वर्षाका कारण कीर्तिपुर मैदानमा खेल गराउन कठिन, टिकटको रकम फिर्ताबारे छलफल हुने

नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले लगातारको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल सञ्चालन गर्न कठिन भएको बताएका छन् । उनका अनुसार बिहानदेखि नै मैदानमा पानीको निकास व्यवस्थापनका लागि प्रयास भइरहेको छ । तर, बाहिरबाट ठूलो मात्रामा पानी मैदानभित्र प्रवेश गरेपछि समस्या थपिएको हो । निर्माण कार्यका क्रममा ड्रेनेज अवरुद्ध हुँदा पानी निकासमा समेत कठिनाइ भएको उनले बताए । उनले भने, ‘बाहिरबाट ठूलो मात्रामा पानी मैदानभित्र प्रवेश गरेपछि समस्या भएको हो। निर्माण कार्यका क्रममा ड्रेनेजसमेत अवरुद्ध हुँदा पानी निकासमा कठिनाइ भएको छ । बिहानैदेखि पानी निकासका लागि आवश्यक प्रयास गरिरहेका छौँ । तर लगातारको वर्षाका कारण मैदानलाई खेल्न योग्य बनाउन चुनौती भइरहेको छ ।’ पानीको निकास सहज बनाउन जेसीभी प्रयोग गरी तीन नम्बर गेटतर्फको अवरोध हटाइएको र मैदानभित्र जमेको पानी बाहिर निकाल्न खाल्डो खनेर निकासको व्यवस्था गरिएको सिंहले जानकारी दिए। त्यसैगरी, पाँचदेखि छवटा मोटर प्रयोग गरेर मैदानमा जमेको पानी बाहिर फाल्ने तयारी गरिएको छ । उनका अनुसार मुलपानी र अन्य स्थानबाट समेत आवश्यक उपकरण तथा सुपर सोपर मगाइएको छ । तर, मैदानको बनावट र बाहिरबाट निरन्तर पानी आइरहेकाले मैदान सुकाउन चुनौती रहेको उनको भनाइ छ । ‘आजको खेल सञ्चालन गर्न निकै गाह्रो छ । सम्भावना पनि न्यून छ,’ उनले भने, ‘मौसम सफा भएर पाँचदेखि सात घण्टासम्म समय पाए भोलिको खेलका लागि मैदान तयार पार्ने प्रयास गर्न सकिन्छ।’ सिंहले आज दिनभरि र रातिसम्म वर्षा भइरहे भोलिको खेल सञ्चालनमा समेत समस्या हुन सक्ने बताए । मैदानमा पानी निकाल्ने उपकरण प्रयोग गरे पनि बाहिरबाट पानी आइरहे अवस्था सहज नहुने उनको भनाइ छ । यसैबीच, खेल रद्द भएपछि टिकटको रकम फिर्ता गर्नुपर्ने भन्दै समर्थकहरूले उठाएको विषयमा पनि उनले प्रतिक्रिया दिएका छन् । खेल हेर्न नपाएका दर्शकको माग जायज रहेको उल्लेख गर्दै टिकटसम्बन्धी विषयमा आयोजकले आवश्यक निर्णय लिनुपर्ने उनले बताए । तेस्रो चरणको नेपाल प्रिमियर लिग(एनपीएल) कात्तिक ९ गतेदेखि जारी छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सिरहामा नक्कली नोटसहित दुई जना पक्राउ
१४ कात्तिक, सिरहा । सिरहा प्रहरीले नक्कली नेपाली नोटजस्तो देखिने २५ हजार ५०० रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार राति करिब ११ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डमा शंकास्पद रूपमा हिँडिरहेका दुई जनालाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त रकम बरामद गरिएको हो… ...

पूर्वराजा वीरेन्द्रका परिवारको नाममा रहेको सम्पत्ति खोज्दै सरकार
१३ कात्तिक, काठमाडौं । सरकारले पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारको नाममा रहेको चल/अचल सम्पत्ति खोज्दैछ । यस निम्ति संघीय सरकारले सबै स्थानीय तहमा पत्राचार गरेको छ । भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय तह समन्वय शाखाले सबै गाउँपालिका र नगरपालिकामा पत्र लेखेर चल/अचल सम्पत्ति खोजबिनमा सहजीकरण… ...

लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित, अंक बाँडियो
लगातारको झरीले मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी र चितवनबीचको खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए । ...

ट्रम्पको दाबी– होर्मुजबाट सात महिनाअघिभन्दा बढी तेल प्रवाह भइरहेको छ
लामो भाषणका क्रममा ट्रम्पले पटक–पटक इरानको विषय उठाउँदै इरानको नौसेना र वायुसेना ध्वस्त पारिएको दाबी दोहोर्याए । ...


