काठमाडौं, मंसिर १० । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गरेको छ। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज बसेको समितिको ३८औँ बैठकले बेपत्ता व्यक्तिहरूलाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। समितिले ४८ जिल्लाबाट यकिन भई आएका स्वदेशी नागरिकको विवरण तथा सातवटा विदेशी नियोगबाट प्राप्त विदेशी नागरिकको विवरणका आधारमा यस्तो सिफारिस गरेको जनाएको छ। विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत्यु घोषणा गर्न सक्ने व्यवस्था छ। यसअघि स्वदेशी नागरिकका हकमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा विवरण संकलन गरिएको थियो। विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट सूची प्राप्त गरिएको थियो। त्यस्ता विवरणमाथि दाबी पेस गर्न प्राधिकरणले दुई चरणमा सातदिने सूचना प्रकाशनसमेत गरेको थियो। बैठकले ‘सबैका लागि पूर्वसूचना’ (Early Warning for All) राष्ट्रिय मार्गचित्र २०८३–२०८७ पनि स्वीकृत गरेको छ। मार्गचित्रले २०८७ सालसम्म नेपालका सबै समुदायमा प्रकोपसम्बन्धी पूर्वसूचना पुर्याउने लक्ष्य लिएको छ। यसका लागि बहुप्रकोप पूर्वसूचना प्रणालीको विस्तार, स्तरोन्नति र प्रभावकारी सञ्चालनमा जोड दिइएको छ। त्यसैगरी, बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ र कार्ययोजना २०८३/८४–२०९१/९२ तथा वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना २०८३–२०८७ समेत स्वीकृत गरेको छ।
रसुवा–भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस

Read Complete Original Article
Published originally on जनताटाइम्स






