काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टर्कीको अन्टाल्यामा हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ मा नेपालले जलवायु न्याय, पर्वतीय सवाल, हानि तथा नोक्सानी र जलवायु वित्तलाई प्रमुखताका साथ उठाउने बताएकी छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले नोभेम्बर ९ देखि २० सम्म हुने सम्मेलनमा नेपालको जलवायु संकट र राष्ट्रिय प्राथमिकता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिने जानकारी दिइन् । सम्मेलनको पहिलो साता परराष्ट्रमन्त्री शिशिर खनाल र दोस्रो साता मन्त्री चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने कार्यक्रम छ । नेपाल र भुटानले संयुक्त रूपमा १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिसँग सम्बन्धित पर्वतीय मुद्दा अघि बढाउने भएका छन् । भोटेकोशी–रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट भएको मानवीय, आर्थिक तथा गैरआर्थिक क्षतिका विषय पनि सम्मेलनमा उठाइने मन्त्री चौधरीले बताइन् । नेपालले आफ्नै राष्ट्रिय प्याभिलियन स्थापना गरी ४० भन्दा बढी छलफल तथा कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । नोभेम्बर १२ मा ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानसँगको सहकार्यमा पर्वतीय मुद्दासम्बन्धी उच्चस्तरीय कार्यक्रम पनि आयोजना हुनेछ । त्यस्तै, नेपाल र कोरिया सरकारबीच कार्बन व्यापारसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्री चौधरीले जानकारी दिइन् । उनले कोप–३१ लाई जलवायु न्यायको माग सशक्त बनाउने र पर्वतीय राष्ट्रका साझा सवाल अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने अवसरका रूपमा उपयोग गरिने बताइन् । २- नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, सम्पदा र पर्यटकीय गन्तव्यलाई विश्वभर चिनाउने उद्देश्यले नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा ‘भिजिट नेपाल’ अभियान सुरु गरिएको छ । शुक्रबार सुरु भएको अभियान सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुनेछ। अभियानमार्फत डिजिटल कन्टेन्ट क्रियटर्स र सामाजिक सञ्जालको उपयोग गरी नेपालको पर्यटन प्रवर्द्धन गरिनेछ । अभियानअन्तर्गत युरोप, मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाका नौ जना अन्तर्राष्ट्रिय कन्टेन्ट क्रियटर्सले नेपालका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी आफ्ना अनुभव विश्वभर साझा गरिरहेका छन् । उनीहरू अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म नेपालमा रहनेछन् । अभियानमा छुट्टै ह्यासट्याग पृष्ठ सञ्चालन, नेपाली कलाकार तथा स्थानीय सिर्जनाकर्मीसँग सहकार्य र पर्यटकीय गन्तव्यबाट प्रत्यक्ष प्रसारणसमेत गरिनेछ । यसबाट पर्यटन प्रवर्द्धनसँगै स्थानीय व्यवसायी र क्रियटर्सलाई डिजिटल अर्थतन्त्रसँग जोड्ने अपेक्षा गरिएको छ । ३- शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन प्रस्ताव सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय गरेको छ । यसअघि सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको संशोधन प्रस्ताव त्यहाँबाट प्राप्त भएपछि शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयले कानुन मन्त्रालयमा पठाउने निर्णय गरेको हो । शिक्षक, विद्यार्थी तथा समग्र शिक्षा क्षेत्रका सरोकारवालाले उठाउँदै आएका गुनासा र समस्यालाई सम्बोधन गर्ने उद्देश्यले मन्त्रालयले नियमावली संशोधनको प्रक्रिया अघि बढाएको जनाएको छ । कानुन मन्त्रालयको सहमतिपछि संशोधन प्रस्तावले थप प्रक्रिया अघि बढाउनेछ । ४- साइबर ठगी तथा अनलाइन आर्थिक अपराध नियन्त्रणका लागि नेपालमा ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा आएको छ । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीको प्रमुख आतिथ्यमा शुक्रबारदेखि केन्द्रले सेवा प्रारम्भ गरेको हो । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार २०८३ असोज २३ गते स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना र कार्यसञ्चालनसम्बन्धी दिग्दर्शन, २०८३’ बमोजिम केन्द्र स्थापना गरिएको हो । केन्द्रमा नियामक निकाय, प्रहरी, बैंक, विद्युतीय भुक्तानी सेवा प्रदायक, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिहरू एउटै भौतिक कक्षमा बसेर एकीकृत रूपमा काम गर्नेछन् । साइबर स्क्याम तथा ठगीका घटनामा तत्काल प्रतिकार्य गरी सम्भावित जोखिम न्यूनीकरण गर्ने र डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित तथा विश्वसनीय बनाउने केन्द्रको मुख्य उद्देश्य रहेको छ । केन्द्रले साइबर ठगीसम्बन्धी उजुरी तथा सूचना चौबीसै घण्टा प्राप्त गर्ने व्यवस्था मिलाएको छ । यसका लागि सम्पर्क अधिकृत तोक्नुका साथै १२४७ आकस्मिक फोन नम्बरसमेत सञ्चालनमा ल्याइएको छ । ५- राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डीपी) अर्यालले भेटवार्ता गरेका छन् । शुक्रबार, राष्ट्रपति भवनमा भएको भेटमा संसद्को अधिवेशन आह्वान, संसद् सञ्चालन र अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतका कार्यक्रमबारे छलफल भएको हो । भेटका क्रममा सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए । त्यसैगरी, तान्जानियाको अरुसामा सम्पन्न अन्तरव्यवस्थापिका सङ्घको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि सभामुख अर्यालले जानकारी गराएका थिए । भेटमा संसद्को अधिवेशन आह्वान तथा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो । सभामुख अर्यालले राजनीतिक दलहरूसँगको छलफलका क्रममा संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी राष्ट्रपति पौडेललाई गराएका थिए । यसैगरी, सातवटै प्रदेशका सभामुख, उपसभामुख तथा प्रदेशसभाका अन्य पदाधिकारीसँग राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाबारे पनि उनले जानकारी गराएका थिए । भेटका क्रममा राष्ट्रपति पौडेलले संसद्मा धेरै बहस र छलफल हुन सके लोकतन्त्र थप बलियो हुने बताएका थिए । ६- नेपाली कांग्रेसले गत भदौ १० गतेको आकस्मिक बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको अवस्था बुझ्न छठ पर्वलगत्तै तीनवटै जिल्लाका प्रभावित बस्तीमा पुग्ने निर्णय गरेको छ । पार्टी सभापति गगन थापाको उपस्थितिमा शुक्रबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा अन्तरक्रिया गर्ने निर्णय गरेको हो । बैठकमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता, बाढी प्रभावित तीन जिल्लाका केन्द्रीय सदस्य, संघीय सांसद, जिल्ला सभापति तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए । बैठकमा बाढीपहिरोबाट प्रभावित नागरिकको अवस्था, पुनःस्थापना, सार्वजनिक सेवा प्रवाह र पुनर्निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिइएको थियो । प्रभावित नागरिकको पीडा र समस्याप्रति पार्टी संवेदनशील रहेको जनाउँदै उनीहरूको जीवन सहज बनाउने, पुनःस्थापना सुनिश्चित गर्ने र पुनर्निर्माण कार्यलाई गति दिन सरकारलाई निरन्तर खबरदारी गर्ने कांग्रेसले जनाएको छ । बैठकले प्रभावित परिवारका लागि ‘न्यानो कपडा अभियान’ र ‘मानसिक स्वास्थ्य परामर्श अभियान’ सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । छठ पर्वलगत्तै प्रभावित गाउँ तथा बस्तीमा