Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

नारायणघाट–बुटवल सडकखण्डको डिभाइडरमा दुबो रोपिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
नारायणघाट–बुटवल सडकखण्डको डिभाइडरमा दुबो रोपिँदै
Photo / Coverage: पर्दाफास

चार लेनमा विस्तार सम्पन्न भएको नारायणघाट–बुटवल सडकको बीचमा रहेको डिभाइडरमा दुबो रोप्न सुरु गरिएको छ । करिब ११३ किलोमिटर लम्बाइको सडकबीचको तीन मिटर चौडाइको डिभाइडरमा दुबो रोप्ने काम तीव्र रुपमा भइरहेको छ । नारायणघाट बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार गैँडाकोट, देवचुली, कावासोतीलगायत विभिन्न स्थानका सडकको बीचमा रहेका डिभाइडरमा दुबो रोप्ने काम भइरहेको छ । सडक विस्तार योजना अन्तर्गत कालोपत्र गर्ने काम लगभग सकिएको भन्दै उनले अब सडक किनारका सर्भिस लेन, सडक किनारका डिभाइडरमा रङरोगन तथा बीचको डिभाइडरमा दुबो रोप्ने तथा सडक सुन्दर देखाउने बिरुवा रोप्ने काम भइरहेको जानकारी दिए । २०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले नवलपुरको गैँडाकोटमा शिलान्यास गरेर सुरु भएको पूर्वपश्चिम राजमार्ग करिब ६५ वर्षपछि चार लेनमा विस्तार भएको हो । नारायणघाट बुटवल सडक विस्तारका लागि ठेक्का भएर २०७५ साल माघदेखि विस्तार गर्ने सम्झौता भएको थियो । सोही वर्षको चैतमा सडकको शिलान्यास भएपछि विस्तारको काम सुरु भएको थियो । सम्झौता भएको मितिले ४२ महिनाभित्र निर्माण सक्नेगरी सुरु भएको सडक विस्तारको काम विभिन्न समयमा चार पटक म्याद थप गर्दै करिब आठ वर्ष लगाएर गत साउनमा पूरा भएको सूचना अधिकारी खनालले बताए । ‘सडकको लगभग काम सकिएपछि हामीले साउनमा टेकओभर गरिसकेका छौँ, सडक टेकओभर मात्र भएको हो, हस्तान्तरण भने भएको छैन, सडक टेकओभरपछि पाँच वर्षसम्म निर्माण कम्पनीले त्रुटि सच्याउने काम गर्दछ । त्यसपछि मात्रै हस्तान्तरण हुन्छ’, सूचना अधिकारी खनालले भने । सडक निर्माणका क्रममा सडकका विभिन्न त्रुटि देखिनसक्ने भएकाले पाँच वर्षसम्म निर्माण कम्पनीले मर्मत गर्नुपर्ने गरी परीक्षण अवधि हुने उनले बताए । सडकको कालोपत्र तथा ढलान गर्नुपर्ने मुख्य काम सकिएपछि अहिले त्रुटि सच्याउने, पैदलयात्रीका लागि पेटी तयार पार्ने, सडक किनारमा रेलिङ राख्ने, ढलान गर्ने काम भइरहेको छ । दुई खण्डमा विभाजन गरी लगाइएको ठेक्काको दुवै खण्ड चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ले ग्लोबल टेन्डरमार्फत गरेको हो । गैँडाकोटबाट दाउन्नेसम्म पूर्वीखण्ड (६५ किलोमिटर) र दाउन्नेबाट बुटवलसम्म पश्चिम खण्ड (४८ किलोमिटर)मा विभाजन गरी ठेक्का लगाइएको सडक विस्तारका लागि करिब १७ अर्ब बजेट खर्च भएको छ । कुल बजेटको ८५ प्रतिशत रकम एसियाली विकास बैंक (एडीबी)ले १.५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको छ । नारायणघाट–बुटवलको ११३ किलोमिटर सडक विस्तारअन्तर्गत ७० किलोमिटर चार लेन, २९ किलोमिटर छ लेन (चार लेनसहित दुवैतर्फ अतिरिक्त सर्भिस लेन) र दाउन्नेको १४ किलोमिटर क्षेत्रमा तीन लेनमा सडक निर्माण गरिएको छ । यसरी बजार क्षेत्र, समथर भूभाग र पहाडी क्षेत्रको भौगोलिक तथा यातायात आवश्यकताअनुसार सडकको डिजाइन फरक बनाइएको आयोजनाले जनाएको छ । ग्रामीण क्षेत्र र वन क्षेत्रमा चार लेनमा विस्तार भएको सडक सहरी क्षेत्रमा छ लेनमा विस्तार भएको छ भने दाउन्नेमा भौगोलिक कठिनाइ रहेका क्षेत्रमा तीन लेनमा सडक विस्तार गरिएको हो । यसका अतिरिक्त सडकमा लेन मार्किङ, ट्राफिक सङ्केत, गति सीमा सङ्केत तथा निगरानीका लागि स्पिड गन प्रयोग गर्ने व्यवस्था गरिएको छ । सडक विस्तारपछि सवारीसाधनको गति बढ्ने भएकाले दुर्घटना न्यूनीकरण गर्न गति सीमा तोकिएको सूचना अधिकारी खनालले जानकारी दिए । सूचना अधिकारी खनालका अनुसार सिधा तथा खुला सडकमा अधिकतम गति सीमा ८० किमी प्रतिघण्टा, बजार क्षेत्र तथा क्रसिङ क्षेत्रमा अधिकतम गति सीमा करिब ६० किमी प्रतिघण्टा तथा जङ्गली क्षेत्र र दाउन्नेको पहाडी क्षेत्रमा अधिकतम गति सीमा ४० किमी प्रतिघण्टा तोकिएको छ । दाउन्ने क्षेत्रको पहाडमा पटकपटक कालोपत्र गरिएको सडक बिग्रने र भासिने समस्या देखिएपछि करिब ११ किलोमिटर क्षेत्रमा सिमेन्ट कङ्क्रिट गरिएको छ । गैँडाकोटदेखि बुटवलसम्म करिब ११३ किमी सडक विस्तारका लागि ४९ हजार ८३० वटा रुख काटिएका थिए । चार लेनमा सडक विस्तार भएसँगै यो क्षेत्रमा २१ वटा ठूला पुल, ४३ वटा साना पुल तथा सडकको पानी निकासका लागि ४६ वटा कल्भर्ट (नाली) निर्माण गरिएको छ । सडक विस्तारका क्रममा साना पुल तथा कल्भर्ट चार लेनमा तयार गरिएको छ भने ठूला पुलहरु पुराना पुलको दक्षिणतर्फ दुई लेनमा तयारी पारिएको छ । पुराना पुलको आवश्यकता र प्राविधिक अवस्थाअनुसार स्तरोन्नति तथा प्रतिस्थापन गरिएको सूचना अधिकारी खनालले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आन्दोलन गर्नुपर्ने कारण छैन, सरकार ढाल्ने हो भने अनशन बस्नुस्
OthersJust now

