Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

समाजसेवाका नायक शेरबहादुर काफ्ले

Share:WhatsAppFacebookX (Twitter)Telegram
समाजसेवाका नायक शेरबहादुर काफ्ले
Photo / Coverage: हिमालय टाइम्स

समाजसेवी शेरबहादुर काफ्ले उमेरले चारबीस पुगिसक्नुभएको छ तर समाजसेवाको हुटहुटी आज पनि निकै फुर्तिलो र स्फुर्त देखिन्छ । शेरबहादुर काफ्ले विक्रम सम्वत् २००३ साल ६ महिना २२ गते बाग्लुङ जिल्लाको साविक बुर्तिबाङ गाविस हाल बागलुङ जिल्ला ढोरपाटन नगरपालिकाको बीसमार भन्ने ठाउँमा जन्मिनुभएको थियो । ढोरपाटनको मलिलो माटोमा समाजसेवाका बाह्रखरी पढ्दै उहाँले समाजसेवाको भाव देशभर छरिनुपर्छ भन्ने कुरा बाल्य अवस्थामै बुझिसक्नुभएको थियो । उहाँ जन्मिनुभएको भूगोलभित्र विसं २०१८ सालमा शिक्षाको प्रारम्भ भएकोले माध्यमिक विद्यालय स्थापनाका लागि समाजसँग हातेमालो गर्दै समाजसेवाको पहिलो जग बसाउने कार्यको प्रारम्भ गर्नुभएको थियो । उहाँका ६ सन्तानमध्ये तीन भाइ छोरा र तीन बहिनी छोरी हुनुहुन्छ । माइलो छोरा समाजसेवा र राजनीतिमा सक्रिय हुनुहुन्छ भने कान्छो छोरा नेपाल सशस्त्र प्रहरी बलमा कार्यरत हुनुहुन्छ । समाजसेवा र सेवामुखी भावबाट प्रेरित काफ्ले ८० वर्षको उमेरमा पनि छोरा, छोरी आफ्ना नाति नातिना, पनाती, पनातिनाको बीचमा रही परिवार सदस्यलाई पनि सामाजिक सेवामा लागिरहन सुझाव दिइरहनुहुन्छ । शेरबहादुर काफ्ले सामुदायिक विद्यालयको सञ्चालन समितिमा मात्र सीमित नरही निजी विद्यालय तिलोतमा बोर्डिङको सञ्चालन समितिमा दश वर्ष अध्यक्ष रही शैक्षिक क्षेत्र सुधारमा काम गरिसक्नुभएको छ । नागरिक समाजको अध्यक्ष रही नागरिकका गुनासो, सुझाव र समस्यालाई हल गर्न सदैव तत्पर रहनुहुन्छ । घरगाउँमा हुने झैझगडा वा मेलमिलापमा आज पनि उहाँको आवश्यकता समाजले आवश्यक ठानिरहन्छ । उहाँका अधिकांश सन्तानहरूको जन्म भने रूपन्देही जिल्लाको साविक सौ फर्साटिकर गाविसअन्तर्गत हालको शुद्धोधन गाउँपालिकामा जन्म भएको थियो । उहाँ विसं २०३२ सालको चैतदेखि हाल सम्म फर्साटिकरमा बसोबास रही आउनुभएको छ । उहाँमा पहाडदेखि तराईसम्मको बसाई क्रममा समाजसेवाको भाव भने कहिले अभाव रहन गएन । उहाँले रूपन्देही जिल्लाको फर्साटिकर गाविसको दोगाना भन्ने ठाउँमा बसोवास गर्न थालेपछि समाजलाई जागरुक बनाउने, सहकार्य गर्ने, एकता गर्ने माध्यमतर्फ अग्रसर रहनुभयो । २०३३ सालको निर्वाचनमा गाउँसभा सदस्य मा निर्वाचितहुँदै राजनीतिक यात्रासमेत प्रारम्भ गर्नुभएको थियो । २०३७ सालको जनमत संग्रहमा निर्दलको पक्षमा क्रियाशील रहनुभयो तर समयको माग र आवश्यकतालाई गम्भीर रूपमा आकलन गर्नसक्ने काफ्ले ३८ सालमा सौ फर्साटिकर वडा नम्बर २ को वडाध्यक्षमा निर्वाचित हुनुभयो । गाउँसभा सदस्य हुँदा फर्साटिकर प्राविलाई निमावि बनाउन पहल गर्दै ३४ सालतिर निमाविको स्वीकृत प्राप्त गर्न सफल हुनुभयो । उक्त कार्यका लागि ४५०० रुपैयाँ सहयोगमार्फत जुटाएको संवादका क्रममा उहाँले जनाउनुभयको थियो । उक्त विद्यालयलाई ३८ सालतिर माध्यमिक विद्यालयका लागि पहल गरी ४९ सालमा स्वीकृत प्राप्त गर्न सफल हुनुभयो । यो उहाँको एकल प्रयासले मात्र सम्भव थिएन समाजका बुजुर्ग वर्गहरूको साथ र सहयोगले सम्भव भएको थियो । उक्त विद्यालयको उच्च मावि तहसम्म उहाँ सञ्चालक समिति सदस्य भई कार्यरत रहनुभयो । काफ्ले