काठमाडौं । साउदी अरबमा हालै भएको आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। परराष्ट्र मन्त्रालयले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिएको हो। मन्त्रालयका अनुसार घाइतेमध्ये एक जना उपचारपछि निको भएका छन् भने दुई जनाको उपचार भइरहेको छ। मृतकको परिचय भने सार्वजनिक गरिएको छैन। मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। नेपालले सर्वसाधारण नागरिक तथा सार्वजनिक पूर्वाधारलाई कुनै पनि बहानामा निशाना बनाउन नहुने धारणा राख्दै द्वन्द्वरत पक्षलाई संयमता अपनाउन र विवादको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ। गत नोभेम्बर २४ मा साउदी अरबको रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टको एक टावरमा आक्रमण भएको थियो। साउदी नागरिक सुरक्षा निकायले उक्त आक्रमणमा यमनको हुथी विद्रोही समूहको संलग्नता रहेको आरोप लगाएको थियो।
साउदी अरबमा आक्रमण हुँदा एक नेपालीको मृत्यु, तीन घाइते

Read Complete Original Article
Published originally on नेपालन्युज






