सुर्खेत। विष्णु विक ४० वर्ष पुगे। उनी जन्मिएको र हुर्किएको मुगुमकार्मारोङ गाउँपालिका-९ को माङ्ग्री गाउँमा अहिलेसम्म सडक पुगेको छैन। संघीयता कार्यान्वयनमा आएको एक दशक पुग्न लाग्दा पनि उनको गाउँमा सामान ढुवानी खच्चड र भरियाकै भरमा हुन्छ। बिरामीलाई बोकेर नजिकको स्वास्थ्यचौकी वा सदरमुकाम पुर्याउनुपर्छ। गाउँपालिकाको केन्द्रसम्म पुग्न पनि पैदल यात्रा गर्नुपर्ने बाध्यता छ। मुगुको सदरमुकाम गमगढीसम्म गाडी चल्न थालेको एक दशकभन्दा बढी भइसक्यो। त्यसअघि नै माङ्ग्री क्षेत्र जोड्ने सडक खन्न थालिएको थियो। सडक निर्माण सुरु भएपछि विकलाई गाउँबाटै गाडी चढेर यात्रा गर्ने सपना पूरा हुने आशा थियो। तर अहिलेसम्म उनको सपना पूरा भएको छैन। ‘बाँचुञ्जेल यसैगरी हिँड्नुपर्छ जस्तो लाग्छ। अहिलेकै गतिमा हाम्रो गाउँमा विकास हुने हो भने अबको ५० वर्षसम्म पनि सडक बन्छ जस्तो लाग्दैन,’ उनी भन्छन्, ‘ठेकेदारको लापरबाही हो कि राज्यको, केही मेसो पाइँदैन।’ मुगुमकार्मारोङ गाउँपालिका–९ का विष्णु विक। सिंहबहादुर बुढा मुगुमकार्मारोङ गाउँपालिकाको एक विद्यालयमा पढाउँछन्। उनी मुगुको हिमाली क्षेत्रमा बस्न थालेको २२ वर्ष भयो। उनको घर भने जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ मा हो। जुम्लामा उनको वडासम्म सडक पुगेको छ। साना सवारीसाधन फाट्टफुट्ट चल्छन्। तर, कर्मथलो मुगुमा भने उनी निरन्तर पैदलै आवतजावत गरिरहेका छन्। ‘दुई दशकभन्दा बढी यहीँ बस्दा अहिले त आफ्नो जन्मथलो बिरानो लाग्न थालिसकेको छ। तर यहाँ घण्टौँ झोला बोकेर पैदल हिँड्नुपर्दा जन्मथलो सम्झिन्छु,’ बुढा भन्छन्, ‘जुम्लामा भएको भए यसरी हिँड्नुपर्थेन। यहाँ त विद्यालयका सामग्री पनि खच्चडमा ओसार्नुपर्छ।’ आठ स्थानीय तह अझै सडक सञ्जालबाहिर स्थानीय पूर्वाधार विकास विभागको पछिल्लो तथ्याङ्कअनुसार कर्णालीका आठ स्थानीय तहका प्रशासनिक केन्द्र अझै राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छैनन्। तीमध्ये एक हो, मुगुको मुगुमकार्मारोङ गाउँपालिका। सदरमुकामको सिमानासँग जोडिएको एउटा गाउँबाहेक पालिकाका अन्य क्षेत्रमा अहिले पनि सवारीसाधन चल्दैनन्। लामो पैदल यात्रा, खच्चडबाट सामान ढुवानी र भरियामार्फत बिरामी ओसारपसार यहाँका नागरिकको दैनिकी बनेको छ। हुनेखाने परिवारका लागि भने अनुकूल मौसममा बिरामीलाई अस्पताल पुर्याउन हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था छ। मुगुमकार्मारोङमा शिक्षकका रूपमा कार्यरत जुम्लाका सिंहबहादुर बुढा। मुगुका अन्य पालिका सदरमुकाम जोड्ने राष्ट्रिय