अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनले परिभाषित गरेको ‘जनताको, जनताद्वारा र जनताका लागि गरिने शासन’ नै लामो समयसम्म लोकतन्त्रको सबैभन्दा चर्चित व्याख्या रह्यो । नेपालको सन्दर्भमा २००७ सालको क्रान्तिदेखि २०४६ को जनआन्दोलन र २०६२/६३ को परिवर्तन हुँदै विसं २०७२ मा संविधान जारी हुँदासम्म लोकतन्त्रलाई मुख्यतः निरंकुश शासनको अन्त्य, अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता र नियमित निर्वाचनको व्यवस्थासँग जोडेर हेरियो । हिजोको पुस्ताका लागि नेता जेलबाट छुटेर टुँडिखेलमा भाषण गर्न पाउनु र नागरिकले पाँच वर्षमा एकपटक मताधिकार प्रयोग गर्न पाउनु नै लोकतन्त्रको ठूलो उपलब्धि मानिन्थ्यो । तर संविधान जारी भएको एक दशकपछि नागरिक चेतना, प्रविधि र सामाजिक अपेक्षामा आएको परिवर्तनसँगै लोकतन्त्रको परम्परागत परिभाषा पनि बदलिएको छ । आज नागरिकले लोकतन्त्रको तराजुमा नेताका भाषण होइन, आफ्नै भान्साको महँगी र जीवनमा आएको परिवर्तन जोख्न थालेका छन् । राज्यले कति प्रभावकारी सेवा प्रवाह गर्यो, कति न्याय सुनिश्चित गर्यो र कति अवसर सिर्जना गर्यो भन्ने आधारमै लोकतन्त्रको वास्तविक अर्थ र सफलता मापन हुनथालेको छ । लोकतन्त्रको केही आधारभूत मापदण्ड मध्य ‘विधिको शासन’ र ‘कानुनको दृष्टिमा समानता’ पनि हो । कानुन सबै नागरिकमाथि समान रूपमा लागू हुनुपर्छ, अन्यथा राज्यप्रतिको विश्वास कमजोर बन्छ । त्यसैगरी, सार्वजनिक अवसर, नियुक्ति र जिम्मेवारी नातावाद वा कृपावादभन्दा योग्यता, प्रतिस्पर्धा र इमानदारीका आधारमा वितरण हुनुपर्छ । राज्यका संवैधानिक अंग, सुरक्षा निकाय र न्यायपालिका राजनीतिक प्रभावबाट स्वतन्त्र रहँदामात्र लोकतन्त्र संस्थागत रूपमा सुदृढ हुनसक्छ । जबसम्म नागरिकले तिरेको करको प्रतिफलस्वरूप गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, सुरक्षित पूर्वाधार र सम्मानजनक रोजगारी प्राप्त गर्दैनन्, तबसम्म राजनीतिक अधिकारको अनुभूति पूर्ण हुनसक्दैन । त्यसैले आज लोकतन्त्रको मूल्यांकन मुख्यतः सुशासन, सेवा प्रवाह र राज्यको कार्यसम्पादनबाट गरिन थालेको छ । सरकारी कार्यालयमा लाइन नबसी काम हुनु, किसानले समयमै मल पाउनु र युवाले त्रिभुवन विमानस्थलको साटो आफ्नै देशमा भविष्य देख्नु नै एक्काईसौं शताब्दीको वास्तविक लोकतन्त्रको मापदण्ड बनेको छ । आज लोकतन्त्रलाई खतरा कुनै निरंकुश राजा वा तानासाहसँग छैन, बरू लोकतन्त्रलाई खतरा त अहिलेको स्वार्थी दलतन्त्रले दिइरहेको छ । नेपालमा लोकतन्त्रको नाममा राज्यका संस्थालाई दलीय प्रभाव र भागबण्डाको अखडा बनाउने प्रवृत्तिले लोकतन्त्रको मूल मर्ममाथि नै प्रहार गरेको छ । निर्वाचन जित्नु भनेको राज्यमाथि स्वामित्व प्राप्त गर्नु होइन, जनताप्रति उत्तरदायी बन्ने जनादेश प्राप्त गर्नु हो । तर, सत्ताको कुर्सीमा बसेपछि राज्यका