विपद्को समयमा नागरिकहरूलाई मोबाइल फोनमार्फत समयमै पूर्वसूचना उपलब्ध गराउने मुख्य उद्देश्यसहित नेपालमा ‘सेल ब्रोडकास्ट प्रणाली’ को प्रारम्भिक प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ। सोमबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, गृह मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको संयुक्त समन्वयमा नेपाल टेलिकमले नियन्त्रित वातावरणमा उक्त प्रणालीको परीक्षण गरेको हो। परीक्षणका दौरान तोकिएका मोबाइल उपकरणहरूमा ‘यो परीक्षण सन्देश हो’ भन्ने व्यहोरासहितको सूचना सफलतापूर्वक प्रवाह गरिएको गृह मन्त्रालयले जनाएको छ। सेल ब्रोडकास्ट प्रणालीको मुख्य विशेषता भनेको विपद्को उच्च जोखिममा रहेका निश्चित भौगोलिक क्षेत्रभित्रका मोबाइल प्रयोगकर्ताहरूलाई एकैपटक पूर्वसूचनाको सन्देश पठाउनु हो। यस आधुनिक प्रणालीले विशेषगरी बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपको बेला नागरिकहरूलाई समयमै सचेत गराउन र आवश्यक सुरक्षात्मक सतर्कता अपनाउन ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ। २ जी (2G) नेटवर्कमा गरिएको यो प्रारम्भिक परीक्षण सफल भएपश्चात्, अब आवश्यक थप प्राविधिक परीक्षण तथा अन्य तयारीहरू पूरा गरी यस प्रणालीलाई बाढीको उच्च जोखिममा रहेका विभिन्न क्षेत्रहरूमा चरणबद्ध रूपमा विस्तार गर्ने योजना रहेको मन्त्रालयले जानकारी दिएको छ।
विपद्को पूर्वसूचना दिन नेपालमा ‘सेल ब्रोडकास्ट प्रणाली’ को परीक्षण सफल

Read Complete Original Article
Published originally on पर्दाफास