सडक सञ्जाल र कर्णाली करिडोरसँग जोडिएका छन्। मुगुमकार्मारोङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने एक मात्र मार्ग गमगढी–नाक्चेलाग्ना सडक हो। गाउँपालिकाको केही भागमा मात्रै यसको ट्र्याक खुलेको छ। पालिकाको ‘लाइफलाइन’ मानिएको यो सडक निर्माण सुरु भएको दुई दशक बितिसक्दा पनि प्राथमिकतामा पर्न सकेको छैन। ‘तत्कालै ठूलो अस्पताल पुर्याउनुपर्ने भयो भने लाखौँ रुपैयाँ तिरेर हेलिकप्टरमार्फत बिरामीलाई सहरका अस्पतालमा लैजानुपर्ने अवस्था छ। केही दिनअघि मात्रै वडा नम्बर ३ बाट एक जना बिरामीलाई सुर्खेत लैजान चार लाख ८५ हजार रुपैयाँ तिर्नुपर्यो,’ गाउँपालिकाकी उपाध्यक्ष छिरिङ पुटी लामाले भनिन्, ‘हुनेले हेलिकप्टरमा बिरामी लगेर ज्यान बचाउलान्, नहुने गरिबले त डोकोमा बोक्दाबोक्दै बिरामी र आफन्त गुमाउनुपर्ने अवस्था छ।’ सडक अभावको सास्ती सर्वसाधारणले मात्रै होइन, स्थानीय जनप्रतिनिधिले पनि भोगिरहेका छन्। उपाध्यक्ष लामाका अनुसार अनुगमनका लागि प्रत्येक वडा पुग्न एक–दुई दिन पैदल हिँड्नुपर्ने अवस्था छ। कठिन भूगोल र सडक अभावले जनप्रतिनिधिलाई काम गर्नसमेत बाधा पुगेको उनले बताइन्। नाक्चेलाग्नासम्म सडकको ट्र्याक समयमै खोलेर व्यवस्थित गर्न सके गाउँपालिकाका बासिन्दालाई यातायातमा सहज हुने उनको भनाइ छ। गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामालाई पनि यातायातको सुविधा नहुँदा अन्य क्षेत्रको विकासमा बाधा पुगेको महसुस भएको छ। स्वास्थ्य, खानेपानी र शिक्षाका पूर्वाधार बने पनि यातायात अभावका कारण तिनलाई गुणस्तरीय बनाउन नसकिएको उनी बताउँछन्। खच्चडमा भारी लोड गर्दै स्थानीय। ‘खासमा यातायात भएन भने अरू कुरा गर्न गाह्रो हुने रहेछ। हामीले आफ्नो तर्फबाट र सहकार्यमा गर्न सकिने स्वास्थ्य र शिक्षाका पूर्वाधार बनाएका छौँ। तर गुणस्तरीय बनाउन सकेका छैनौँ,’ अध्यक्ष लामाले भने। गाउँपालिका अध्यक्षका रूपमा उनको यो दोस्रो कार्यकाल हो। दश वर्ष बितिसक्दा पनि पालिकाको केन्द्रसम्म यातायात पुर्याउन नसकिएकोमा उनी दुःखी छन्। तीन तहका सरकारबीच प्रभावकारी सहकार्य हुन नसक्दा सडक निर्माणले गति लिन नसकेको उनको बुझाइ छ। उनका अनुसार गाउँपालिकाको केन्द्रसम्म यातायात सुविधा पुर्याउन अहिले १२ किलोमिटर सडकको ट्र्याक खोल्ने काम भइरहेको छ। कर्णाली प्रदेश सरकारले बजेट व्यवस्था गरेपछि तीन वर्षअघि सुरु भएको काम अत्यन्तै सुस्त गतिमा अघि बढेको छ। तीन वर्षमा १० किलोमिटर मात्रै ट्र्याक खोलिएको अध्यक्ष लामाले बताए। ‘गमगढी-नाक्चेलाग्ना सडकको खुलेको ट्र्याकबाट हाम्रो पालिकाको केन्द्रसम्म पुर्याउन प्रदेश सरकारलाई अनुरोध गरेपछि काम अघि बढेको थियो। लामो समय भइसक्दा पनि पूरा हुन सकेको छैन,’ उनले भने, ‘संघ र प्रदेश सरकारको सबै पालिकाको केन्द्रसम्म सडक सञ्जाल विस्तार गरी यातायात सञ्चालन गर्ने नीति छ, तर कार्यान्वयनमा निकै सुस्तता देखियो।’ मुगुमकार्मारोङजस्तै कर्णालीका अन्य सात स्थानीय तह पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छैनन्। तीमध्ये डोल्पाका चार पालिका से–फोक्सुण्डो, छार्काताङसोङ, मुड्केचुला र जगदुल्ला गाउँपालिका छन्। कालीकोटका पचालझरना, महाबै र नरहरिनाथ गाउँपालिका पनि सडक सञ्जालबाहिर छन्। मुगुमकार्मारोङ गाउँपालिकामा सडक खन्दै एक्साभेटर। दुई दशकमा १८.५ किलोमिटर ट्र्याक गमगढी–नाक्चेलाग्ना सडक सरकारका गौरवका आयोजनामध्येको एक हो। अन्तरदेशीय मार्गका रूपमा रहेको यो सडकले मुगुको गमगढीदेखि मुगुमकार्मारोङ हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतसँग नेपाललाई जोड्छ। तर स्थानीयका लागि यो सडक अन्तरदेशीय मार्गभन्दा पनि गाउँपालिकाको ‘लाइफलाइन’ हो। गमगढीदेखि नाक्चेलाग्नासम्म ९३ किलोमिटर लामो यो सडकको निर्माण प्रक्रिया आर्थिक वर्ष २०६२/६३ मा सर्वेक्षणबाट सुरु भएको थियो। दुई दशक बितिसक्दा पनि अहिलेसम्म १८.५ किलोमिटर मात्रै ट्र्याक खोलिएको छ। सदरमुकाम गमगढीदेखि मुगुमकार्मारोङ गाउँपालिकाको छायलासम्म ट्र्याक खोलिएको हो। यो सडक खण्ड डिभिजन सडक कार्यालय जुम्लाको मातहतमा छ। कार्यालयका सूचना अधिकारी सौरभ सिंहका अनुसार नियमित बजेट व्यवस्थापन नहुँदा निर्माणले गति लिन सकेको छैन। अहिले छायलाभन्दा अगाडि थप ६ किलोमिटर सडकको ट्र्याक खोल्न ठेक्का भएको उनले बताए। त्यसपछिको थप ट्र्याक खोल्ने विषय भने निश्चित भइसकेको छैन। ‘सडक हाम्रो जिम्मामा छ, काम गर्नका लागि बजेट आउँदैन,’ सिंहले भने। गाउँपालिका अध्यक्ष लामा पनि सडक निर्माणलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने बताउँछन्। दुई दशक बित्दा पनि १८ किलोमिटर मात्रै ट्र्याक खुल्नु दुःखद भएको उनको भनाइ छ। ‘२० वर्ष भइसक्दा पनि यो सडकको १८ किलोमिटर मात्रै ट्र्याक खुलेको छ। संघीय सरकारको सडक भएकाले हामीले न मर्मत गर्न मिल्छ, न त थप ट्र्याक बनाउन,’ उनले भने, ‘संघीय सरकारको कामको गति कछुवाको जस्तो भएपछि हामी यहाँका जनप्रतिनिधि संघीय सरकारसँग लबिइङ गर्न कैयौँ पटक पुगिसकेका छौँ।
सडक नहुँदाको सकस

Read Complete Original Article
Published originally on नेपालन्युज





.jpg)