पुगेर स्थानीयसँग अन्तरक्रिया गरेपछि पुनःस्थापना र पुनर्निर्माणका लागि पार्टीले लिनुपर्ने पहलकदमी तय गरिने कांग्रेसले जनाएको छ । प्रभावित नागरिकलाई आवश्यक सहयोग, सहकार्य र सहजीकरणका कामलाई पार्टीका तर्फबाट प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता पनि बैठकले व्यक्त गरेको छ । ७- मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा रहेको सरकारबाट नेकपाले समर्थन फिर्ता लिने निर्णय गरेको छ । नेकपाको मधेश प्रदेश संसदीय दलको शुक्रबारको भचुर्अल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुको राजीनामा बुझाको हो । मधेश प्रदेश सरकारमा नेकपाका चार मन्त्री छन् । कांग्रेसको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारबाट यसअघि एमालेले समर्थन फिर्ता लिइसकेको छ । नेकपा पनि सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवको सरकार थप संकटमा परेको छ । मुख्यमन्त्री यादवले कात्तिक २८ गतेभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यता रहेको छ । ८- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारतसहित तीन देशका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा भारतका राजदूत सुधाकर दलेला, लाओ जनगणतान्त्रिक गणतन्त्रका गैरआवासीय राजदूत भिथाया सायाभोङ र पानामाका गैरआवासीय राजदूत अलोन्सो कोरिया मिगुएलले आ–आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । समारोहमा राष्ट्रपति पौडेलले तीनै देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र ग्रहण गरेका थिए । ९- सन् २०२७ मा आयोजना हुने आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपको छनोटअन्तर्गत प्लेअफ प्रतियोगिता नेपालमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले डिसेम्बर ४ देखि २१ सम्म नेपालमा प्रतियोगिता आयोजना हुने जानकारी दिदै खेल तालिका समेत सार्बजनिक गरिएको हो । प्रतियोगितामा नेपालसहित आठ टोली सहभागी हुनेछन् । जसमा नेपाल, इटाली, नामिबिया, युगान्डा, क्यानडा, कुवेत, जर्सी र संयुक्त अरब इमिरेट्स (यूएई) ले ग्लोबल छनोटमा बाँकी रहेका चार स्थानका लागि प्रतिस्पर्धा गर्ने तय भएको छ । प्रतियोगिताका खेल काठमाडौंको टियु क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् । उद्घाटन खेलमा डिसेम्बर ४ मा नेपालले टियु क्रिकेट मैदानमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन माथिल्लो मूलपानी क्रिकेट मैदानमा नामिबिया र युगान्डाबीच खेल हुनेछ । नेपालले डिसेम्बर ६ मा युगान्डा, १० मा यूएई, १२ मा जर्सी, १४ मा क्यानडा, १८ मा नामिबिया र २१ मा कुवेतसँग खेल्नेछ । नेपालका सबै खेल टियु क्रिकेट मैदानमा हुनेछन् । डिसेम्बर ५ मा यूएई र जर्सीबीच टियु मैदानमा तथा कुवेत र क्यानडाबीच माथिल्लो मूलपानीमा खेल हुनेछ । डिसेम्बर ७ मा कुवेत र जर्सी तथा क्यानडा र यूएईबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, डिसेम्बर ९ मा क्यानडा र इटाली तथा जर्सी र युगान्डा, १० मा नेपाल र यूएई तथा कुवेत र नामिबिया, १२ मा नेपाल र जर्सी तथा नामिबिया र क्यानडाबीच खेल हुनेछ। डिसेम्बर १३ मा युगान्डा र कुवेत तथा यूएई र इटाली, १४ मा नेपाल र क्यानडा तथा जर्सी र नामिबिया, १५ मा युगान्डा र इटाली तथा यूएई र कुवेतबीच प्रतिस्पर्धा हुनेछ । डिसेम्बर १७ मा इटाली र कुवेत तथा जर्सी र क्यानडा, १८ मा नेपाल र नामिबिया तथा युगान्डा र यूएई, २० मा नामिबिया र यूएई तथा इटाली र जर्सीबीच खेल हुनेछ। प्रतियोगिताको अन्तिम दिन डिसेम्बर २१ मा नेपाल र कुवेत तथा क्यानडा र युगान्डाबीच प्रतिस्पर्धा हुनेछ । ग्लोबल छनोटमा यसअघि नै वेस्ट इन्डिज, आयरल्यान्ड, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले स्थान सुरक्षित गरिसकेका छन् । वेस्ट इन्डिज र आयरल्यान्डले सन् २०२७ को विश्वकपमा स्वतः छनोट भएका टोलीबाहेकका उच्च वरीयताका टोलीका रूपमा ग्लोबल छनोटमा स्थान बनाएका हुन् । दक्षिण अफ्रिका र जिम्बाब्वे आयोजक तथा पूर्ण सदस्य राष्ट्रका रूपमा स्वतः छनोट भएका छन् । अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा शीर्ष चार स्थान हासिल गर्दै ग्लोबल छनोटमा प्रवेश गरेका हुन् । नेपालमा हुने प्लेअफबाट छनोट भएका चार टोलीसहित ग्लोबल छनोटमा १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । ग्लोबल छनोटको विजेता टोलीले सन् २०२७ को विश्वकपको समूह चरणमा सिधै स्थान बनाउनेछ । दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोली भने नयाँ संरचनाअनुसार गठन गरिएको सुपर सिरिजमा सहभागी हुनेछन् । सन् २०२७ को पुरुष क्रिकेट विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा अक्टोबर २ देखि नोभेम्बर २१ सम्म आयोजना हुनेछ। प्रतियोगितामा १४ टोली सहभागी हुनेछन् भने १२ वटा मैदानमा कुल ५७ खेल सञ्चालन हुनेछन् । १०- सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा कर्णाली याक्सलाई पराजित गरेको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा सुदूरपश्चिले कर्णालीलाई ३९ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछाएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाउदै १३७ रन बनाएको थियो । कर्णालीका लागि एनपीएल डेभ्यु गरेका डेभिड मिलरले अविजित ९३ रन बनाएपनि टिमलाई जित भने दिलाउन सकेनन् । मिलरले ५५ बल खेल्दै ७ छक्का र ५ चौकासहित ९३ रन बनाएका थिए । उनलाई कर्णालीका अन्य ब्याट्सम्यानले साथ दिन सकेनन् । कर्णालीका दिपक डुम्रेले १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए । त्यस्तै सुदूरपश्चिमका बलर स्कट कुगगेलनले २ विकेट लिएका थिए भने हेमन्त धामी, अनिल खरेल, दिपेन्द्र सिंह ऐरी, थरिन्दु रत्नायाके र अविनाश बोहोराले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । सुदूरपश्चिमका लागि सैफ जैबले ३५ रन बनाए भने विनोद भण्डारीले २७, ब्रान्डन म्याकमुलेनले २४, इशान पाण्डेले २३, थरिन्दु रत्नायकेले अविजित २२ रन बनाएका थिए । त्यसैगरी कर्णालीका बलर मार्क वाटले २ विकेट लिए भने नन्दन यादव, हुसैन तलत, पवन सराफ र सुर्य तामाङले एक एक विकेट लिएका थिए । यो जितले सुदूरपश्चिमलाई ठुलो राहत दिएको छ । सुदूरपश्चिमको ५ खेलमा ६ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै कर्णालीको भने ४ खेलमा ४ अंक रहेको छ र पाँचौं स्थानमा रहेको छ । ११- नेपाली कांग्रेसले प्रतिनिधिसभाको सार्बजनिक लेखा समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन माग गरेको छ । काँग्रेसका सांसदहरुले सार्वजनिक लेखा समिति र राज्य व्यवस्था तथा सुशासन समितिमा छुट्टाछुट्टै निवेदन दिँदै तत्काल बैठक बोलाएर छलफल, अनुसन्धान र आवश्यक निर्देशन दिन आग्रह गरेका हुन् । उनीहरुले सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको घटना तथा बिचौलिया भनिएका इनम सापकोटासँग जोडिएको प्रकरणमा छानबिन गर्न संसदीय समितिसमक्ष माग गरेका छन् । सांसद जनकराज गिरी र योगेश गौचन थकालीले सार्वजनिक लेखा समितिमा दिएको निवेदनमा राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हेडवर्क्स तथा विद्युत्गृह निर्माणको ठेक्का अन्तिम चरणमा पुगेपछि रद्द गरिएको विषयमा छलफलको माग गरेका छन् । त्यस्तै, सांसद अर्जुननरसिंह केसी, निष्कल राई, भीष्मराज