आन्दोलन गर्नुपर्ने कारण छैन, सरकार ढाल्ने हो भने अनशन बस्नुस्

संविधानको ‘फाउन्डिङ फादर’ भइसकेको व्यक्तिले फोहोरी राजनीति गर्दैनन् भन्ने मान्यता हुन्छ । सांसदको भन्दा संविधानको ‘फाउन्डिङ फादर’हरूको हैसियत, मर्यादा र जवाफदेहिता उच्च हुन्छ । तर हामीले बनाएका ‘फाउन्डिङ फादर’को हैसियत नै देखिएन । ...

अनलाइन खबर
विपद्को पूर्वसूचना दिन नेपालमा ‘सेल ब्रोडकास्ट प्रणाली’ को परीक्षण सफल
OthersJust now

विपद्को पूर्वसूचना दिन नेपालमा ‘सेल ब्रोडकास्ट प्रणाली’ को परीक्षण सफल

विपद्को समयमा नागरिकहरूलाई मोबाइल फोनमार्फत समयमै पूर्वसूचना उपलब्ध गराउने मुख्य उद्देश्यसहित नेपालमा ‘सेल ब्रोडकास्ट प्रणाली’ को प्रारम्भिक प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ। सोमबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, गृह मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको संयुक्त समन्वयमा नेपाल टेलिकमले नियन्त्रित वातावरणमा उक्त प्रणालीको परीक्षण गरेको हो। परीक्षणका दौरान तोकिएका मोबाइल उपकरणहरूमा ‘यो परीक्षण सन्देश हो’ भन्ने व्यहोरासहितको सूचना सफलतापूर्वक प्रवाह गरिएको ...

पर्दाफास
सिक्किमको मंगन नजिक भूकम्प, कोशी प्रदेशमा पनि धक्का महसुस
OthersJust now

सिक्किमको मंगन नजिक भूकम्प, कोशी प्रदेशमा पनि धक्का महसुस

८ मंसिर, काठमाडौं । भारत सिक्किमको मंगन जिल्ला आसपास आज बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । नेपाली समय अनुसार आज बिहान पौने सात बजेतिर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । भूकम्पको धक्का नेपालको कोशी प्रदेशका केही जिल्लामा पनि महसुस भएको छ । भूकम्पले क्षति पुगे/नपुगेको विवरण भने आइसकेको छैन ।… ...

अनलाइन खबर
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
OthersJust now

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने कार्यावाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा आगामी स्थानीय तह निर्वाचन केन्द्रित अभियान ‘हामी तयार छौँ’ अन्तर्गत केन्द्रीय नेताहरूका विचार र सुझाव लिइने बुझिएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement