मानव सभ्यताको विकासक्रम सधैं प्रकृतिसँगको संघर्ष र सहकार्यबाट अगाडि बढेको छ । तर, आजको युगमा आइपुग्दा यो सहकार्य बिस्तारै द्वन्द्वमा परिणत भएको छ । विकासको तीव्र आकांक्षा र प्रकृतिको संरक्षणबीचको सन्तुलन मिलाउनु आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतसामू सबैभन्दा ठूलो चुनौती बनेको छ । हामीले गर्ने सानासाना दैनिक निर्णयदेखि लिएर राज्यस्तरबाट सञ्चालन गरिने ठूला पूर्वाधार आयोजनासम्मले प्रकृतिमाथि गहिरो प्रभाव पार्छन् । विकास आफैंमा अभिशाप होइन, तर योजना, दूरदर्शिता र सन्तुलनविनाको विकासले निम्त्याउने विपत्ति दीर्घकालीन हुन्छ । आज हामीले यसै यथार्थलाई गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्ने बेला आएको छ । हामी घरमा प्रयोग गर्ने प्लाष्टिकका बोतल, झोला र भाँडाकुँडाको साटो रैथाने र दिगो विकल्पहरू रोज्न सक्छौं । उदाहरणका लागि, बाँसबाट बनेका वस्तुहरूको प्रयोग बढाउने हो भने वातावरणीय प्रदूषण उल्लेखनीय रूपमा कम हुनसक्छ । बाँस नेपालकै माटोमा सजिलै उब्जने, स्वदेशी र पूर्णरूपमा दिगो स्रोत हो । यसको प्रवर्द्धनले प्रदूषण घटाउनमात्र सघाउँदैन, यसले ग्रामीण क्षेत्रका किसानहरूलाई आम्दानीको गतिलो र अतिरिक्त स्रोत पनि प्रदान गर्छ । गाउँ-ठाउँमा पहिले चौतारीमा उभिने बरपिपल र ठूला रूखहरूले माटोको क्षय रोक्ने काम गर्थे । आज ती रूखहरू मासिएका छन् र डोजरे विकासका नाममा पहाडको संवेदनशील संरचनालाई जथाभावी भत्काइएको छ । नदी किनारका उर्वर खेतहरूलाई मासेर हतारहतार सडक बनाउने र तिनै सडकको काखमा व्यापारिक भवन तथा बस्ती विस्तार गर्ने क्रम चलेको छ । गाउँघरमा जंगली जनावरहरूको उपद्रव पुरानै समस्या हो । बाँदर, बँदेललगायत वन्यजन्तुले वर्षभरि लगाएको बाली सखाप पार्दा किसान हताश छन् । यसको दिगो समाधान यस्ता जनावरले खान वा हानि नपुर्याउने बालीहरूको व्यावसायिक खेती गर्नु हो । बाँस, अलैँची, खुर्सानी, टिमुर, अदुवा, कागती, कागुनो, सुन्तला, तोरी, चिया र कफीजस्ता बालीहरू यस्ता विकल्प हुन्, जसले किसानलाई वन्यजन्तुको त्रासबाट मुक्ति दिलाउँछन् । साथै बाख्रापालन र अन्य पशुपक्षीपालनसँगै जोडेर यस्तो खेती गर्दा ग्रामीण अर्थतन्त्र बलियो बन्छ । बाँसको उपयोगिता केवल बाली सुरक्षामा मात्र सीमित छैन । यसबाट घर, गोठ, दाउरा, घाँस, डोको, थुन्से र विभिन्न दैनिक उपभोगका घरायसी सामग्री तयार हुन्छन् । अझ महत्त्वपूर्ण कुरा त के छ भने, बाँसका जराहरूले माटो र चट्टानलाई कताबाट बग्न नदिई बलियोसँग बाँधेर राख्छन् । यसले बाढी, पहिरो र भूस्खलनबाट जोगाउने प्राकृतिक पर्खालको काम गर्छ । रसुवालगायत क्षेत्रमा आएका विनाशकारी बाढी र पहिरोका घटनाले यही वैज्ञानिक सत्यलाई बारम्बार पुष्टि गरेका छन् । ‘डोजरे विकास’ को पासोहाम्रा पुर्खाले पुस्तौंदेखि आफ्नो सीप, अनुभव र वातावरणीय अनुकूलताका आधारमा