काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले विपद् व्यवस्थापनका लागि बनाइएको संयन्त्र भद्दा हुँदा उद्धार तथा समन्वयमा ढिलाइ हुने गरेको बताएका छन्। उनले विगतका विपद्बाट प्राप्त अनुभवलाई भविष्यको रणनीति निर्माणको आधार बनाउनुपर्नेमा जोड दिएका छन्। सिग्देलले विपद्को प्रकृतिका आधारमा मानव निर्मित र प्राकृतिक गरी दुई वर्गमा विभाजन गरेर जिम्मेवारी बाँडफाँट गर्नुपर्ने सुझाव दिए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी छिट्टै यथार्थपरक तथ्यांक उपलब्ध गराउने प्रतिबद्धता पनि उनले व्यक्त गरे। नेपाली सेनाको चेन अफ कमान्डका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै उनले २०७२ सालको भूकम्पपछि निर्माण गरिएको संरचना अहिले पनि प्रभावकारी रहेको बताए। यद्यपि, त्यसमा रहेका केही कमी–कमजोरी सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले स्वीकार गरे। सिग्देलले सबै प्रकारका विपद्का लागि एउटै किसिमका उपकरण पर्याप्त नहुने बताए। “विपद्को प्रकृति फरक हुने भएकाले शतप्रतिशत तयारी सम्भव नहुन सक्छ। तर तत्काल घटनास्थल पुग्ने क्षमता, जीवनरक्षक उपकरण, उद्धारपछिको आश्रय र खानाको व्यवस्था सुनिश्चित गर्न न्यूनतम तयारी अनिवार्य छ,” उनले भने। उनले भूकम्प, खडेरी र महामारीजस्ता सम्भावित विपद्को सामना गर्न राजनीतिक नेतृत्वबाटै राष्ट्रिय नीति निर्माण हुनुपर्नेमा जोड दिए। सेनाले आफ्नो तहबाट गर्नुपर्ने तयारीका लागि सधैं तत्पर रहेको उल्लेख गर्दै उनले प्रदेशस्तरमा विपद् सामग्री भण्डारण र सानो टोलीमार्फत नियमित अभ्यास गर्ने व्यवस्था मिलाउन सके विपद् प्रतिकार्यमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। – न्युज एजेन्सी नेपाल
विपद् व्यवस्थापन संयन्त्र भद्दा हुँदा उद्धार र समन्वयमा ढिलाइः प्रधानसेनापति सिग्देल

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