निकायलाई आफ्नो राजनीतिक प्रभावक्षेत्र बनाउने, संस्थाभन्दा एउटा व्यक्ति र दललाई माथि राख्ने र सार्वजनिक हितभन्दा दलगत स्वार्थलाई प्राथमिकता दिने संस्कृतिले लोकतन्त्रलाई दिन प्रतिदिन कमजोर बनाउँदै लगेको छ । केही सीमित नेताले बन्द कोठामा राष्ट्रिय निर्णय गर्ने, संवैधानिक निकायदेखि विश्वविद्यालयसम्म भागबन्डा गर्ने र आफ्ना स्वार्थानुकूल संस्था सञ्चालन गर्ने संस्कृतिलाई लोकतन्त्र भन्न मिल्दैन । त्यो लोकतन्त्र नभई, आधुनिक रूपको अल्पतन्त्र वा सीमित व्यक्तिको शासन हो । विडम्बना त यो हो कि लोकतन्त्रको पाठ पढाउने धेरै दल आफैंभित्र लोकतान्त्रिक छैनन् । जहाँ नेतृत्व वर्षौंदेखि एउटै घेरामा कैद छ, नयाँ पुस्तालाई प्रवेश कठिन छ र निर्णय केही व्यक्तिको इच्छानुसार चल्छ, त्यहाँ लोकतन्त्रको नभई, व्यक्तिवाद र गुटवादको अभ्यास भइरहेको हुन्छ । आजको लोकतान्त्रिक बहसको मूल प्रश्न भनेको, राज्य दलका लागि हो कि नागरिकका लागि ? जबसम्म राज्यका संस्था दलीय नियन्त्रणबाट स्वतन्त्र, निष्पक्ष र जनउत्तरदायी बन्दैनन्, तबसम्म लोकतन्त्रको नारा जतिसुकै ठूलो भए पनि नागरिकले त्यसको वास्तविक अनुभूति गर्न पाउँदैनन् । लोकतन्त्रको वास्तविक परीक्षा निर्वाचन केन्द्रमा होइन, नागरिकको दैनिक जीवनमा हुन्छ । भोकै पेटले वा राहदानी बोकेर वैदेशिक रोजगारीको लाइनमा उभिएको युवा र मलको पर्खाइमा बसेको किशानले ‘वाक् स्वतन्त्रता’को गीत गाएरमात्र चित्त बुझाउन सक्दैन् । नेपालको संविधानले भाग–३ मा मौलिक हक र भाग–४ मा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वमार्फत लोकतन्त्रको दायरा फराकिलो बनाए पनि त्यसको वास्तविक कार्यान्यनको अनुभूति जनता अहिलेसम्म गर्न पाएका छैनन् । आजको लोकतन्त्र राजनीतिक समानता (जस्तै एक व्यक्ति, एक भोट) मा मात्र सीमित छैन, यो आर्थिक समानता, सामाजिक न्याय र मानवीय मर्यादासँग जोडिएको छ । दलितले जातीय छुवाछूत भोग्नुपर्ने, सुकुम्बासीले बास नपाउने र गरिबले उपचार नपाएर मर्नुपर्ने अवस्था रहेसम्म त्यहाँ लोकतन्त्रको अभ्यास भएको मान्न सकिँदैन । अवसरको न्यायोचित वितरण र सीमान्तकृत वर्गको वास्तविक सशक्तीकरण नै आधुनिक लोकतन्त्रको आत्मा हो । डिजिटल युगले लोकतन्त्रको स्वरूप बदलिदिएको छ । सूचना प्रविधि र सामाजिक सञ्जालको विस्तार र पहुचले लोकतन्त्रको अभ्यासलाई संसद् भवन र सिंहदरबारको पर्खालबाहिर निकालेको छ । हिजो शासकलाई गल्ती सच्याउन वा जवाफ दिन पाँच वर्षपछिको चुनाव कुर्ने सुविधा थियो, तर आज त्यो सुविधाको अन्त्य भएको छ । आज कुन सांसदले संसद् के बोल्यो, सरकारले कुन निर्णय गर्यो वा विकास निर्माणमा कहाँ अनियमितता भयो भन्ने कुरा लुकाउन कठिन छ । नागरिक केवल मतदाता भएर बस्ने अवस्थामा छैनन् । आज उनी हरेक दिन प्रश्न सोध्ने, खबरदारी गर्ने र जवाफ माग्ने भूमिकामा छन् । लोकतन्त्र अब चुनावका