काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल लगानीका लागि खुला रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी, संयुक्त उद्यम तथा व्यावसायिक सहकार्यका अवसर उपयोग गरी साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन आह्वान गर्नुभएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको विदेश भ्रमणका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ (सीआईआई) को संयुक्त आयोजनामा नयाँ दिल्लीमा आयोजित नेपाल–भारत आर्थिक तथा व्यावसायिक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेपाल–भारत सम्बन्धलाई अब व्यापार, लगानी र आर्थिक सहकार्यका माध्यमबाट नयाँ उचाइमा पुर्याउनुपर्ने बताउनुभयो । उहाँले नेपालमा भारतीय निजी क्षेत्रको लगानी वृद्धि गर्न तथा दुई देशबीचको व्यापारमा रहेका अवरोध हटाउन भारतीय उद्योगी व्यवसायीलाई आग्रह समेत गर्नुभयो । भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको प्रमुख स्रोत रहेको उल्लेख गर्दै उहाँले गत वर्ष दुई देशबीच करिब ९ अर्ब ४० करोड अमेरिकी डलर बराबरको व्यापार भएको, नेपालको कुल निर्यातको ८० प्रतिशतभन्दा बढी भारततर्फ हुने गरेको तथा नेपालको कुल वैदेशिक प्रत्यक्ष लगानीमा भारतीय लगानीको हिस्सा करिब एकतिहाइ रहेको जानकारी दिनुभयो। नेपालले गत वर्ष भारत र बंगलादेशमा विद्युत् बिक्री गरी २९ अर्ब रुपैयाँ आम्दानी गरेको र अघिल्लो वर्षको तुलनामा यस्तो आम्दानी ६८ प्रतिशतले वृद्धि भएको उहाँले बताउनुभयो । “यति घनिष्ठ आर्थिक सम्बन्ध हुँदाहुँदै पनि नेपालमा भारतीय निजी क्षेत्रको लगानी अपेक्षाअनुसार आउन सकेको छैन् । नेपालमा लगानीको वातावरण सुधार गर्न सरकारले नीतिगत तथा कानुनी सुधार अघि बढाएको छ । विदेशी लगानीका लागि १०२ उद्योगमा स्वचालित स्वीकृतिको व्यवस्था र एकद्वार सेवा केन्द्र सञ्चालन गरिएको छ । यस्तै ५९ वटा ऐनका करिब ५०० दफामा संशोधन प्रक्रिया अघि बढाइएको छ । त्यसैले लगानीका लागि यहाँहरुलाई आव्हन गर्दछौं ।” उहाँले भन्नु भयो । सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्दै सरकारले लगानीका लागि आवश्यक सबै सुधार गर्ने उनको प्रतिबद्धता व्यक्त गर्नु भयो । मन्त्री वाग्लेले नेपालमा लगानी अभिवृद्धिका लागि सरकारले कानुनी सुधारलाई सरलीकृत र लगानीमैत्री बनाउँदै लगेको जानकारी दिँदै नेपालमा लगानी गरेकाहरूलाई लगानी विस्तार गर्न आग्रह गर्नु भयो । उहाँले लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ताको कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल लिइरहेको बताउनु भयो । कार्यक्रममा भारतीय उद्योग राज्यमन्त्री जितिन प्रसादले दुई देशको सम्बन्ध, व्यापार र लगानीबारे चर्चा गर्दै नेपालको आर्थिक विकासमा भारत सधैं सकारात्मक रहेको बताउु भयो । उहाँले भारतीय लगानीकर्ताका लागि नेपालका विभिन्न क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको उल्ल्ेख गर्नु भयो ।महासंघका अध्यक्ष श्रेष्ठले नेपाल–भारत आर्थिक साझेदारी विस्तारका लागि व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा, लगानी र प्रविधि गरी सात क्षेत्रमा सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । नेपाली उत्पादनको भारतीय बजारमा पहुँच विस्तार, दुवै देशका गुणस्तर प्रमाणीकरण निकायबीच पारस्परिक मान्यता, भारतीय बन्दरगाह तथा रेल सेवाको प्रभावकारी उपयोग र भैरहवा, नेपालगञ्ज तथा दोधारा–चाँदनीलाई व्यापारिक तथा लजिस्टिक हबका रूपमा