सप्तकोशीमा बेपत्ताको खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन

धनकुटा । सप्तकोशी नदीमा आइतबार भएको पानीबोट दुर्घटनामा बेपत्ता भएका तीन जनाको खोजीका लागि सशस्त्र प्रहरीका गोताखोर परिचालन गरिएको छ । दुर्घटनामा झापाको कन्काई नगरपालिका–४ की निता मगरका अन्दाजी सात वर्षीय छोरा शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की २१ वर्षीया प्रमिला मगर र सोही स्थानकी २२ वर्षीया मनु राई बेपत्ता छन् । उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीका गोताखोरसहित नेपाल प्रहरीको टोली परिचालन गरिएको हो । सुनसरीको चतरास्थित सशस्त्र प्रहरीको चतरा बेस र पकलीस्थित सशस्त्र प्रहरीको बाहिनीबाट परिचालित गोताखोरको टोलीले दुर्घटनास्थल आसपास खोजी तीव्र पारेको सशस्त्र प्रहरीका नायब उपरीक्षक राजेश फुयालले जानकारी दिए । धनकुटामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ हेडक्वार्टर छिन्ताङ गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक फुयालका अनुसार सात जना गोताखोरसहित सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ११ जनाको टोली खोजी तथा उद्धारमा खटिएको छ । टोलीले दुर्घटनास्थल आसपास नदीभित्र र किनारामा बेपत्ताको खोजी गरिरहेको छ । धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारका अनुसार सशस्त्र प्रहरी र गोताखोरको टोलीसँग समन्वय गरी नेपाल प्रहरीको टोलीले पनि खोज तथा उद्धारको काम अघि बढाएको छ । चतरा र त्रिवेणी क्षेत्रमा रहेका प्रहरी टोली संयुक्त रूपमा परिचालन भएका छन् । एसपी रञ्जितकारले प्रहरीको टोली पानीबोट प्रयोग गरेर नदी र किनारामा खोजीमा जुटेको जानकारी दिए । ‘हामी कोप्चेदेखि चतरासम्म खोजतलासको क्रममा छौँ । त्यहाँ गोताखोरको टोली र अरू प्रहरी टोलीले खोज तथा उद्धारलाई अघि बढाउँछ,’ उनले भने । जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी रञ्जितकार र सशस्त्र प्रहरी छिन्ताङ गुल्मका गुल्मपति फुयाल घटनास्थल पुगेर आइतबार राति सदरमुकाम फर्किएका छन् । यद्यपि, त्यहाँ खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ताको खोजी सोमबार बिहानैदेखि पुनः तीव्र पारेको छ । आइतबार दिउँसो करिब २ बजे भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट यात्रु लिएर सुनसरीको चतरास्थित बराहक्षेत्र जाँदै गरेको ओबीएम कम्पनीको पानीबोट धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस्थित सप्तकोशी नदीमा दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार पानीबोटको ब्रेक फेल भएपछि दुर्घटना भएको हो । दुर्घटनामा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की लीला राई, पहिचान नखुलेकी अन्दाजी सात वर्षीया बालिका र अन्दाजी ५० वर्षीय अर्का एक पुरुष गरी तीन जनाको मृत्यु भएको प्रहरीले आइतबार नै पुष्टि गरेको थियो । प्रहरीका अनुसार दुर्घटनाका बेला पानीबोटमा चालकसहित १५ जना रहेको अनुमान छ । दुर्घटनापछि बराहक्षेत्र प्रहरी चौकीको टोलीले १२ जनाको उद्धार गरी उपचारका लागि चतरा अस्पताल पठाएको थियो । उद्धार गरिएकामध्ये तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भोजपुरको हतुवागढी गाउँपालिका–४ का ३१ वर्षीय मोहन सुनारको उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पानीबोटका चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का २४ वर्षीय सुमन मगर प्रहरीको नियन्त्रणमा छन् । चालक मगरसहित अन्य नौ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु
राहत, पुनःस्थापना र अन्य प्रशासनिक काममा ढिलाइ नहोस् भनेर जिल्ला प्रशासनले बाढीपीडितको अस्थायी शिविरमै सेवा पुर्याएको हो। ...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स... ...

बंगालको खाडीमा बन्यो चक्रवात ‘अर्नब’, नेपालमा कस्तो पर्ला असर ?
काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले नेपालमा बिहीबारदेखि वर्षा हुने सम्भावना रहेको छ । चक्रवातको प्रभावका कारण देशका विभिन्न स्थानमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ । भारत मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको हो । उक्त चक्रवातको नाम […] ...
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन, नियुक्ति खारेज गर्न माग
• लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन गरिएको छ। • प्रदर्शनमा राष्ट्रिय जेनजी नागरिक अभियान, तामाङ नागरिक समाज र अन्य संघसंस्थाहरूको सहभागिता रहेको छ। • आनीको नियुक्ति खारेजी र नागरिकता तथा सम्पत्ति शुद्धीकरणको विषयमा छानबिन गर्न माग गरिएको छ। ...