जीवनशैली सञ्चालन गरेका थिए । उनीहरूले नदी तथा खोलाहरूलाई सधैं उसकै प्राकृतिक बाटोमा बग्न दिने प्रचलन अपनाएका थिए । वर्षायाममा बाढीले बगर वा बालुवा ल्याएको ठाउँमा पछि उर्वर खेत बन्थ्यो र त्यसमाथिको सुरक्षित उचाइमा घर, गोठ, सार्वजनिक जग्गा, जंगल, खर्क र चौतारा निर्माण गरिन्थ्यो । तर आज आधुनिकताको अन्धवेगमा दौडिने क्रममा हामीले त्यो मौलिक र व्यावहारिक ज्ञानलाई पूरै बिर्सिंदै गएका छौं । परिणामस्वरूप, नदीको प्राकृतिक बहाव क्षेत्रमै घरहरू ठड्याउने र बस्ती बसाउने प्रवृत्ति बढेको छ, जसको महँगो मूल्य हामीले हरेक बर्खायाममा चुकाइरहेका छौं । गाउँ-ठाउँमा पहिले चौतारीमा उभिने बरपिपल र ठूला रूखहरूले माटोको क्षय रोक्ने काम गर्थे । आज ती रूखहरू मासिएका छन् र डोजरे विकासका नाममा पहाडको संवेदनशील संरचनालाई जथाभावी भत्काइएको छ । नदी किनारका उर्वर खेतहरूलाई मासेर हतारहतार सडक बनाउने र तिनै सडकको काखमा व्यापारिक भवन तथा बस्ती विस्तार गर्ने क्रम चलेको छ । यसैको दुष्परिणामस्वरूप हरेक वर्ष गाउँदेखि सहरसम्म बाढीपहिरो र डुबानको ताण्डव देख्न पाइन्छ । रित्तिएका गाउँ र टुट्दो पारिवारिक सूत्रआज ग्रामीण समाजको अर्को कहालीलाग्दो चित्र भनेको गाउँघरमा काम गर्ने सक्षम जनशक्ति नै नरहनु हो । धेरैजसो घरहरूमा वृद्धवृद्धा बाबुआमामात्र सीमित छन् । गाउँमा आफ्ना रीतिथिति, चाडपर्व, देवकार्य र पितृकार्य सम्पन्न गर्न आवश्यक पर्ने पण्डित वा सहयोगीसमेत नपाइने दयनीय अवस्था सिर्जना भएको छ । युवा पुस्तामा देखिएको वैदेशिक रोजगारीप्रतिको तीव्र आकर्षणले गाउँहरूलाई रित्याउँदै लगेको छ । विदेश जाने, केही पैसा कमाउने, सुन किन्ने, भव्य रूपमा विवाह गर्ने र छोराछोरीलाई सहरका महँगा विद्यालयमा पढाउने धोकोले समाजलाई एकातिर आधुनिक बनाउन खोजेको देखिन्छ, तर यसको सामाजिक मूल्य ठूलो छ । परिवारहरू टुक्रिँदै गएका छन् , हजुरबा र हजुरआमा आफ्ना प्यारा नातिनातिनाबाट टाढिँदै गएका छन् । हाम्रा पुराना र गरिमायुक्त पारिवारिक मूल्यमान्यता , स्नेह र अपनत्वको धागो बिस्तारै कमजोर हुँदै गएको छ । खानपानको शैली र मानसिक स्वास्थ्यमानिसको खानपानको शैलीमा आएको परिवर्तन उत्तिकै चिन्ताजनक विषय बनेको छ । विसं २०४० को दशकयता हाम्रो भान्सामा र बजारमा चाउचाउ, बिस्कुट, पाउरोटी र प्याकेटका जंकफुडहरूको प्रयोग अस्वाभाविक रूपमा बढेको छ । यसबारे औपचारिक वैज्ञानिक अनुसन्धान अझै पूर्ण नभए पनि मधुमेह, उच्च रक्तचाप, मृगौला रोग र क्यान्सरजस्ता नसर्ने रोगहरूको प्रकोप ठीक यही अवधिमा तीव्र गतिमा उकालो लागेको छ । यसले हाम्रो खानपानको शैली र यी गम्भीर रोगहरूबीच गहिरो सम्बन्ध रहेको बलियो आशंका जन्माएको छ । खानपान सँगसँगै आजको डिजिटल संसारले मानिसको मानसिक स्वास्थ्यमा पारेको असर पनि कम पीडादायी छैन । सामाजिक सञ्जालमा दैनिक रूपमा आइरहने समर्थन र