भिक्टोरिया। अस्ट्रेलियाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको भिक्टोरिया राज्यमा प्रधानमन्त्री एन्थोनी अल्बानिजको लेबर पार्टीले विनाशकारी पराजय भोगेको छ। आइतबार सार्वजनिक नतिजाअनुसार मध्य–दक्षिणपन्थी लिबरल–नेसनल गठबन्धन १२ वर्षपछि सत्तामा फर्किएको छ। आधाभन्दा बढी मत गणना भइसकेको अवस्थामा केन्द्र–दक्षिणपन्थी लिबरल–नेसनल गठबन्धनले राज्यको तल्लो सदनमा बहुमत सिट जितेको छ। स्थानीय मिडियाको प्रक्षेपणअनुसार लेबर पार्टी राज्यको तल्लो सदनमा तेस्रो ठूलो दल बन्न सक्ने अवस्थामा पुगेको छभने त्यसपछि बायाँपन्थी ग्रीन्स पार्टी रहनेछ। ३६ वर्षीय नेतृ जेस विल्सन अब भिक्टोरियाकी नयाँ मुख्यमन्त्री बन्नेछिन्। उनी राज्यमा लिबरल पार्टीको तर्फबाट पहिलो महिला मुख्यमन्त्री बन्नेछिन्। दैनिक अस्ट्रेलियन फाइनान्सियल रिभ्यूले यसलाई ‘अस्ट्रेलियाको सबैभन्दा कठिन काम’ भनेर वर्णन गरेको छ। विल्सनले देशभित्रै सबैभन्दा उच्च रहेको ऋण घटाउन भिक्टोरियामा अस्ट्रेलियन डलर २० अर्ब (अमेरिकी डलर १३ अर्ब) बराबरको योजना अघि सारेकी छिन्। यसमा ढल प्रणालीलाई निजीकरण गर्ने विवादास्पद योजना पनि समावेश छ। “हामी साँच्चै नै अत्यन्तै विनम्ररूपमा महसुस गर्दैछौँ,” विल्सनले चुनावी नतिजाको उभार देखिएपछि आइतबार भनिन्। उनले भनिन्, “यो ठूलो विशेषाधिकार हो। भिक्टोरियाका जनताले दिएको विश्वासप्रति म पूर्ण रूपमा सम्मान गर्छु।” लेबरकी प्रमुखमन्त्री बेन क्यारोलले दलको हारमा आफ्नो सिट नै सुरक्षीत गर्न असमर्थ भए। उनले मतदान बन्द भएको केही घण्टापछि विल्सनलाई फोन गरी हार स्वीकार गर्दै उनलाई वधाई दिए। भिक्टोरियालाई अष्ट्रेलियाको राजनीतिमा नेतृत्वदायी (बेलवेदर) राज्य मानिने भएकाले यस पराजयले अल्बानिजमाथि थप दबाब सिर्जना गरेको छ। उनी आफ्नो दोस्रो कार्यकालको मध्यतिर छन्। ‘लिबरल सिनेटर’ जेम्स प्याटरसनले राष्ट्रिय प्रसारक एबीसीसँग भने, “यो मत परिणामले राज्यमा एक दशकभन्दा बढी समयदेखि सत्तामा रहेको लेबरप्रति ‘चकित पार्ने र विनाशकारी अस्वीकार’ देखाएको छ। हाल अष्ट्रेलियामा बढ्दो जीवनयापनको लागतप्रति व्यापक असन्तुष्टिका कारण अल्बानिजको लोकप्रियता ऐतिहासिक न्यून विन्दुमा झरेको छ। अस्ट्रेलियाको केन्द्रीय बैङ्कले यस महिना ब्याजदर फेरि बढाएर १८ वर्षको उच्च विन्दुमा पुर्याएको छ। मध्यपूर्वमा चलिरहेको युद्ध र लगातारको मुद्रास्फीति दबाबलाई यसको कारण बताइएको छ। यस नतिजाले अति–दक्षिणपन्थी ‘वन नेशन पार्टी’को लागि पनि सफलताको सङ्केत गरेको छ। यो पार्टी राज्यमा पहिलोपटक सिट जित्ने अवस्थामा देखिएको छ। शनिबार राति आयोजित सभामा नेतृ पलिन ह्यान्सनले लेबरको पराजयको श्रेय आफूलाई दिइन्। “तपाईँहरूले गर्नुभएको हो। जनताले नै गरेका हुन्,” उनले समर्थकहरूलाई भनिन्। वन नेशनले भिक्टोरियाको माथिल्लो सदनमा निर्णायक भूमिका खेल्न सक्ने सम्भावना देखिएको छ। वर्षौंदेखि किनारामा रहेको वन नेशन अहिले वर्तमान व्यवस्थाप्रति व्यापक असन्तुष्टिका कारण अस्ट्रेलियाका सबैभन्दा लोकप्रिय राजनीतिक दलहरूमध्ये एक बन्न पुगेको छ।
भिक्टोरियामा सत्तारुढ लेबर पार्टीलाई ठूलो धक्का

Read Complete Original Article
Published originally on नेपालन्युज






