कायरो । आगामी ६ महिनामा विश्वका १६ देशमा भोकमरीको अवस्था थप गम्भीर बन्ने संयुक्त राष्ट्रसंघका खाद्यसम्बन्धी निकायहरूले चेतावनी दिएका छन् । युद्धग्रस्त सुडान र यमनसहित पाँच देशमा भोकमरीको जोखिम सबैभन्दा उच्च रहेको उनीहरूको निष्कर्ष छ । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) र विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सशस्त्र द्वन्द्व, मध्यपूर्वको युद्धका कारण बढेको इन्धनको मूल्य र मानवीय सहायतामा भएको ठूलो कटौतीले खाद्य संकट थप चर्काउने जोखिम छ । २०२५ डिसेम्बरदेखि मे २०२६ सम्मको अवस्था समेटेको ‘हंगर हटस्पट्स’ प्रतिवेदनले सुडान, यमन, दक्षिण सुडान, सोमालिया र उत्तरी नाइजेरियालाई भोकमरीको सबैभन्दा उच्च जोखिममा रहेका क्षेत्रका रूपमा पहिचान गरेको छ । यी पाँचै देश तथा क्षेत्र सन् २०२२ यता पटक–पटक उच्च जोखिमको सूचीमा पर्दै आएका छन् । अक्टोबार २०२५ मा गाजामा युद्धविराम भएपछि प्यालेस्टिनी क्षेत्रलाई जोखिमको एक तह तल झारिएको छ । तर गाजाको कुल जनसंख्याको ६७ प्रतिशत अझै खाद्य संकट वा त्योभन्दा गम्भीर अवस्थाबाट प्रभावित रहेको प्रतिवेदनमा उल्लेख छ । युद्धविरामपछि देखिएको सुधारसमेत नाजुक रहेको राष्ट्रसंघले जनाएको छ । सुडानमा भोकमरीको जोखिम कायमै प्रतिवेदनअनुसार सुडानको उत्तरी डार्फर र दक्षिण कोर्डोफानका १३ क्षेत्रमा जनवरीसम्म भोकमरीको जोखिम कायम रहनेछ । पछिल्लो राष्ट्रव्यापी विश्लेषणअनुसार सुडानका करिब एक करोड ९५ लाख मानिस अर्थात् कुल जनसंख्याको ४१ प्रतिशत खाद्य संकट वा त्योभन्दा गम्भीर अवस्थाबाट प्रभावित छन् । दक्षिण डार्फरको पूर्वी जेबेल मार्रा क्षेत्रका विस्थापित व्यक्तिहरूका दुई शिविरमा तीव्र कुपोषणको दर भोकमरीको सीमा निर्धारण गर्ने स्तरभन्दा माथि पुगेको छ । युद्ध र पश्चिम एसियाको द्वन्द्वसँग सम्बन्धित इन्धनको मूल्यवृद्धिका कारण सुडानमा ज्वार (सोरघम) को मूल्य एक वर्षमै दोब्बरभन्दा बढी भएको छ । डिजेलको मूल्यसमेत अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी पुगेको प्रतिवेदनमा उल्लेख छ । एल निनोका कारण उत्पन्न खडेरीले कृषि उत्पादनमा थप चुनौती सिर्जना गरेको छ । प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढ्ने मौसमी प्रक्रियाका रूपमा रहेको एल निनोले विश्वभरको मौसम प्रणालीमा असर पार्छ । यसका कारण सुडानका प्रमुख कृषि क्षेत्रमध्ये सेन्नार राज्यको ५५ प्रतिशतसम्म र गेदारेफ राज्यको ७० प्रतिशतसम्म खेतीयोग्य जमिन प्रभावित भएको छ । खाद्य तथा कृषि संगठनकी उपमहानिर्देशक बेथ बेचडोलले एसोसिएटेड प्रेस (एपी) सँग कुरा गर्दै युद्धका कारण खाद्य उत्पादनमा परेको असरलाई एल निनोसँग सम्बन्धित खडेरीले थप गम्भीर बनाउने जोखिम रहेको बताइन् । यमनमा युद्ध र समुद्री ढुवानी अवरोधले संकट चर्काउँदै यमनमा गत जुलाईमा पुनः सुरु भएको लडाइँ विभिन्न मोर्चामा फैलिँदै गएकाले खाद्य संकट थप गहिरिने प्रतिवेदनले जनाएको छ । सन् २०१४ मा इरान समर्थित हुथी विद्रोहीहरूले राजधानी साना कब्जा गरेपछि यमनमा युद्ध सुरु भएको थियो । त्यसको अर्को वर्ष साउदी अरब नेतृत्वको गठबन्धनले सैन्य हस्तक्षेप गरेको थियो । दक्षिण पश्चिमी सहर ताइजलाई घेराबन्दीमा राखिएपछि त्यहाँ पनि नाकाबन्दीग्रस्त क्षेत्रको जस्तै अवस्था सिर्जना भएको छ । द्वन्द्व चर्किएयता तीन लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । तीमध्ये अधिकांश ताइज, लहिज र अदन प्रान्तका बासिन्दा हुन् ।सरकारको नियन्त्रणमा रहेका क्षेत्रमा मात्रै १८ लाख मानिसले खाद्य असुरक्षाको आपत्कालीन अवस्था सामना गरिरहेका छन् । अघिल्लो विश्लेषणमा यो संख्या १६ लाख थियो । हुथी विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रको भने पछिल्लो खाद्य अवस्थाबारे नयाँ मूल्यांकन हुन सकेको छैन । द्वन्द्व चर्किएसँगै ती क्षेत्रमा मानवीय सहायता संस्थाहरूको पहुँच कठिन बनेको छ । यसअघि फेब्रुअरीसम्मको अवधिलाई समेटेर गरिएको अन्तिम राष्ट्रव्यापी अनुमानअनुसार यमनका एक करोड ८३ लाख मानिस अर्थात् कुल जनसंख्याको आधाभन्दा बढी खाद्य संकट वा त्योभन्दा गम्भीर अवस्थाबाट प्रभावित थिए । बेचडोलका अनुसार यमनका आवश्यकतामा परेका मानिससम्म सहायता पुर्याउन भौगोलिकभन्दा राजनीतिक अवरोध बढी जिम्मेवार छ । उनले संयुक्त राष्ट्रसंघका अन्य निकायका कर्मचारीसमेत हिरासतमा राखिएको उल्लेख गरिन् । हुथी विद्रोहीहरूले संयुक्त राष्ट्रसंघका ७३ कर्मचारीलाई अझै नियन्त्रणमा राखेका छन् । तीमध्ये आठ जना संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयका कर्मचारी हुन् । यमन खाद्यान्न र इन्धनका लागि आयातमा अत्यधिक निर्भर छ । त्यसैले लालसागरमा व्यापारिक जहाजमाथि भइरहेका आक्रमणले देशको आपूर्ति प्रणालीमा थप जोखिम सिर्जना गरेको प्रतिवेदनमा उल्लेख छ । हाल हर्मुज जलमार्ग, लालसागर र कालासागरमा समुद्री ढुवानी प्रभावित भएको छ । खाडी क्षेत्रबाट हुने मलको आपूर्तिसमेत लगभग ठप्प भएको छ । सहायता कटौतीले मानवीय संकट थप गम्भीर प्रमुख दातृ राष्ट्रहरूले आर्थिक सहयोग घटाएपछि मानवीय सहायता कार्यक्रम प्रभावित भएका छन् । सबैभन्दा उच्च जोखिममा रहेका पाँच देशमा खाद्य तथा पोषणसम्बन्धी सहायता सन् २०२२ देखि २०२५ सम्म करिब ६२ प्रतिशतले घटेको छ । यमनमा भने सहायता कटौतीको दर ७९ प्रतिशत पुगेको छ । पछिल्ला वर्षमा विभिन्न दातृ सरकारको प्राथमिकतामा आएको परिवर्तनले मानवीय तथा विकास सहायता कार्यक्रमबाट अर्बौं डलर कटौती भएको बेचडोलले बताइन् । यसका कारण सहायता निकायहरूले विगतको तुलनामा कम मानिससम्म मात्रै राहत पुर्याउन सक्ने अवस्था सिर्जना भएको छ । विपद् आएपछि मात्रै राहत तथा उद्धारमा जुट्नुभन्दा सम्भावित संकटको पूर्वानुमान गरी समयमै तयारी गर्नु आवश्यक रहेको बेचडोलको भनाइ छ । एपी
युद्धग्रस्त १६ देशमा भोकमरीको संकट गहिरिने राष्ट्रसंघको चेतावनी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





