नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) की दिदी सुजाता शाहले नेपाल र भारतबीचको सदियौँ पुरानो ‘रोटी–बेटी’ सम्बन्धले दुई देशको आत्मीयता थप प्रगाढ बनाउने बताएकी छन्। उनले प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा सुरु भएको रेलमार्गलाई दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धको प्रतीकका रूपमा व्याख्या गरेकी छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहले भारतको राजकीय भ्रमण सम्पन्न गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै भारतको कर्नाटकमा विवाह गरेकी सुजाताले कला र मानवीय भावनालाई कुनै पनि देशको सीमाले बाँध्न नसक्ने बताएकी हुन्। उनले नेपाल र भारतबीचको सम्बन्ध राजनीतिक तथा कूटनीतिक तहमा मात्र सीमित नभई पारिवारिक, सांस्कृतिक र भावनात्मक रूपमा समेत जोडिएको उल्लेख गरिन्। नेपाल र भारतबीच पुस्तौँदेखि वैवाहिक सम्बन्ध कायम रहँदै आएको स्मरण गर्दै उनले यसलाई दुई देशबीचको आत्मीयता बढाउने माध्यमका रूपमा लिएकी छन्। त्रेतायुगमा नेपालकी सीता र भारतका रामबीच विवाह भएको प्रसंग उल्लेख गर्दै सुजाताले विगतमा एक देशबाट अर्को देशमा विवाह गर्नु सामान्य चलन रहेको बताइन्। अहिले पनि अन्तरदेशीय विवाहलाई ठूलो मुद्दा बनाउन नहुने उनको धारणा छ। यस्ता सम्बन्धले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने उनले बताएकी छन्। प्रधानमन्त्री बालेनको भ्रमणका क्रममा सुरु भएको रेलमार्गको प्रशंसा गर्दै उनले यसलाई नेपाल र भारत सदियौँदेखि पवित्र सूत्रमा बाँधिएका छन् भन्ने सन्देश दिने सकारात्मक कदम भनेकी छन्। रेलमार्गको सुरुवातले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ ढंगले जोडेको उनको भनाइ छ। त्यस्तै, नेपाल र भारतका धर्म, परम्परा तथा संस्कृति कतिपय पक्षमा समान रहेको उल्लेख गर्दै उनले दुवै देशका नेतृत्वले ‘हामी एक हौँ’ भन्ने उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताइन्। मानवीय जीवन र सामाजिक सद्भावबारे आफ्नो धारणा राख्दै सुजाताले ‘बाँचौँ र बाँच्न दिऔँ, खुसी रहौँ र खुसियाली फैलाऔँ’ भन्ने भावनालाई आत्मसात् गर्नुपर्ने बताएकी छन्। आफ्नो वरपर शान्तिपूर्ण वातावरण कायम राख्नु नै सबैभन्दा ठूलो धर्म भएको उनको भनाइ छ।
बालेनकी दिदीले भनिन्– ‘नेपाल–भारतको रोटी–बेटी सम्बन्धले आत्मीयता अझ प्रगाढ बनाउँछ’

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






