काठमाडौं । नेपाली धाविका सन्तोषी श्रेष्ठले माल्दिभ्समा आयोजित १७औँ संस्करणको धिरागु रोड रेस २०२६ मा दुई विधामा कोर्स रेकर्डसहित स्वर्ण पदक जित्नुभएको छ । हुलुमालेस्थित सेन्ट्रल पार्कमा आयोजित प्रतियोगितामा सन्तोषीले महिला हाफ म्याराथन र पाँच किलोमिटर दौडमा स्वर्ण जित्नुभएको हो । उहाँले हाफ म्याराथन एक घण्टा २६ मिनेट ३९ सेकेन्डमा पूरा गर्दै नयाँ कोर्स रेकर्ड बनाउनुभयो । यसअघि पनि दुवै विधामा स्वर्ण जित्नुभएकी सन्तोषीले यसपटक आफ्नो उपाधि रक्षा गर्नुभएको हो । महिला हाफ म्याराथनमा माल्दिभ्सका आइसाथ जिनानी इब्राहिम दोस्रो र फाथिमथ सिजा तेस्रो हुनुभयो । पुरुष हाफ म्याराथनमा केन्याका टाइरु चेगेले एक घण्टा १८ मिनेट १६ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्नुभयो । नेपालका सन्तोषविक्रम विष्ट उहाँभन्दा एक सेकेन्डले पछि पर्दै दोस्रो हुनुभयो । विष्ट पाँच किलोमिटर दौडमा पनि दोस्रो बन्नुभयो । प्रतियोगितामा पाँच हजार पाँच सयभन्दा बढी धावक सहभागी थिए । १० किलोमिटर खुलातर्फ पुरुषमा हुसेन फजिल हारुन र महिलामा आइसाथ रिसमी विजयी हुनुभयो । एम्स र वर्ल्ड एथलेटिक्सबाट मान्यताप्राप्त प्रतियोगितामा यस वर्ष चार नयाँ विधा थपिएका थिए । प्रतियोगितामा कुल दुई लाख ९६ हजार माल्दिभियन रुफिया पुरस्कार राखिएको थियो । सन्तोषीले दुई विधामा स्वर्ण जितेबापत करिब दुई हजार तीन सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नुभएको छ ।
सन्तोषी श्रेष्ठलाई दुई स्वर्ण, दुवैमा कोर्स रेकर्ड

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