प्रारम्भिक नीतिगत तहदेखि पूर्वाधार निर्माण तहसम्म हरेक समाजसेवाका कार्यमा जोडिएको पात्र हुनुहुन्छ । समाजसेवी तथा राजनीतिक व्यक्ति काफ्ले २०४२ सालको निर्वाचनमा उपप्रधानपञ्चमा निर्वाचित हुनुभयो । उपप्रधानपञ्चको जिम्मेवारीमा रहँदा नियमित कार्यदेखि तिनाउ नदी किनारामा वृक्षरोपणको अभियान सञ्चालन गर्नुभयो । ३८ सालको बाढीलाई स्मरण गर्दै बस्ती पूर्वाधारको संरक्षणका लागि वृक्षरोपण आवश्यक रहेको ठहर गर्दै वृक्षरोपण अभियानमा समाजलाई जुटाउन प्रयासरत रहनुभयो । गरे के हुँदैन भन्ने उक्तिलाई सामर्थ्यमा बदल्दै जनज्योति प्रावि र केवलपुर प्रावि स्थापनाका लागि योगदान पुर्याउनुभयो । नापीमार्फत नक्सांकन यस क्षेत्रका सडकलाई संरक्षण र व्यवस्थापन गर्न श्रमदान अभियान समेत काफ्लेले सञ्चालन गर्नुभयो । साविक मोतिपुर र फर्साटिकर गाविस जोडिने र फुट्ने क्रम चलिरहन्थ्यो तर फर्साटिकर गाविसभित्रका जल्दाबल्दा समस्या होस् या योजना हुन् तिनलाई कार्यान्वयन गर्न उहाँ सदैव तत्पर रहने गर्नुहुन्थ्यो । फर्साटिकरमा स्वास्थ्य चौकीको अभाव महसुस गर्दै जग्गा व्यवस्थापन र दर्ता प्रक्रियाका लागि मोतिपुर गाविसबाट अनुमोदन गराई मोतिपुर हेल्थ पोष्टको निर्माणमा ठूलो योगदान पुर्‍याउनुभयो । १० वर्ष अध्यक्षको भूमिकामा रही नागरिकलाई स्वास्थ्य सेवा पहुँचको सुरुवात गर्नुभयो । सार्वजनिक जग्गा अभाव भए तापनि साहु महाजनसँग वार्ता संवादमार्फत जग्गा प्राप्त गरी विद्यालय, स्वास्थ्य क्षेत्र र सरकारी जग्गा दर्ता र संरक्षणमा असाधारण योगदान पुर्‍याउनुभयो । उहाँ राजनीतिमा मधुर तर समाजसेवामा तत्पर रहने व्यक्ति हुनुहुन्छ । ४९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गाविस उपाध्यक्षमा निर्वाचित हुनुभयो । पञ्चायतको लामो अनुभव र क्रियाशीलतालाई आत्मसमीक्षा गरेका नागरिकहरूले समाजसेवी नायकको रूपमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा पनि काफ्लेलाई विजयको तिरंगा पहिराइदिए । बहुदलीय व्यवस्थाको प्रारम्भदेखि नै काफ्ले प्रजातान्त्रिक विचार र समाजसेवामा क्रियाशील रहनुभएको थियो । तर, राजनीतिमा उतारचढाव भइरहन्छ भन्ने मान्यता राख्ने काफ्ले २०५४ को निर्वाचनमा पार्टीभित्र विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उक्त निर्वाचनमा उहाँ पराजित हुनुभयो तर राजनीतिक तथा समाजसेवाको विश्राम भने लिनुभएन । २०५८ सालमा नेपाली कांग्रेसको गाउँ कार्यसमितिको सभापतिमा निर्वाचित भई दुई कार्यकाल सम्हाल्नुभयो । समाजमा उच्च शिक्षाको आवश्यकता महसुस गर्दै सोमनाथ शर्मालगायत व्यक्तिहरूको सहकार्यमा महायज्ञ सञ्चालन गरी यज्ञोदय दुधनाथ थारू बहुमुख क्याम्पसको स्थापनामा महत्त्वपूर्ण योगदान निर्वाह गर्नुभयो । शेरबहादुर काफ्ले निडर, साहसी र संघर्षशील व्यक्ति हुनुहुन्थ्यो । समाजमा हुने चोरी, डकैती, झैझगडा, कुटपिट जस्ता असामाजिक गतिविधिलाई निरुत्साहित र नियन्त्रण गर्न अथक प्रयास र मिहिनेत गर्नुभयो । आजको शान्तियुक्त शुद्धोधन उहाँकै देन र योगदान थियो । उहाँ केवल शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायत कार्यमा मात्र सीमित रहनुभएन धार्मिक सांस्कृतिक धरोहरूलाई पुननिर्माण गर्न सक्रिय रहनुभयो । पाँच हजार रकम जिल्ला पञ्चायतबाट ल्याई सियाभार मन्दिर पुननिर्माणमा समेत योगदान