विरोधका तीता भाष्य, आधिकारिक तथा अनाधिकृत सूचनाको अनियन्त्रित बाढीले मानिसलाई लगातार मानसिक तनावतर्फ धकेलिरहेको छ । यदि मोबाइल, टिभी र सामाजिक सञ्जालको प्रयोगलाई समयमै नियमन नगरिने हो भने निकट भविष्यमा समाजमा ठूलो सांस्कृतिक र मानसिक विशृंखलता आउने निश्चित छ । शरीरलाई कस्तो खानेकुरा खुवाउँछौं भन्ने कुरामा जति सचेत हुन्छौं, मानसिक खुराकका रूपमा डिजिटल लतले के खुवाउँदैछ भन्नेतर्फ उत्तिकै सचेत हुनुपर्छ । प्रकृतिको सानिध्य र वास्तविक मानवीय अन्तर्क्रिया नै स्वस्थ जीवनको असली जग हो । जलाधार क्षेत्रको दोहन र सम्भावित विपत्तिसहरी संरचनाको अव्यवस्थित र अनियन्त्रित विस्तारले हाम्रो जल व्यवस्थापन प्रणालीलाई नराम्ररी बिथोलेको छ । पहिले आकाशबाट पर्ने पानी नदी किनारका खुला खेतबारी र चौरहरूले सोस्थ्यो र बढी भएको पानी प्राकृतिक सीमाभित्रैबाट बगेर सहज निकास पाउन्थ्यो । तर आज ती सबै खुला जमिनहरू कंक्रिटका घर र पक्की ढलानले ढाकिएका छन् । परिणामतः पानी जमिनभित्र सोसिन पाउँदैन र शहरी क्षेत्रमा क्षणभरमै विनाशकारी बाढी निम्तिने खतरा बढेको छ । काठमाडौं उपत्यका र अन्य सुगम शहरका वरिपरिका डाँडाकाँडा तथा वनजंगल मासेर गरिएको अन्धाधुन्ध प्लटिङले पहाडहरूलाई नांगो बनाइसकेको छ, जसले गर्दा ती स्थानमा बनेका घर पानी पर्दा बग्ने वा भासिने उच्च जोखिममा छन् । यसै सन्दर्भमा, शिवपुरी जलाधार क्षेत्रमा बाँध बाँधेर पानी बागमतीमा पठाउने र खानेपानीको वैकल्पिक व्यवस्था गर्ने योजनाका बारेमा गम्भीर समीक्षा हुन आवश्यक छ । विश्वका ठूला बाँधहरू प्रायः समथर भू-भागमा बनेका छन्, तर हाम्रो भौगोलिक बनावट पूर्णरूपमा फरक र संवेदनशील छ । शिवपुरी जस्तो संवेदनशील पहाडी क्षेत्रमा यस्ता संरचना बनाउनुअघि गहिरो वैज्ञानिक अध्ययन, नियमित निरीक्षण र प्राविधिक परीक्षण अनिवार्य हुनुपर्छ । अन्यथा चोभारको गल्छीजस्ता ऐतिहासिक प्राकृतिक संरचनासमेत गम्भीर जोखिममा पर्न सक्छन् । भोटेकोशीलगायत नदीतटीय क्षेत्रमा बस्ती र खेतीयोग्य जमिन बगाएका घटनाले हामीलाई यही चेतावनी बारम्बार दिइरहेका छन् । जलवायु परिवर्तनको असर स्वरूप हिमालहरूबाट हिउँ द्रुत गतिमा पग्लिरहेको छ, जसले रसुवाको भोटेकोशी जस्ता क्षेत्रमा हिमाली सुनामीको खतरा बढाएको छ । खानेपानीका मुहानहरू सुक्दै गएका छन् । यस घडीमा प्रकृतिको अनुपम वरदान मानिएको बाँसको खेती, संरक्षण र यसबाट बन्ने फर्निचर तथा घरायसी वस्तुहरूको प्रयोगलाई व्यापक बनाउनुपर्छ । हरित ऊर्जा र भावी पुस्ताको दायित्वसिमसार क्षेत्र, प्राकृतिक पोखरी र भञ्ज्याङहरू हाम्रा पुर्खाले बचाएर राखेका जीवित प्राकृतिक संरचना थिए । तिनले गाईवस्तुलाई पानी खुवाउनुका साथै भूमिगत जलस्तरलाई सन्तुलित राख्न ठूलो भूमिका खेल्थे । तर विकासका नाममा यस्ता पोखरी र सिमसार क्षेत्रहरू पुरिँदै र मासिँदै गएका छन्, जुन आज देखिएको विकराल जलसंकटको मुख्य कारक हो । मानिसले पृथ्वी र यहाँका अन्य जीवजन्तुलाई आफ्नो अधीनमा पार्ने होडबाजी गर्दा ‘पृथ्वी सबैको साझा घर हो’ भन्ने शाश्वत सत्यलाई पूर्णरूपमा बिर्सँदै गएको छ । विगत केही वर्षयता विश्वको औसत तापक्रममा १.