काठमाडौं । धादिङ क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य आशिका तामाङ र थाक्रे गाउँपालिका–३ का वडाध्यक्ष विजय लामाबीच विवाद भएको छ । सडक सरसफाइको विषयलाई लिएर उनीहरूबीच वादविवाद भएको हो । सांसद तामाङले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा उनी वडाध्यक्ष लामाको कार्यकक्षमा पुगेर सडकको अवस्था राम्रो नभएको भन्दै प्रश्न गरिरहेको देखिन्छ । उनले सडक कतै पनि सफा नभएको र सडक बनाउन तथा सरसफाइ गर्न वडासँग बजेट हुँदाहुँदै पनि काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । जवाफमा वडाध्यक्ष लामाले आफू निरन्तर सडक सरसफाइमा लागिरहेको बताएका छन् । चुनाव जितेर एक दिन आएपछि सडक सफा छैन भन्दै प्रश्न गर्ने भन्दै उनले सांसद तामाङलाई प्रतिप्रश्न गरेका छन् । विवादका क्रममा सांसद तामाङले वडाध्यक्षको कार्यकक्षमा प्रधानमन्त्रीको तस्बिर नराखी आफ्ना नेताको तस्बिर राखेको भन्दै आक्रोश व्यक्त गरेकी छन् । ‘यस्ता वडाध्यक्षसँग कुरा गर्नु छैन’ भन्दै सांसद तामाङ कार्यकक्षबाट बाहिरिँदै गर्दा वडाध्यक्ष लामाले उनलाई ‘पागल्नी’ भनेको भिडियोमा सुनिन्छ ।
सडक सफाइको विषयमा सांसद आशिका र वडाध्यक्षबीच विवाद

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






