काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी यात्रा अछामको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बैजनाथ धामबाट सुरु गरेको छ। सुदूरपश्चिमका नौवटै जिल्लामा ट्रफी प्रदर्शन गर्ने कार्यक्रमअनुसार शनिबार बिहान बैजनाथ धाममा पूजाआराधना र स्वस्तिवाचन गरी ट्रफी यात्रा सुरु गरिएको हो। बैजनाथ मन्दिरदेखि साँफेबगरसम्म ट्रफीसहित र्याली निकालिएको थियो। र्यालीमा क्रिकेटप्रेमी, समर्थक तथा सर्वसाधारणको सहभागिता रहेको थियो। कार्यक्रममा अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य भरतकुमार स्वारले अछाम क्रिकेटको उर्वर भूमि भएको बताउँदै ट्रफी यात्राले जिल्लामा थप खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवरले ट्रफी यात्राले बैजनाथ धामको प्रचारप्रसारमा समेत टेवा पुग्ने बताउनुभयो। रोयल्सका निर्देशक जगत टमट्टाले मैदानभित्र र बाहिर समर्थकले दिएको मायाप्रति आभार व्यक्त गर्न ट्रफी यात्रा आयोजना गरिएको बताउनुभयो। क्रिकेटप्रतिको आकर्षण बढाउने र खेलकुद विकासको सन्देश दिने उद्देश्यले धार्मिक क्षेत्र बैजनाथ धामबाट यात्रा सुरु गरिएको उहाँको भनाइ छ। अछामबाट सुरु भएको ट्रफी यात्रा शनिबार नै बाजुरा पुग्नेछ। मङ्सिर १४ गते डोटी र डडेल्धुरा, १५ गते बैतडी, १६ गते दार्चुला, १७ गते बझाङ र १८ गते डडेल्धुराको परशुराम धाममा ट्रफी प्रदर्शन गरिनेछ। मङ्सिर १९ गते कैलाली र कञ्चनपुरमा ट्रफी टुर हुनेछ। कैलालीको टीकापुर पार्कबाट सुरु हुने यात्रा चिसापानी, लम्की, घोडाघोडी ताल हुँदै अत्तरियासम्म पुग्नेछ। त्यसपछि कञ्चनपुरको महेन्द्रनगरदेखि दोधारा चाँदनी पुलसम्म र्याली निकालिनेछ। ट्रफी यात्राको अन्तिम दिन मङ्सिर २० गते धनगढीमा र्याली तथा सांगीतिक कार्यक्रम आयोजना गरी समापन गरिने रोयल्सले जनाएको छ। यसअघि एनपिएलका दुई संस्करणमा फाइनलसम्म पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणमा भने उपाधि आफ्नो नाममा गरेको हो।
बैजनाथ धामबाट सुरु भयो सुदूरपश्चिम रोयल्सको ट्रफी यात्रा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






