शक्तिपीठदेखि घरघरमा महानवमीको पूजाआजा, तलेजु भवानीको दर्शन गर्न भक्तजनको भीड

काठमाडौं । बडादसैँ अर्थात् शारदीय दुर्गापक्षको नवौँ दिन आज आश्विन शुक्ल नवमीका अवसरमा देशभर शक्तिस्वरूपा नवदुर्गाको पूजा–आराधना गरी महानवमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ। महानवमीका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठ, कोतघर तथा घरघरमा देवीको पूजाआजा भइरहेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न ब्यारेक तथा ऐतिहासिक कोतहरूमा परम्परागत हातहतियार र निशानको विशेष पूजा गरी हर्षबढाइँसमेत गरिएको छ। नवरात्रको अन्तिम दिन महानवमीमा नवदुर्गाको पूजा गर्ने परम्परा छ। यस दिन विशेषगरी महालक्ष्मीको पूजाअर्चना गर्ने शास्त्रीय विधि रहेको छ। सुरक्षा निकायले आफ्ना शस्त्रागार तथा कोतहरूमा कलश स्थापना गरी विधिपूर्वक पूजाआजा र बलि दिने तथा तोप र बन्दुकको सलामीसहित हर्षबढाइँ गर्ने परम्परालाई निरन्तरता दिएका छन्। दसैँको नवौँ दिन कलकारखाना, प्राविधिक उपकरण, सवारीसाधन, मेसिनरी औजार तथा हातहतियार सफा गरी विश्वकर्मा र शक्तिस्वरूप मानेर पूजा गर्ने चलन छ। दैनिक जीवनमा प्रयोग हुने सवारीसाधन तथा विभिन्न उपकरणको सुरक्षा र दीर्घायुको कामना गर्दै श्रमिक, व्यवसायी तथा सर्वसाधारणले आ–आफ्ना कार्यस्थलमा पूजाआजा गरेका छन्। यसैबीच, काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको तलेजु भवानी मन्दिर वर्षमा एक दिन महानवमीका अवसरमा मात्रै सर्वसाधारणका लागि खुला गरिएको छ। मल्लकालीन उक्त मन्दिरमा बिहानैदेखि हजारौँ श्रद्धालु भक्तजन दर्शन तथा पूजाआजाका लागि लामबद्ध भएका छन्। तलेजु भवानीको दर्शन गर्नाले वर्षभरि पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ। नेवार समुदायले पनि महानवमीलाई आफ्नै मौलिक परम्पराअनुसार मनाउने गरेका छन्। यस दिन भीमसेनको विशेष पूजा गरी पशुबलि चढाउने तथा ‘स्याक्वत्याक्व’ पर्व हर्षोल्लासका साथ मनाउने चलन छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका प्रमुख शक्तिपीठहरू दक्षिणकाली, गुह्येश्वरी, शोभा भगवती, भद्रकाली, पलाञ्चोक भगवती र मनकामना मन्दिरमा पनि बिहानैदेखि पूजाआजा तथा दर्शन गर्ने भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ। महानवमीलाई शक्ति आराधना, परम्परागत संस्कृतिको संरक्षण र धार्मिक आस्थाको उत्सवका रूपमा मनाउने गरिन्छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

१२ गाउँ-२ : एक्सनको पुनरावृत्ति, कथामा रिक्तता
'१२ गाउँ'ले एक्सन विधालाई एकपटक ब्युँताए पनि डेढ दशकयता रूपान्तरणको बाटोमा हिँडिरहेको नेपाली फिल्म क्षेत्रमा विराजचाहिँ कहिले ब्युँझने हुन्, त्यो भने हेर्न बाँकी छ । ...

पानीमा बिलाएको एउटा गाउँ जहाँ 'कोहिनूर हीरा भेटिन्थ्यो', अहिले पनि खोजिन्छ
BBC ऐतिहासिक अभिलेखका अनुसार कम्तीमा ८०० वर्ष पहिले कोल्लूर गाउँ विश्व प्रसिद्ध कोहिनूर हीरा खानीको लागि परिचित थियो जब सडकमा हीराको थुप्रो लगाएर बेचबिखनको प्रसङ्ग आउँछ, दक्षिण भारतस्थित विजयनगर साम्राज्यको नाम मानिसहरूको ...

खानामा स्वादसँगै संस्कृति
काठमाडौं।खाना जिब्रोको स्वादका लागि मात्र नभई शारीरिक स्वास्थ्यका लागि पनि खानुपर्छ। जिब्रोलाई मिठो लाग्ने सबै खानाले स्वास्थ्यमा राम्रो गर्छ भन्ने हुँदैन। त्यसैले स्वादसँगै खानाको पोषण र स्वास्थ्यमा पर्ने असरबारे पनि ध्यान दिनुपर्छ। नेपालका कतिपय परिकार संस्कार र संस्कृतिसँग जोडिएका छन्। कुन पर्व वा उत्सवमा के खाने भन्ने परम्परा नै बनेको छ। तर, बजारमा नयाँनयाँ परिकारको प्रचलन बढ्दै जाँदा परम्परागत र रैथाने ...

मुन्दुममा डुबेको मिङमार मन्दुमी
गाउँमा आयोजना हुने विवाह होस् वा अन्य मुन्दुमी उत्सवहरु । सानो उमेरका मिङमार खालिङ पाको उमेरका पूर्खाहरुसँग चुलाको छेउमा मुन्दुमी कार्य गरिरहेका हुन्थे । उनका दौंतरीहरु आँगनमा रमाइलो गर्दै नाचिरहँदा... ...