विकास गर्नुपर्ने उहाँको सुझाव थियो । त्यसैगरी, अयोध्या–जनकपुर रेल सेवा, सीमावर्ती जाँच चौकीसम्म रेल सम्पर्क, भैरहवा र पोखरामा थप हवाई उडान तथा डिजिटल भुक्तानी प्रणाली विस्तार गर्नुपर्ने उहाँले बताउनुभयो। द्रुतमार्ग, विमानस्थल, औद्योगिक पार्क र सहरी पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारीलाई प्रोत्साहन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । नेपालमा ४० हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले नेपाल–भारतबीच आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापार गर्ने सहमति कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । पर्यटन, कृषि प्रशोधन, औषधि, सिमेन्ट र सूचना प्रविधिजस्ता सम्भावनायुक्त क्षेत्रमा भारतीय लगानी विस्तार तथा संयुक्त लगानीमार्फत प्रविधि हस्तान्तरण र नेपाली जनशक्तिको क्षमता विकासमा सहकार्य गर्न उहाँले आग्रह गर्नुभयो । नेपाल–भारत व्यापार तथा लगानी विस्तारका लागि सुरक्षित तथा व्यवस्थित सीमा प्रणाली र लगानी सुरक्षाको प्रत्याभूति आवश्यक रहेको अध्यक्ष श्रेष्ठको भनाइ थियो । कार्गो ट्र्याकिङ, सिलबन्दी र समयमै भन्सार जाँचपास सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै उहाँले नेपाल सरकारले अघि बढाएको निजी लगानी संरक्षण तथा प्रवद्र्धन रणनीति (एक्ष्एएक्) ले कम्तीमा पाँच वर्षसम्म नीतिगत स्थिरता तथा लगानीको कानुनी र भौतिक सुरक्षा सुनिश्चित गर्ने बताउनुभयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपाली उद्योगले भारतीय बजारमा भोगिरहेका जुट, स्टिल र भारतीय मानक ब्युरो (बीआईएस) प्रमाणीकरणसम्बन्धी समस्यासमेत उठाउनुभयो। नेपाली जुट उत्पादनमा भारतले लगाउँदै आएको एन्टी डम्पिङ शुल्क तथा प्रस्तावित काउन्टरभेलिङ शुल्कले पूर्वी नेपालका हजारौँ किसान र श्रमिकको रोजगारीमा असर पार्ने उहाँले बताउनुभयो । त्यस्तै, भारतले नेपाली स्टिलमा सेफगार्ड ड्युटी लागू गरेपछि गत आर्थिक वर्षमा भारततर्फको नेपाली स्टिल निर्यात ६० प्रतिशतभन्दा बढीले घटेको जानकारी दिनुभयो । “बीआईएस प्रमाणीकरण प्रक्रिया सहज हुँदै गएकोमा मभारतलाई धन्यवाद दिन चाहन्छु । तर प्रमाणपत्र नवीकरणमा हुने ढिलाइ तथा कच्चा पदार्थको प्रमाणीकरणसम्बन्धी जटिलता कायम छ । उहाँले भन्नु भयो, यी समस्या समाधानका लागि एफएनसीसीआई र सीआईआई बीच व्यापार उपचार तथा गुणस्तर मापदण्डसम्बन्धी संयुक्त कार्यदल गठन गरी दुवै देशका सरकारसमक्ष साझा सुझाव पेस गर्न प्रस्ताव गर्दछु । ” नेपालले भारतबाट ठूलो परिमाणमा वस्तु आयात गर्ने भएकाले नेपाली उद्योगको विकासले भारतीय उद्योगका लागि समेत थप बजार सिर्जना गर्ने अध्यक्ष श्रेष्ठले स्पष्ट पार्नुभयो । भारतले सन् २०४७ सम्म विकसित राष्ट्र बन्ने लक्ष्य लिएको र नेपालले आगामी पाँचदेखि सात वर्षभित्र १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माण तथा प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको उल्लेख गर्दै उहाँले दुवै देशको आर्थिक लक्ष्य हासिल गर्न निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो । The post साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन भारतीय लगानीकर्तालाई महासंघका अध्यक्ष श्रेष्ठको आह्वान appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन भारतीय लगानीकर्तालाई महासंघका अध्यक्ष श्रेष्ठको आह्वान

Read Complete Original Article
Published originally on कर्पोरट खबर