आङ्देम्बे र रेखा कुमारी यादवले राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन् । उनीहरूले बिचौलिया भनिएका इनम सापकोटा प्रहरी हिरासतमा रहेका बेला उनको मोबाइल फोन कसरी अनधिकृत व्यक्तिको पहुँचमा पुग्यो र उनीसँग सम्बन्धित भनिएका श्रव्य सामग्रीको आधिकारिकता के हो भन्ने विषयमा छानबिन गर्न माग गरेका छन् । १२- परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्की जाने भएका छन् । टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई मन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्नेछन् । त्यस्तै, नोभेम्बर ११ र १२ मा आयोजना हुने राष्ट्र तथा सरकार प्रमुखहरूको शिखर सम्मेलनमा समेत उनी सहभागी हुनेछन् । मन्त्री खनालले नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘पर्वतीय कार्यसूचीको प्रवर्द्धन : हिमनदी, हिमक्षेत्र र जलवायु उत्थानशीलता’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउनेछन् । उनले सम्मेलनका अन्य साइड इभेन्टमा सहभागी हुनुका साथै विभिन्न देशका समकक्षी तथा उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली प्रतिनिधिमण्डलमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सञ्जय आचार्य, कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रलगायत सरकारी अधिकारी सहभागी हुनेछन् । परराष्ट्रमन्त्री खनाल नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । १३- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से २.६४ अंकले बढेर २६५५.२२ विन्दुमा पुगेर रोकिएको छ । आज ३३६ कम्पनिका एक करोड ७ लाख १३ हजार ८४२ कित्ता शेयर ३ अर्ब ४६ करोड २० लाख ५९ हजार ३२३ मा कारोबार भएको थियो । आज माइक्रोफाइनान्सबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर १४.०८ प्रतिशतले बढेको छ भने बेनी हाइड्रोको शेयर ५.७८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी घोराही सिमेन्टको शेयर ६.४० प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी घोराही सिमेन्टको २१ करोड ६३ लाख बराबरको कारोबार भएको छ भने स्वेत गंगा हाइड्रोको १२ करोड ७९ लाख बराबरको कारोबार भएको छ । १४- नेपाल यू-१९ एशिया कपको पहिलो खेलमा भारतसँग पराजित भएको छ । शुक्रबार ओमानमा सम्पन्न पहिलो खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । नेपालले दिएको १२८ रनको लक्ष्य पछाएको भारतले १९.१ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४२.३ ओभरमा अल आउट हुदै १२८ रन मात्र बनाएको थियो । अब नेपालले अर्को खेल नोभेम्बर ८ आइतबार युएईसँग खेल्ने छ भने नोभेम्बर १० मंगलबार पाकिस्तानसँग खेल्ने तालिका रहेको छ । १५- अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने प्रयास भइरहेका बेला इरानले अमेरिकासमक्ष सातवटा सर्तसहित नयाँ परमाणु प्रस्ताव पठाएको छ । कतारमार्फत अमेरिकासम्म पुर्याइएको प्रस्तावमा इरानले आफ्ना सात सर्त पूरा भएपछि मात्रै परमाणु कार्यक्रमबारे वार्ता गर्ने र होर्मुज जलमार्ग खोल्ने जनाएको छ । मिडिया रिपोर्ट अनुसार इरानका एक वरिष्ठ अधिकारीले अमेरिकाले उक्त प्रस्तावको समीक्षा गरिरहेको बताएका छन् । यद्यपि उनले प्रस्तावमा समावेश सर्तबारे विस्तृत जानकारी दिएका छैनन् । इरानले अमेरिकासँग राखेका सर्तमा आफूविरुद्ध लगाइएका आर्थिक प्रतिबन्ध हटाउनुपर्ने, विदेशमा रोक्का राखिएको आफ्नो सम्पत्ति फिर्ता गर्नुपर्ने र युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग समावेश छन् । त्यस्तै, इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, तेल बिक्रीमा पूर्ण छुट