राजनीतिलाई सस्तो लोकप्रियतावादबाट लोकतन्त्रको मूल बाटोमा फर्काउनुपर्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली राजनीतिलाई सस्तो लोकप्रियतावाद (पपुलिजम) बाट वास्तविक लोकतन्त्रतर्फ र देखावटी राजनीतिबाट नीतिगत सुधारतर्फ डो¥याउनुपर्ने बताउनुभएको छ। व्यक्तिगत चमत्कारका आधारमा समाजको दिगो रूपान्तरण सम्भव नहुने उल्लेख गर्दै उहाँले बलिया र प्रभावकारी संस्थाको निर्माणमा जोड दिनुभएको हो। शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै सभापति थापाले व्यक्तिकेन्द्रित चमत्कारिक दाबीले क्षणिक उत्साह ल्याउन सक्ने भए पनि स्थायी परिवर्तन संस्थागत सुदृढीकरणबाट मात्रै सम्भव हुने बताउनुभयो। प्रभावकारी संस्था निर्माणका लागि लोकतान्त्रिक संस्कार, राजनीतिक संस्कृति र संस्थागत प्रयास आवश्यक रहेको उल्लेख गर्दै उहाँले यस विषयमा गम्भीर राष्ट्रिय बहसको नेतृत्व नेपाली कांग्रेसले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “नेपाली राजनीतिलाई पपुलिजमबाट लोकतन्त्रतर्फ र देखावटी राजनीतिबाट सुधारमुखी राजनीतितर्फ लैजानुपर्नेछ। व्यक्तिको चमत्कारले क्षणिक परिवर्तन ल्याउन सक्छ, तर दिगो र स्थायी परिवर्तन बलिया तथा प्रभावकारी संस्थाहरूबाट मात्रै सम्भव हुन्छ,” उहाँले भन्नुभयो। ‘नेपालको आर्थिक शिथिलताबारे गम्भीर बहस आवश्यक’ सभापति थापाले मुलुकको आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै न्यून आर्थिक वृद्धिदर र कमजोर स्रोत परिचालनका कारण नेपालको अर्थतन्त्र लामो समयदेखि शिथिल अवस्थामा रहेको बताउनुभयो। नेपालले अपेक्षित गति लिन नसक्नुका कारणबारे गम्भीर बहस आवश्यक रहेको उल्लेख गर्दै उहाँले आर्थिक तथा सामाजिक समस्याको समाधानका लागि तथ्यमा आधारित समीक्षा र नीतिगत सुधारमा जोड दिनुभयो। “हाम्रो अर्थतन्त्र न्यून आर्थिक वृद्धि र कमजोर स्रोत परिचालनको अवस्थामा छ। नेपाल किन अगाडि बढ्न सकिरहेको छैन ? यसबारे गम्भीर बहस आवश्यक छ,” उहाँले भन्नुभयो। संवैधानिक ग्यारेन्टी हुँदाहुँदै विभेद किन कायम ? सभापति थापाले संविधानले मौलिक हक र सामाजिक सुरक्षाको प्रत्याभूति गरे पनि नेपाली समाजमा विभेदका पर्खालहरू कायम रहनु गम्भीर प्रश्न भएको बताउनुभयो। संवैधानिक व्यवस्था हुँदाहुँदै पनि सामाजिक विभेद अन्त्य हुन नसक्नुका कारणबारे गहिरो समीक्षा र विमर्श आवश्यक रहेको उहाँको भनाइ छ। उहाँले नेपाली कांग्रेस कुनै पनि जटिल राष्ट्रिय मुद्दा र बहसबाट पछि नहट्ने स्पष्ट पार्दै नागरिकका समसामयिक प्रश्नको वैचारिक उत्तर दिने पार्टीका रूपमा कांग्रेसलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “नेपाली कांग्रेस बहसबाट भाग्दैन, बहकिँदैन र गुनासो गरेर मात्रै बस्दैन। नेपाली समाजका आजका जटिल प्रश्नहरूको वैचारिक उत्तर दिने पार्टीका रूपमा नेपाली कांग्रेसलाई स्थापित गर्नेछु। यो मेरो अर्को प्रण हो,” थापाले भन्नुभयो। सभापति थापाले पार्टीलाई अलमल र निरर्थक गुनासोबाट मुक्त गर्दै जिम्मेवार विचार, नीतिगत सुधार र नागरिकका समस्याको समाधानमा केन्द्रित गराउने बताउनुभयो।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
काठमाडौं। नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । सेनाले शनिबार अपरान्ह फूलपाती हर्ष बढाई समारोह गरेको हो । यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो। त्यस्तै सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिका साथै ‘फूलपाती बढाइँ समारोह–२०८३’ लेखिएको व्यानर प्रदर्शन गरिएको थियो । समारोहमा सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो त्यस्तै इज्जत अर्पण ...
चचहुई...चचहुई ! कुपोण्डोलमा दशैंको उमङ्ग
• ललितपुरको कुपोण्डोलस्थित बागमती नदी किनारमा दशैंको अवसरमा लिङ्गे पिङ खेल्ने परम्परा पुनर्जीवित भएको छ। • बालबालिकासँगै ठूला मानिसहरू पनि पिङ खेल्न उत्साहित भएर उपस्थित भएका छन्। • पिङ खेल्ने परम्पराले दसैँको मौलिकता र सामूहिक उत्सवको भावना जीवन्त बनाइरहेको छ। ...

पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती
काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भ्यिाइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, ...

सीजेपीका संस्थापक अभिजित दिपके रिहा
शुक्रबार दर्जनौं समर्थकहरूसँगै आन्दोलनको नेतृत्व गरेर सेन्ट्रल दिल्लीतर्फ जाँदै गर्दा कन्नट प्लेसबाट पक्राउ परेकी नेहा बोरा पनि शनिबार रिहा भएकी छन् ...