पुर्याउनुभयो । त्यसैले शेरबहादुर काफ्ले एक असल राजनीतिक कर्मीमात्र नभई समाजसेवाका नायकको रूपमा परिचित हुनुहुन्छ । यस क्षेत्रबाट पटक-पटक केन्द्रीय तहमा निर्वाचित भएका बालकृष्ण खाडभन्दा पनि ज्येष्ठ राजनीतिक र सामाजिक पात्र हुनुहुन्छ । उहाँको समकालीन राजनीतिक सहकर्मीहरू मध्ये शालिग्राम साह, परशुराम चौधरी, कुलप्रसाद उपाध्याय, केशव लम्साल, छत्रपति मल्ल, प्रेमनिधि नेपाल, रोमणि पाठक, केशव न्यौपाने, हरिबहादुर सिंह, सूर्यप्रसाद प्रधान, दुर्गाप्रसाद ढकाल, सोमनाथ शर्मा, पत्रकार सूर्यलाल श्रेष्ठ, त्रिवेणी कुर्मी लगायतको सम्झना आज पनि यो ८० को दशकमा आइरहेको अनुभूति गर्नुहुन्छ । शेरबहादुर काफ्ले सामुदायिक विद्यालयको सञ्चालन समितिमा मात्र सीमित नरही निजी विद्यालय तिलोतमा बोर्डिङको सञ्चालन समितिमा दश वर्ष अध्यक्ष रही शैक्षिक क्षेत्र सुधारमा काम गरिसक्नुभएको छ । नागरिक समाजको अध्यक्ष रही नागरिकका गुनासो, सुझाव र समस्यालाई हल गर्न सदैव तत्पर रहनुहुन्छ । घरगाउँमा हुने झैझगडा वा मेलमिलापमा आज उहाँको आवश्यकता समाजले आवश्यक ठानिरहन्छ । कानुनको पहुँचमा पुग्ने कैयौं विवादलाई समाजबाटै निरूपण गरी उचित न्याय दिलाएको कुरा संवादको क्रममा बताउनुभएको थियो । उहाँले २०८० सालमा महायज्ञ सञ्चालन गरी संस्कृत विद्यापीठको स्थापना गर्नुभयो । उमेरले छाला चाउरिए पनि कर्म र समाजसेवाको मनोभाव आज पनि उत्तिकै सक्रिय छ । पछिल्लो समय राजनीति, समाजसेवा पेशामुखी बन्दै गएको र स्वार्थ अनुकूल हुँदै गएको विषयमा उहाँ चिन्तित हुनुहुन्छ । सामाजिक सञ्जालका पृष्ठहरूमा फोटोसेसन गरेर देखाइने समाजसेवाका प्रवृत्तिहरू वास्तविक वजनदार नरहेका र हिजो आफ्नै शरीरले निर्माण गरेका आजका संरचनाहरू देख्दा त्यसको उचित मूल्यांकन राज्यस्तरबाट हुन नसकेको दुखेसो पोख्नुहुन्छ । राजनीतिमा नैतिक मूल्य मान्यता हराउँदै गएको र राजनीति समाजसेवालाई कमाई खाने धन्दाको रूपमा प्रयोग गरेको देख्दा उहाँ अचम्म मान्नुहुन्छ । इतिहासका अभिलेखहरूलाई वर्तमान सरकार वा निकायहरूले अभिलेखन गर्नुको साटो इतिहासलाई दुत्कार्ने परिपाटी स्थापित भएको कुरा गम्भीर रहेको उहाँले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ शान्ति, सुशासन र विकासको जग निर्माणका लागि मेरो जुन प्रयास रह्यो अबको पुस्ताले क्षमता प्रदर्शन गर्नेमा शंका रहेको जिकिर गर्नुहुन्छ । वास्तवमा शेरबहादुर काफ्ले फर्साटिकरमा विकासको जग निर्माण गर्ने अथक योद्धाका रूपमा परिचित हुनुहुन्छ र आज पनि उही पुरानो साइकलमा यात्रा गर्दै शुद्धोधनका हरेक गाउँ होस् वा चिया पसलमा आफ्ना पुराना अनुभव नयाँ पुस्तालाई पुस्तान्तरण गर्दै अनवरत्न लागिरहनु भएको छ । सामाजिक कार्य गर्न उमेरले नछेक्ने भन्दै विभिन्न सहकारी संस्थाको नेतृत्व सम्हालिराख्नु भएको छ । साधारण जीवनशैलीमा रम्न चाहने काफ्ले साधा जीवन उच्च विचारमा विश्वास राख्नु हुन्छ । तसर्थ शेरबहादुर काफ्ले एक सच्चा, इमानदार र समाजसेवाका नायक हुनुहुन्छ । उहाँबाट समाजले शिक्षा, ज्ञान, प्रेरणा र हौसला आज पनि उहाँकै मुखारविन्दबाट आशीर्वादको रूपमा ग्रहण गर्न सकोस् । शुद्धधन-४ रूपन्देही ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हाम्रो एफ-१६ लडाकु विमानमा इरानले मिसाइल हानेको दाबी गलत : अमेरिका
Latest NewsJust now

