नेपालगञ्ज । तेस्रो राप्तीसोनारी नेचर रनको उपाधि स्वस्तिका शाही र टेकेन्द्र डाँगीले जित्नुभएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका-२ स्थित मदुवामा शनिबार सम्पन्न १० किलोमिटर दौडको खुला महिलातर्फ स्वस्तिका र पुरुषतर्फ टेकेन्द्रले पहिलो स्थान हासिल गर्दै उपाधि चुम्नुभएको हो । खुला महिलातर्फ रीताकुमारी दोस्रो र नन्दिता थारु तेस्रो हुनुभयो । यस्तै, खुला पुरुषतर्फ निराजन चौधरी दोस्रो र प्रशान्त तामाङ तेस्रो स्थानमा रहनुभयो । विद्यालयस्तरीय छात्रतर्फ भविन्द्र बोहरा प्रथम, समिर थारु दोस्रो र विशाल यादव तेस्रो हुनुभयो । छात्रातर्फ तीन किलोमिटर दौडमा रेणुका चौधरीले पहिलो, अनुजा थारुले दोस्रो र निस्मा थारुले तेस्रो स्थान हासिल गर्नुभयो । तीन सयभन्दा बढी धावकको सहभागिता रहेको प्रतियोगिताका सबै विधाका शीर्ष तीन खेलाडीलाई क्रमशः तीन हजार, दुई हजार र एक हजार रुपैयाँ नगदसहित पदक प्रदान गरिएको थियो ।जर्मनीमा बसोबास गर्दै आउनुभएका मदुवा निवासी पूर्व राष्ट्रिय खेलाडी तीर्थ ओलीको पहलमा धारा नेपालगञ्ज म्याराथनको भगिनी दौड कार्यक्रमका रूपमा राप्तीसोनारी नेचर रन आयोजना हुँदै आएको छ । प्रतियोगिताका शीर्ष १० धावकले आगामी मंसिर १२ गते आयोजना हुने धारा नेपालगञ्ज म्याराथनको १२औँ संस्करणमा स्वतः सहभागी हुन पाउने रेस डाइरेक्टर चन्द्र गुरुङले जानकारी दिनुभयो । यसैबीच, प्रतियोगिताका अवसरमा आयोजित एक किलोमिटर वाकाथनमा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिषा थारु, लुम्बिनी प्रदेशसभाकी पूर्व सदस्य कृष्णा केसी ‘नमुना’ लगायत करिब सय जनाको सहभागिता थियो । गाउँपालिका अध्यक्ष पौडेलले दौडको उद्घाटन गर्दै तेस्रो संस्करणदेखि सिंगो गाउँपालिका र वडा नम्बर २ ले समेत प्रतियोगिताको अपनत्व लिएको बताउनुभयो । उहाँले यसले प्रतियोगितालाई निरन्तरता दिने आधार तयार भएको उल्लेख गर्नुभयो । प्रतियोगितामा विजयी खेलाडीलाई लुम्बिनी प्रदेशसभाकी पूर्व सदस्य कृष्णा केसी, वडाध्यक्ष ज्ञानेन्द्र ओली र धारा नेपालगञ्ज म्याराथनका संस्थापक टिएस ठकुरीलगायतले पुरस्कार तथा पदक वितरण गरेका थिए ।
राप्तीसोनारी नेचर रनको उपाधि स्वस्तिका र टेकेन्द्रलाई

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