बेलामात्र सक्रिय हुने प्रणाली नभई, निरन्तर जनताको निगरानीमा चल्ने व्यवस्था बनेको छ । त्यसैगरी, राज्य सञ्चालनमा गोपनीयता र अपारदर्शिताको पुरानो संस्कृतिप्रति नागरिकको असन्तुष्टि बढ्दो छ । कर तिर्ने जनताले राज्यका निर्णय, खर्च र कार्यसम्पादन जस्ता गतिविधिहरूको जानकारी पाउने अधिकार खोजिरहेका छन्, जुन कुरा नेपालको संविधानको धारा २७ ले पनि सुनिश्चित गरेको छ । यही कारण आज सुशासनको प्रमुख आधार पारदर्शिता र जवाफदेहिता बनेको छ । त्यसैले आधुनिक लोकतन्त्रको नयाँ मापदण्ड अनुशार, अहिलेको सरकारले जनताको मतमात्र होइन, जनताको प्रश्नको पनि सामना गर्नुपर्छ । लोकतन्त्रको केही आधारभूत मापदण्ड मध्य ‘विधिको शासन’ र ‘कानुनको दृष्टिमा समानता’ हो । कानुन सबै नागरिकमाथि समान रूपमा लागू हुनुपर्छ; अन्यथा राज्यप्रतिको विश्वास कमजोर बन्छ । त्यसैगरी, सार्वजनिक अवसर, नियुक्ति र जिम्मेवारी नातावाद वा कृपावादभन्दा योग्यता, प्रतिस्पर्धा र इमानदारीका आधारमा वितरण हुनुपर्छ । राज्यका संवैधानिक अंग, सुरक्षा निकाय र न्यायपालिका राजनीतिक प्रभावबाट स्वतन्त्र रहँदामात्र लोकतन्त्र संस्थागत रूपमा सुदृढ हुनसक्छ । नागरिकको आलोचना लोकतन्त्रका लागि खतरा होइन, बरू लोकतान्त्रिक मूल्य, विधिको शासन र न्यायिक स्वतन्त्रतालाई बेवास्ता गर्ने राजनीतिक जडता तथा सर्वशक्तिमान बन्ने प्रवृत्तिले नै लोकतन्त्रलाई जोखिममा पार्छ । त्यसैले संवैधानिक मर्यादा र शक्ति पृथकीकरणको सीमाभित्र रहेर परिणाममुखी शासन प्रदान गर्नु आजको लोकतन्त्रको मूल विषय हो । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले लोकतन्त्रप्रतिको नागरिक दृष्टिकोणमा आएको परिवर्तनलाई स्पष्ट देखाएको छ । परम्परागत दलप्रति बढ्दो असन्तुष्टिकाबीच विसं २०८२ भदौ २३ र २४ गते ‘जेन-जी’ पुस्ताको नेतृत्वमा भएका आन्दोलनले वैकल्पिक राजनीतिक शक्तिप्रतिको आकर्षणलाई उजागर गर्यो । त्यसको परिणामस्वरूप, विसं २०८२ फाल्गुन २१ गते सम्पन्न आमनिर्वाचनमा मतदाताले नयाँ राजनीतिक विकल्पप्रति विश्वास व्यक्त गर्दै बालेन्द्र साह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्पष्ट बहुमत प्रदान गरे । सरकारले कार्यभार सम्हालेपछि डेलिभरीमा आधारित शासन को नारासहित १०० बुँदे सुधार कार्यक्रम, संघीय मन्त्रालय संख्या २२ बाट १७ मा सीमित गर्ने निर्णय, २०४८ सालयताका उच्च पदस्थ अधिकारीको सम्पत्ति छानबिन आयोग तथा कर्मचारी र सुरक्षाकर्मीका लागि पाक्षिक तलब प्रणालीजस्ता सुधारमुखी कार्यक्रम अघि सार्यो । तर, लोकतन्त्रको गुणस्तर केवल लोकप्रिय घोषणा वा नीतिगत पहलबाट मात्र मापन हुँदैन, यसको वास्तविक परीक्षण शक्ति पृथकीकरण, संवैधानिक मर्यादा र स्वतन्त्र संस्थाप्रतिको व्यवहारबाट हुन्छ । यही सन्दर्भमा वर्तमान सरकारका केही निर्णय र कार्यशैलीले कार्यपालिका, संवैधानिक सीमारेखा