काठमाडाैं । अमेरिकी मेजर लिग सकर (एमएलएस)को प्लेअफमा लियोनल मेस्सीको टोली इन्टर मियामी कोलम्बस क्रुसँग ३–० गोलले पराजित भएको छ । तर, यो हारसँगै मियामीको प्लेअफ यात्रा भने समाप्त भएको छैन । न्यू स्टेडियममा भएको पहिलो खेलमा कोलम्बसका गोन्जालो तापियाले दुई तथा ताहा हाब्रोनले एक गोल गर्दै टोलीलाई महत्त्वपूर्ण जित दिलाए । लगातार पाँच खेल जितेको कोलम्बस उत्कृष्ट लयमा देखिँदा इन्टर मियामी भने पछिल्ला पाँच खेलमा एक जितमा सीमित छ । एमएलएस प्लेअफको पहिलो चरणमा टोलीहरूबीच तीन खेलको सिरिज खेलाइन्छ । दुई खेल जित्ने टोली अर्को चरणमा प्रवेश गर्छ । त्यसैले पहिलो खेलमा पराजित भए पनि इन्टर मियामीसँग पुनरागमनको अवसर बाँकी छ । अब मियामीले आगामी शुक्रबार कोलम्बसकै मैदानमा दोस्रो खेल खेल्नेछ । उक्त खेलमा पनि पराजित भए मेस्सीको टोली प्लेअफबाट बाहिरिनेछ । तर, मियामीले जित निकालेमा सिरिजको निर्णय तेस्रो खेलबाट हुनेछ । तेस्रो खेल आवश्यक परे मियामीकै घरेलु मैदानमा हुनेछ । लिगको पूर्वी कन्फरेन्समा दोस्रो स्थानमा रहेको मियामीले सातौँ स्थानको कोलम्बसभन्दा राम्रो वरीयता पाएकाले निर्णायक खेल घरेलु मैदानमा खेल्ने अवसर पाउनेछ । यस सिरिजका प्रत्येक खेलमा निर्धारित ९० मिनेटसम्म बराबरी भए सिधै पेनाल्टी सुटआउटबाट विजेता टुंगो लगाइनेछ । यसअघि सेप्टेम्बर २७ मा कोलम्बसको मैदानमा भएको नियमित लिग खेलमा पनि घरेलु टोलीले मियामीलाई २–१ गोलले हराएको थियो । दोस्रो खेलमा मियामीले गन्जालो लुहानको साथसमेत पाउने छैन । पहिलो खेलमा रातो कार्ड पाएका उनी प्रतिबन्धमा पर्नेछन् ।
मेस्सीको इन्टर मियामी एमएलएसकाे प्लेअफबाट बाहिरिने जोखिममा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु




.jpg)

