काठमाडौं, कात्तिक २१ । देशमा राज्य सञ्चालनको अवस्था असामान्य बन्दै गएको र नागरिकले भोलि के हुन्छ भन्ने सामान्य अनुमानसमेत गर्न नसक्ने परिस्थिति सिर्जना भएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउनुभएको छ। काठमाडौंमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले सरकारमा निरंकुश, अराजक र विवेकहीन प्रवृत्ति हाबी भएको टिप्पणी गर्नुभयाे । उहाँले कुन बेला कुन पत्रकार पक्राउ पर्ने, कुन कर्मचारीमाथि हमला हुने र कुन नेतामाथि कस्तो कारबाही हुने भन्ने टुंगो नै नभएको बताउनुभयाे। ‘अहिले अनौठो खालको सरकार हामीले भोगेका छौँ। कतिबेला कुन पत्रकार समातिने हो, कुन कर्मचारीमाथि हमला हुने हो, कुन नेतामाथि के हुने हो, केही टुंगो छैन,’ दाहालले भन्नुभयो। दाहालले वर्तमान सरकारको काम गर्ने शैलीलाई हिन्दी जासुसी फिल्मसँग तुलना गर्नुभयो। सरकारका गतिविधि अस्वाभाविक र कल्पनाभन्दा बाहिरका देखिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘तपाईंहरूले हिन्दी जासुसी फिल्म हेर्नुभयो होला, विचित्र–विचित्र हुँदै नहुने कामहरू भएको देखाउँछन् नि, त्यस्तै छ सरकारको काम गराइ।’ उहाँले पछिल्लो ३५ वर्षको अवधिमा विवेकहीन, अराजक र निरंकुश प्रवृत्ति राज्यमा हाबी भएको बताउनुभयो। अहिलेको सरकारको चरित्रले मुलुकमा राजनीतिक तथा प्रशासनिक अस्थिरताको अवस्था सिर्जना गरेको उहाँको भनाइ थियो। संयोजक दाहालले गणतन्त्र र संघीयता स्थापनाका लागि संघर्ष गर्ने तथा पूर्वाधार र ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरूलाई नै अहिले बदमास र अपराधीका रूपमा चित्रण गर्ने काम भइरहेको आरोप लगाउनुभयो। मुलुकको राजनीतिक परिवर्तन र विकास निर्माणमा योगदान पुर्याएका शक्तिहरूलाई अपमानित गर्ने प्रवृत्ति उचित नभएको उहाँको आशय थियो। आफू प्रधानमन्त्री रहेका बेला भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दा बिचौलियाहरूको चलखेलका कारण राजनीतिक परिस्थिति बिग्रिएको दाहालको दाबी थियो। भ्रष्टाचारविरुद्धको अभियानकै कारण आफूलाई कमजोर बनाइएको र त्यसको परिणामस्वरूप मुलुक दुर्घटनातर्फ अघि बढेको उहाँले बताउनुभयो। त्यसबेला मुलुक गलत दिशातर्फ गइरहेको भन्दै आफूले पटक–पटक खबरदारी गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘अब जाने भयो, दुर्घटनामा पर्ने भयो भनेर खबरदारी गर्दागर्दै गयो, गर्दागर्दै गईपो हाल्यो।’ वर्तमान सरकारको कार्यशैली, राज्यका निकायको भूमिका र राजनीतिक गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै दाहालले मुलुकमा लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिकको स्वतन्त्रता सुनिश्चित हुनुपर्ने बताउनुभयाे ।
सरकारको शैली हिन्दी जासुसी फिल्मजस्तै : प्रचण्ड

Read Complete Original Article
Published originally on जनताटाइम्स