दिनुपर्ने, इरान र उसका सहयोगीमाथि अमेरिका तथा इजरायलले गर्ने सैन्य आक्रमण रोक्नुपर्ने र पश्चिम एसियामा अमेरिकी सैनिक उपस्थिति घटाउनुपर्ने सर्त राखिएको छ । अमेरिका र इरानबीचको प्रमुख विवाद परमाणु कार्यक्रमलाई लिएर छ । अमेरिकाले इरानले परमाणु हतियार निर्माणको दिशामा अघि नबढ्ने सुनिश्चित गर्नुपर्ने भन्दै परमाणु कार्यक्रमबारे वार्ता गर्न चाहेको छ । तर इरानले भने परमाणु विषयमा छलफल गर्नुअघि आर्थिक प्रतिबन्ध र अन्य सैन्य अवरोध हटाउनुपर्ने अडान राखेको छ । अमेरिका पहिले परमाणु कार्यक्रमबारे छलफल गर्न चाहन्छ भने इरानले त्यसअघि आर्थिक तथा सैन्य प्रतिबन्ध हटाउनुपर्ने माग गरेको छ । यही विषयमा दुई देशबीच सहमति हुन सकेको छैन । अमेरिका र इरानबीच प्रत्यक्ष वार्ताको अवस्था सहज नभएपछि कतारलगायतका देशले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका छन् । यसपटक पनि इरानले कतारमार्फत आफ्नो प्रस्ताव अमेरिकासम्म पुर्याएको हो । यसअघि पनि कतारले दुई देशबीच वार्ता गराउन र तनाव कम गर्न भूमिका खेलेको थियो । हालसम्म अमेरिकाले इरानको प्रस्ताव स्वीकार गरेको पुष्टि भएको छैन । अमेरिकी समीक्षापछि मात्रै दुई देश वार्ताको दिशामा अघि बढ्ने वा सर्तलाई लिएर तनाव कायम रहने भन्ने स्पष्ट हुनेछ । १६- नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ मा तीन कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । आईपीओ निष्कासन अनुमति पाएका तीन कम्पनीमध्ये दुईवटा जलविद्युत् क्षेत्रका छन् भने एउटा उत्पादनमूलक क्षेत्रको कम्पनी हो । बोर्डको नियमन विभागले सार्वजनिक गरेको विवरणअनुसार हिम पर्वत हाइड्रोपावर, कान्तिपुर फार्मास्युटिकल्स ल्याब र आशुतोष इनर्जीलाई आईपीओ निष्कासनको अनुमति दिइएको हो । यी तीन कम्पनीले कुल ८८ करोड १५ लाख रुपैयाँ बराबरका ८८ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने अनुमति पाएका छन् । तीनवटै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले सेयर निष्कासन गर्नेछन् । बोर्डबाट सबैभन्दा अनुमति पाएको हिम पर्वत हाइड्रोपावरले स्थानीय तथा सर्वसाधारणका लागि ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्नेछ । यसबाट कम्पनीले ५९ करोड १५ लाख रुपैयाँ पुँजी जुटाउनेछ । कम्पनीलाई गत असोज २० गते अनुमति दिइएको हो । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नागरिक क्यापिटल रहेको छ । त्यस्तै, कान्तिपुर फार्मास्युटिकल्स ल्याबले सर्वसाधारणका लागि १७ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ । यसबाट कम्पनीले १७ करोड रुपैयाँ जुटाउनेछ । कम्पनीले गत कात्तिक १९ गते अनुमति पाएको हो । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । यसैगरी, आशुतोष इनर्जीले स्थानीय तथा सर्वसाधारणका लागि १२ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ । यसबाट कम्पनीले १२ करोड रुपैयाँ जुटाउनेछ । बोर्डले कम्पनीलाई कात्तिक २० गते अनुमति दिएको हो । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । १७- दानबहादुर कार्कीले आफुलाई महानिरीक्षकबाट हटाउने सरकारको निर्णयविरूद्ध दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । कार्कीले वारेसमार्फत् विहिबार रिट दिएका थिए । सर्वोच्च प्रशासनले रिट अध्ययन गरेर शुक्रबार दर्ता गरेको हो । सरकारले कार्कीलाई विहिबार महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो । कार्कीले आफूलाई पुनर्बहाली गर्न माग गर्दै रिट दिएका छन् । रिटको पेसी अब तिहार पछि मात्र हुने भएको छ । १८- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ९ सयले