हाम्रो एफ-१६ लडाकु विमानमा इरानले मिसाइल हानेको दाबी गलत : अमेरिका

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले फारसको खाडीमा इरानले आफ्नो लडाकु विमानमा मिसाइल हानेको दाबी गलत भएको बताएको छ।  सेन्टकमले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘इरानले शुक्रबार कुनै पनि अमेरिकी एफ-१६ लडाकु विमानमा आक्रमण गरेको छैन।’ सेन्टकम अगाडि भनेको छ, ‘मध्यपूर्वमा रहेका सबै अमेरिकी लडाकु विमान ... ...

नेपालखबर
आपसी विश्वास नै सम्बन्धको कसी
Latest NewsJust now

आपसी विश्वास नै सम्बन्धको कसी

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर ६ गते । प्रधानमन्त्री वालेन्द्र शाहको आइतबारदेखि सुरु हुने भारत भ्रमण नेपाली जनताको जीवनसँगै देशको समृद्धिमा टेवा पुग्ने गरी फलदायी बनाउन कूटनी... ...

गोरखापत्र
मधेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त
Latest NewsJust now

मधेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त हुनुभएको छ । प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा जसपा नेपालका नेता यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरिएको जानकारी दिएको हो । ...

हिमालय टाइम्स
प्रथम एक्सट्रिम शिखर स्पोर्टस कपको उपाधि सोल्मालाई
Latest NewsJust now

प्रथम एक्सट्रिम शिखर स्पोर्टस कपको उपाधि सोल्मालाई

शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ फुटबल प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माले जितेको छ।  खार्मीस्थित शिखर स्पोर्टस क्लबको खेलमैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक खार्मीलाई ट्राइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै सोल्माले उपाधि जितेको हो। पहिलो स... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play