तथा संस्थागत सन्तुलनबारे नयाँ बहसलाई जन्म दिएका छन् । लोकतन्त्रको विकसित अवधारणामा स्वतन्त्र र निष्पक्ष न्यायपालिका प्रमुख आधारस्तम्भ हो । विसं २०८३ वैशाख २४ मा संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि संविधानको धारा १२९(३) मा रहेको ‘सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधान न्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुनेछ’ भन्ने प्रावधानलाई आधार बनाउँदै डा.मनोजकुमार शर्मालाई सिफारिश गरेको थियो, जसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरी नियुक्ति प्रक्रिया टुंग्यायो । उक्त निर्णयले वरिष्ठता परम्परा, योग्यता प्रणाली र न्यायिक स्वतन्त्रताबीचको सम्बन्धबारे व्यापक बहस उत्पन्न गरेको छ । प्रधानन्यायाधीश चयनमा वरिष्ठताको अभ्यास केवल प्रशासनिक विषय नभई न्यायपालिकाको संस्थागत स्वतन्त्रता र आन्तरिक विश्वाससँग पनि सम्बन्धित मानिन्छ । त्यसैले यस नियुक्तिले कार्यपालिका र न्यायपालिकाबीचको सम्बन्ध तथा शक्ति सन्तुलनबारे विभिन्न दृष्टिकोणबाट छलफलको विषय बनाएको छ । यस्तै, संसद् अधिवेशन आह्वान भइसकेको अवस्थामा अध्यादेशमार्फत कानुन संशोधन गरिनु, कार्यपालिका र संसद् सम्बन्ध तथा संसदीय प्रक्रियाको प्रयोगबारे समेत प्रश्न उठेका छन् । लोकतन्त्रमा संसद् जनसार्वभौमिकताको औपचारिक अभिव्यक्ति भएकाले नीतिनिर्माण प्रक्रियामा पारदर्शिता, संवाद र जवाफदेहिता अपेक्षित रहन्छ । सामाजिक व्यवस्थापन र संवेदनशील राष्ट्रिय विषयमा सरकारका निर्णय तथा अभिव्यक्ति निरन्तर सार्वजनिक परीक्षणका विषय रहन्छन् । परिणाममुखी शासन लोकतन्त्रको महत्त्वपूर्ण अपेक्षा भए पनि त्यसको कार्यान्वयन संवैधानिक प्रक्रिया, विधिको शासन, मानवअधिकार तथा संस्थागत सन्तुलनको सीमाभित्र हुन आवश्यक छ । लोकतन्त्र कुनै स्थिर अवधारणा होइन, यो समय, प्रविधि र नागरिक चेतनासँगै निरन्तर विकसित हुने प्रणाली हो । विगतमा निरंकुश शासनको अन्त्य लोकतन्त्रको प्रमुख लक्ष्य थियो भने आज भ्रष्टाचार, कुशासन, दण्डहीनता र बेरोजगारीविरुद्ध प्रभावकारी परिणाम दिनु यसको मुख्य दायित्व बनेको छ । तथापि, जनमतलाई शक्ति पृथकीकरण तथा संस्थागत नियन्त्रण र सन्तुलन कमजोर पार्ने अनुमतिपत्रका रूपमा बुझिनु अर्को गम्भीर विचलन हुनेछ । नागरिकको आलोचना लोकतन्त्रका लागि खतरा होइन, बरू लोकतान्त्रिक मूल्य, विधिको शासन र न्यायिक स्वतन्त्रतालाई बेवास्ता गर्ने राजनीतिक जडता तथा सर्वशक्तिमान बन्ने प्रवृत्तिले लोकतन्त्रलाई जोखिममा पार्छ । त्यसैले संवैधानिक मर्यादा र शक्ति पृथकीकरणको सीमाभित्र रहेर परिणाममुखी शासन प्रदान गर्नु आजको लोकतन्त्रको मूल विषय हो । (लेखक चान्दकुमार चौरसिया कानुनको विद्यार्थी हुनुहुन्छ ।)
लोकतन्त्रको बदलिँदो परिभाषा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