घटेर दुई लाख ८३ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन प्रतितोला दुई लाख ८८ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि विहिबार चाँदी ३९२० रुपैयाँमा कारोबार भएको थियो । १९- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ दलभित्र सरकार र पार्टीबीच असमझदारी बढ्दै गएको विषय सार्वजनिक हुन थालेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले यस्तो अवस्था देश र लोकतन्त्रका लागि शुभसंकेत नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले नेपाली राजनीतिक इतिहासमा पार्टीभित्रका आन्तरिक संघर्ष र विभाजनले देश, लोकतन्त्र तथा जनतालाई ठूलो क्षति पुर्याएको स्मरण गराएका छन् । उनले भनेका छन्-‘ नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टीवीचको असमझदारी बढ्दै गएको कुरा सार्वजनिक रूपमा पोखिन थाल्नु देश र लोकतन्त्रकोनिम्ति शुभसंकेत होइन ।’ उनले २००७ सालपछि नेपाली कांग्रेसमा बीपी कोइराला र मातृका कोइराला समूहबीचको संघर्ष, २०४७ पछि कांग्रेसमा ७४ र ३६ समूहको विवाद तथा २०५८ पछि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा समूहबीचको विभाजनलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । त्यस्तै, २०५२ पछि नेकपा एमालेमा महाकाली सन्धिको पक्षधर र विरोधी समूहबीचको विवाद तथा २०६४ पछि माओवादीमा संविधान निर्माण र जनविद्रोहको पक्षमा रहेका समूहबीचको अन्तर्संघर्षले पनि देशलाई नोक्सान पुर्याएको उनको भनाइ छ । ‘इतिहास दोहोरिन्छ किनकि मान्छेले आफ्ना गल्ती दोहोर्याउँछन्,’ भट्टराईले लेखेका छन् । उनले जेन्जी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले विगतका राजनीतिक गल्ती नदोहोर्याउन सुझाव दिएका छन् । इतिहासबाट पाठ सिकेर पुराना गल्ती दोहोर्याउनुको सट्टा नयाँ इतिहास निर्माण गर्न उनले सत्तारुढ दल र सरकारलाई आग्रह गरेका छन् । २०- अमेरिकाको मध्यावधि निर्वाचनपछि कृत्रिम बौद्धिकताको विकास र लगानीमा सुस्तता आउने आशंकाले विश्वका प्रमुख प्रविधि कम्पनीहरूको सेयर मूल्यमा ठूलो गिरावट आएको छ । निर्वाचनमा कृत्रिम बौद्धिकता र तथ्याङ्क केन्द्रको विस्तार नियन्त्रण गर्ने मुद्दा उठाएका डेमोक्र्याटहरूले सफलता पाएपछि लगानीकर्तामा चिन्ता बढेको हो । अमेरिकी प्रविधि कम्पनीहरूको बाहुल्य रहेको न्यास्ड्याक सूचक ५.५ प्रतिशतभन्दा बढीले घट्दा एकै दिन करिब २.५ ट्रिलियन अमेरिकी डलर बराबरको बजार मूल्य गुमेको छ । कृत्रिम बौद्धिकतासम्बन्धी उपकरण उत्पादन गर्ने कम्पनीहरू पनि प्रभावित भएका छन् । एनभिडियाको सेयर ९ प्रतिशतभन्दा बढी, एएमडी र माइक्रोनको १७ प्रतिशतभन्दा बढी तथा इन्टेलको १०.३ प्रतिशतले घटेको छ । त्यस्तै, जापान, दक्षिण कोरिया र ताइवानका प्रविधि कम्पनीहरूको सेयरमा पनि ठूलो गिरावट आएको छ । दक्षिण कोरियाको कोस्पी सूचक ८.५ प्रतिशतभन्दा बढीले घटेपछि कारोबार अस्थायी रूपमा रोक्नुपर्ने अवस्था आएको थियो । सामसङ र एसके हाइनिक्सको सेयर पनि दोहोरो अंकनजिक घटेको छ । विश्लेषकहरूका अनुसार कृत्रिम बौद्धिकताका लागि तथ्याङ्क केन्द्र निर्माणमा भइरहेको ठूलो लगानीबाट अपेक्षित प्रतिफल नआउने आशंकाले बजारमा दबाब बढाएको हो । वातावरणीय प्रभाव, विद्युत् खपत र रोजगारीमा पर्ने असरलाई लिएर तथ्याङ्क केन्द्र विस्तारमा कडा नियन्त्रण हुन सक्ने चिन्ताले पनि लगानीकर्तालाई प्रभावित पारेको छ । The post यी हुन् आज दिनभरका प्रमुख २० समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
यी हुन् आज दिनभरका प्रमुख २० समाचार

Read Complete Original Article
Published originally on कर्पोरट खबर






