म्याग्दी। कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्। परम्परागत खाद्यबालीको खेती छाडेर सुन्तलाखेतीमा लागेका सुर्केमेलाका खेतबारीको अवस्थासँगै किसानको जीवनशैली पनि फेरिएको हो। सुर्केमेलाकी ६५ वर्षीया बालकुमारी रोकाले १४ वर्षअघि सात मुरी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोपेकी थिइन्। जनशक्ति अभाव भएपछि उनले विसं २०६९ मा खाद्यबालीको विकल्पमा सुन्तलाखेती सुरु गरेकी हुन् हो। अहिले उनको बगैँचामा रहेका दुई सय ५० बोटले वार्षिक रु। सात लाख आम्दानी दिन थालेका छन्। खाद्यबालीको तुलनामा सुन्तलाखेतीबाट कम मेहनतमा राम्रो आम्दानी हुने उनको अनुभव छ। “सात मुरी धान फल्ने खेतमा लगाएको सुन्तलाले अहिले वर्षमा रु। सात लाख आम्दानी दिन थालेको छ,” उनले भनिन्, “छोराछोरी विदेश गए पनि मलाई सुन्तलाखेतीमै रमाइलो लागेको छ।” सुर्केमेलाकै द्रोपती थापाले पनि सुन्तलाखेतीबाट आम्दानी बढाउँदै जानुभएको छ। गत वर्ष रु. एक लाख ५० हजारको सुन्तला बिक्री गरेकी उनले यस वर्ष रु. तीन लाख बराबरको बिक्री हुने अनुमान गरेकी छन्। “यसपालि फल दिने बोट थपिएका छन्। उत्पादन पनि राम्रो भएकाले आम्दानी बढ्ने अनुमान छ,” उनले भनिन्, “घरव्यवहार चलाउन सुन्तलाखेतीले धेरै सजिलो बनाएको छ।” सुर्केमेलामा व्यावसायिक सुन्तलाखेती विस्तार गर्ने पहिलो किसान हुन्, ४६ वर्षीय डिलबहादुर केसी। उनले १५ वर्षअघि अंशमा पाएको धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्नुभएको थियो। त्यसबेला आफन्त र छिमेकीले उनको निर्णयको विरोध गरेका थिए। “धान फल्ने खेतमा काँडा रोपेर छोराछोरी भोकै पार्ने भयौ भनेर गाली गरेका थिए,” उनले विगत सम्झँदै भने “अहिले सुन्तला बेचेर आम्दानी गरेको देख्दा त्यतिबेला गाली गर्नेहरू नै दङ्ग परेका छन्।” २० रोपनी खेतबारीमा चार सय ५० बोट सुन्तला लगाएका केसीले यस वर्ष रु. १५ लाख भन्दा बढीको सुन्तला बिक्री गरेका छन्। पाँच वर्ष संयुक्त अरब इमिरेट्स (युएई) र मलेसियामा काम गरेर फर्किएका उनले सुन्तलाखेतीसँगै केसी मौरीपालन स्रोत केन्द्र पनि सञ्चालन गरेका छन्। केसीका अनुसार सुर्केमेलामा १६ जना किसानले व्यावसायिक सुन्तलाखेती गरेका छन्। चार सय बोट सुन्तला लगाएका धनराज पुनले पनि परम्परागत अन्नबालीको तुलनामा सुन्तलाबाट धेरै गुणा बढी आम्दानी हुने बताए। वर्षमा आठदेखि १० मुरी धान फल्ने खेतमा सुन्तलाखेती गर्दा वार्षिक रु। १० लाख भन्दा बढी आम्दानी हुने उनको भनाइ छ। कतिपय किसानले पोखरा, बेनी र बागलुङमा घरघडेरी जोडेका छन्। छोराछोरीलाई राम्रा विद्यालय, कलेजमा पढाएका छन्। सिँचाइ सुविधा, उपयुक्त भूगोल र हावापानीका कारण सुर्केमेला सुन्तलाखेतीका लागि अनुकूल क्षेत्र मानिन्छ। यहाँ उत्पादन भएको रसिलो र स्वादिलो सुन्तला काठमाडौँ, पोखरा र बेनीका व्यापारीले बगैँचाबाटै खरिद गरेर लैजाने गरेका छन्। सुर्केमेलामा म्याग्दीमा सबैभन्दा पहिले सुन्तला टिप्ने गरिन्छ। छिटो पाक्ने, रंग र स्वाद आउने भएकाले सुर्केमेलाका बगैचा मंसिरको दोस्रो साताभित्रै रित्तिने गरेका छन्। सडक यातायातको सुविधासँगै बजारको समस्या नभएपछि किसान थप क्षेत्रफलमा सुन्तलाखेती विस्तार गर्न उत्साहित भएका छन्। सुन्तलाखेती विस्तारमा कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाले पनि सहयोग गरेका छन्। बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्का (भगवान)का अनुसार किसानलाई अनुदानमा बिरुवा वितरण, प्राविधिक तालिम र कृषि औजार उपलब्ध गराइएको छ। बालमखोला सिँचाइ योजना निर्माण भएपछि सहज भएको छ। “सुर्केमेलासहित बास्कुना र थामडाँडामा पनि व्यावसायिक सुन्तलाखेती विस्तार भएको छ,” उनले भने, “उत्पादन भएको सुन्तला बजारमा पुर्याउन र स्थानीयको आवतजावत सहज बनाउन सडक स्तरोन्नति गर्न लागिएको हो।” दुःखेखोलादेखि सुर्केमेला, बास्कुना र थामडाँडा हुँदै मरेक जोड्ने सडक स्तरोन्नति योजना यसै वर्षदेखि सुरु हुँदैछ। गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको लागत साझेदारीमा तीन वर्षसम्म सञ्चालन हुने योजनाका लागि चालु आर्थिक वर्षमा रु. एक करोड ६० लाख विनियोजन भएको छ। तीन वर्षमा रु. पाँच करोड खर्च हुने गरी स्रोत सुनिश्चित भएको उक्त योजना कार्यान्वयनका लागि ठेक्का सम्झौताको प्रक्रिया अघि बढेको वडाध्यक्ष खड्काले बताए। उनले सुर्केमेला र सिंगा जोड्ने सडक पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर संघीय सरकारमा प्रस्ताव पेस गरेको बताए। परम्परागत अन्नबालीबाट अपेक्षित आम्दानी नहुँदा विकल्प खोजेका सुर्केमेलाका किसानका लागि सुन्तलाखेती अहिले आयआर्जनको भरपर्दो माध्यम बनेको छ। बाझिने अवस्थामा पुगेका खेतबारीमा सुन्तलाका बोट हुर्किएका छन्। किसानको मेहनत र स्थानीय सरकारको सहयोगले सुर्केमेलाको कृषि पहिचानसमेत बदलिँदै गएको हो। युवाहरूको वैदेशिक रोजगारीप्रति आकर्षण बढ्दा सिर्जना भएको कृषि मजदुरहरुको अभाव सुन्तला खेती गरेका सुर्केमेलाका किसानका लागि चुनौती बनेको छ।
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन

Read Complete Original Article
Published originally on नेपालन्युज






