युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन

काठमाडौं । भारतले मानसिक स्वास्थ्य र लैङ्गिक न्यायजस्ता विषयमा बोल्ने युवाले यातना तथा सामाजिक कलङ्कको सामना गर्नुपरेको दाबी समेटिएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनप्रति कडा आपत्ति जनाएको छ । संयुक्त राष्ट्रसङ्घकी विशेष प्रतिवेदक जीना रोमेरोले तयार पारेको प्रतिवेदनका निष्कर्षमाथि प्रश्न उठाउँदै भारतले ती आरोप अज्ञात र अपुष्ट सूचनामा आधारित रहेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाअन्तर्गत तेस्रो समितिको ८१औँ सत्रमा भएको छलफलका क्रममा भारतीय स्थायी नियोगका प्रथम सचिव अनुज स्वरूपले प्रतिवेदनको विश्वसनीयता र त्यसका निष्कर्ष तयार पार्ने प्रक्रियामाथि प्रश्न उठाएका थिए । उनले भारतको विशाल युवा जनसङ्ख्याबारे व्यापक आरोप लगाउन अज्ञात स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन नहुने बताएका थिए । स्वरूपले भारतीय संविधानको धारा १९ ले नागरिकलाई शान्तिपूर्ण रूपमा भेला हुने, सङ्गठन खोल्ने र अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित गरेको उल्लेख गरेका थिए । उनका अनुसार स्वतन्त्र न्यायपालिका, स्वतन्त्र सञ्चारमाध्यम र सशक्त राष्ट्रिय मानव अधिकार आयोगले यी अधिकारको संरक्षण गर्दै आएका छन् । भारतीय प्रतिनिधिले प्रतिवेदनमा मानसिक स्वास्थ्य र लैङ्गिक न्यायका विषयमा बोल्ने युवाले यातना वा सामाजिक कलङ्क भोगेको दाबीको समर्थनमा अज्ञात व्यक्तिका भनाइ मात्र उल्लेख गरिएको बताएका थिए । ’यो प्रमाण होइन । यो त अफवाहलाई संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनको आवरण दिनुजस्तै हो,’ स्वरूपले भनेका थिए । उनले यस्ता प्रतिवेदन तयार गर्दा तथ्यको पुष्टि, निष्पक्षता र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्ने बताएका थिए । अपुष्ट दाबीले संयुक्त राष्ट्रसङ्घ र यसका संस्थाको प्रतिष्ठामा असर पार्न सक्ने उनको भनाइ थियो । भारतले युवाका लागि राजनीतिक असहमति व्यक्त गर्ने पर्याप्त ठाउँ नरहेको प्रतिवेदनको आकलनलाई पनि चुनौती दिएको थियो । स्वरूपले भारतीय युवाहरू राजनीतिक आन्दोलनमा सहभागी हुने र वरिष्ठ सरकारी नेताहरूसँग संवाद गर्ने गरेको उदाहरण दिएका थिए । उनले व्यङ्ग्यात्मक राजनीतिक समूह ‘ककरोच जनता पार्टी’का प्रतिनिधिले जुलाईमा भएका प्रदर्शनपछि केन्द्रीय मन्त्रीहरूसँग छलफल गरेको उल्लेख गरेका थिए । युवाले सरकारको आलोचना गर्न, राजधानीमा प्रदर्शन गर्न र त्यसपछि वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्न सक्ने अवस्थाले राजनीतिक असहमति व्यक्त गर्ने अवसर रहेको देखाउने उनको तर्क थियो । भारतले विद्यार्थी प्रदर्शन र सार्वजनिक परीक्षामा भएका भनिएका अनियमितताबारे सरकारले चालेका कदमलाई पनि प्रतिवेदनको प्रतिवादमा प्रस्तुत गरेको थियो । स्वरूपले सरकारले युवासँग रचनात्मक संवाद गर्दै परीक्षा अनियमिततासँग सम्बन्धित समस्या समाधान गर्न पहल गरेको बताएका थिए । उनले ‘विकसित भारत युवा नेता संवाद’को उदाहरण दिँदै उक्त पहलमा ५० लाखभन्दा बढी युवाले राष्ट्रिय प्राथमिकताबारे आफ्ना विचार प्रस्तुत गरेको उल्लेख गरेका थिए । जीना रोमेरो कोलम्बियाकी मानव अधिकारकर्मी हुन् । उनी संयुक्त राष्ट्रसङ्घकी विशेष प्रतिवेदकका रूपमा शान्तिपूर्ण सभा गर्न र सङ्गठन खोल्न पाउने स्वतन्त्रतासम्बन्धी अधिकारमा काम गर्छिन् । भारतले रोमेरोलाई प्रतिवेदनमा निष्कर्ष निकाल्नुअघि तथ्यको पुष्टि गर्न तथा सबै दाबीको मूल्याङ्कन गर्दा निष्पक्षता र कठोर अनुसन्धानका मापदण्ड अपनाउन आग्रह गरेको छ । The post युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती
काठमाडौँ, असोज ३१ गते । बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याइएको छ । परम्परागत विधिअनुसार पूजाअर्चना गरी गोरखाबाट पठाइए... ...

तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका
दशैंका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहको निरन्तर पहलपछि चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई सम्बोधन गर्दै नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो। निर्णयअनुसार अक्टोबर १८ देखि २० (कात्तिक १–३) सम्म तीन दिन त... ...

थपिए एक लाख ८७ हजार मतदाता
गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । ...

भेरी करिडोरमा अटो दुर्घटना : दुईको मृत्यु, तीन जना गम्भीर घाइते
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–८ मालुस्थित भेरी करिडोर सडक खण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीका अनुसार बिहान करिब ११ः१५ बजे दुर्घटना भएको हो। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडीदेखि जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु प्र ०१–००१ ह ०५२९ नम्बरको ...


