काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका– १५ बस्ने दोलखा मेलुङ गाउँपालिका– ६ घर भएका २५ वर्षीय नोर्गेन मोक्तान र काठमाडौं महानगरपालिका– ३२ बस्ने काभ्रे चौंरीदेउराली गाउँपालिका– ९ घर भएकी २४ वर्षीया सुस्मिता रसाइली रहेका छन् । पक्राउमध्ये नोर्गेनले कम्बोडिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४० लाख रूपैयाँ र सुस्मिताले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूले प्रहरीकहाँ उजुरी गरेका थिए । सोही उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नोर्गेनलाई ललितपुर महानगरपालिका– ३ बाट र सुस्मितालाई काठमाडौं महानगरपालिका– ३२ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

Read Complete Original Article
Published originally on विश्वखबर