५ डिग्री सेल्सियससम्मको वृद्धि भइसकेको छ, जसले मानव सभ्यतामाथि नै संकटका कालो बादल मण्डारिन थालेको छ । एल निनोको प्रभावले चर्को गर्मी, खडेरी र अनियन्त्रित वर्षाका घटना बढेका छन् । अर्कोतर्फ, हरित ऊर्जा, सौर्य ऊर्जा, वायु ऊर्जा र जलविद्युतजस्ता प्रशस्त स्वदेशी ऊर्जाका स्रोतहरू हामीसँग उपलब्ध हुँदाहुँदै पनि हामी अझै पनि आयातित ग्यास र इन्धनका लागि लामो लाइनमा बस्न बाध्य छौं । आफ्नै ऊर्जा स्रोतको अधिकतम सदुपयोग गर्ने नीतिमा हामी चुक्दै आएका छौं । कार्बन उत्सर्जनमा विकसित मुलुकहरूको मुख्य हात रहे पनि त्यसको वातावरणीय र आर्थिक मूल्य हामीजस्ता विकासशील मुलुकहरूले चुकाउनुपरिरहेको छ । कोष्टारिका जस्ता देशहरूले आफ्नो कुल भूमिको एक चौथाइ भाग वनजंगलका लागि सुरक्षित राखेर उदाहरणीय काम गरेका छन्, तर हामी भने राष्ट्रिय निकुञ्ज र आरक्ष क्षेत्रसमेत मासेर सडक र पूर्वाधार निर्माण गर्न तल्लीन छौं । निष्कर्षयी सारा दृष्टान्तले एउटैमात्र अकाट्य सत्य प्रमाणित गर्छन् । विकास आफैंमा शत्रु होइन, तर योजना, अध्ययन र पर्यावरणप्रतिको संवेदनशीलताविनाको विकासले अन्ततः प्रकृति र मानव जाति दुवैलाई विनाशको मुखमा पुर्याउँछ । स्थानीय सरकार, प्राविधिक निकाय र स्थानीय जनताबीचको दरिलो समन्वयविना गरिने कुनै पनि पूर्वाधार निर्माणले तात्कालिक लाभ दिए पनि भविष्यमा त्यसको मूल्य निकै महँगो साबित हुन्छ । त्यसैले नदी किनार, वन क्षेत्र र संवेदनशील जलाधार क्षेत्रहरूमा कुनै पनि संरचना बनाउनुअघि कडा वातावरणीय प्रभाव मूल्यांकन गरिनुपर्छ र स्थानीय समुदायको परम्परागत ज्ञानलाई उच्च सम्मान दिनुपर्दछ । जलवायु परिवर्तनको असर स्वरूप हिमालहरूबाट हिउँ द्रुत गतिमा पग्लिरहेको छ, जसले रसुवाको भोटेकोशी जस्ता क्षेत्रमा हिमाली सुनामीको खतरा बढाएको छ । खानेपानीका मुहानहरू सुक्दै गएका छन् । यस घडीमा प्रकृतिको अनुपम वरदान मानिएको बाँसको खेती, संरक्षण र यसबाट बन्ने फर्निचर तथा घरायसी वस्तुहरूको प्रयोगलाई व्यापक बनाउनुपर्छ । हाम्रा बाउबाजेले आर्जन गरेको व्यावहारिक सीप, संस्कृति र संस्कारलाई आधुनिक विज्ञान तथा प्रविधिको सही प्रयोगसँग जोडेर अगाडि बढ्नु नै आजको बुद्धिमानी हुनेछ । आजैबाट सचेत नभएमा आउने पुस्ताले हामीलाई कहिल्यै क्षमा गर्नेछैन । तसर्थ, नीतिनिर्माणको तहदेखि व्यक्तिगत आचरणसम्म हर क्षेत्रमा वातावरणमैत्री र सन्तुलित मार्ग अवलम्बन गर्नु आजको टड्कारो र अपरिहार्य आवश्यकता हो ।
विकास र वातावरणको दोसाधमा उभिएको हाम्रो समय

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






