमा नोभेम्बर २७ र २८ तारिखमा आयोजित एक विशेष समारोहबिच नेपालका सातओटा बैंक तथा बीमा कम्पनीले ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित भएका हुन् । ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित हुने नेपाली संस्थाहरूमा नबिल बैंक लिमिटेड, कृषि बिकास बैंक, कामना सेवा विकास बैंक लिमिटेड र गरिमा विकास बैंक लिमिटेड रहेका छन् । त्यसैगरी, बीमा क्षेत्रतर्फ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड पनि ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) ले जनाएको छ । वित्तीय प्रतिवेदनमा देखाइएको उत्कृष्टता, पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनको उच्च कदरस्वरूप यो सम्मान प्रदान गरिएको आइक्यानले जनाएको छ । यस अन्तर्राष्ट्रिय उपलब्धिले समग्र नेपाल र नेपाली लेखा व्यवसायको गरिमा उच्च बनाएको उल्लेख गर्दै आइक्यानले पुरस्कृत सबै संस्थाहरूको निरन्तर सफलताको कामना गरेको छ । साथै, नेपालको वित्तीय प्रतिवेदन तथा संस्थागत सुशासनको स्तरलाई अझ सुदृढ बनाउन ती संस्थाहरूले पुर्याएको योगदानको आइक्यानले उच्च प्रशंसासमेत गरेको छ ।
साफा बिपिए अवार्ड-२०२५ मा नेपालका ७ संस्थालाई ‘सर्टिफिकेट अफ मेरिट’

Read Complete Original Article
Published originally on टक्सार






