यी हुन् आज दिनभरका प्रमुख २० समाचार

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- चक्रवात ‘अर्नब’को सम्भावित प्रभावका कारण आगामी कात्तिक ११ देखि १५ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा उल्लेख्य वर्षा हुन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी नारायणी, बागमती, कमला र कोशी नदीका जलाधार तथा उपजलाधार क्षेत्रमा वर्षा हुँदा नदीको जलसतह बढ्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको विशेष बुलेटिनअनुसार कात्तिक ११ देखि १५ गतेसम्मको मौसम र नदीको जलसतहलाई आधार मानेर जलजन्य जोखिमको प्रारम्भिक आकलन गरिएको हो । महाशाखाले वर्षाको मात्रा र नदीको अवस्थाअनुसार जोखिममा परिवर्तन हुन सक्ने जनाएको छ । महाशाखाको पूर्वानुमानअनुसार कात्तिक ११ गते बुधबार देशभरका प्रमुख नदीमा जलसतह सामान्य अवस्थामा रहने देखिएको छ । कात्तिक १२ गते बिहीबार नारायणी, कोशी, बागमती, कमला तथा आसपासका जलाधारमा नदीको जलसतह सामान्य बढ्न सक्ने भए पनि बाढीको जोखिम न्यून रहने आकलन गरिएको छ । कात्तिक १३ गते शुक्रबार नारायणी, कोशी र तिनका सहायक नदीहरूका साथै बागमती, कमला, तिनाउ तथा आसपासका जलाधारमा मध्यमदेखि भारी वर्षा भए नदीको जलसतह उल्लेख्य बढ्न सक्ने महाशाखाले जनाएको छ । महाकाली, कर्णाली, पश्चिम राप्ती, बबई तथा तिनका सहायक नदीमा भने जलसतह सामान्य मात्र बढ्ने सम्भावना रहेको छ। उक्त दिन नदीमा बाढीको जोखिम मध्यम रहने पूर्वानुमान गरिएको छ । त्यस्तै, कात्तिक १४ गते शनिबार नारायणी, कोशी, बागमती, कमला तथा आसपासका जलाधारमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान छ । अघिल्ला दिनको वर्षाका कारण प्रमुख नदीमा जलसतह उच्च बिन्दुमा पुग्न सक्ने भएकाले आसपासका क्षेत्रमा सतर्कता आवश्यक रहेको महाशाखाले जनाएको छ । कात्तिक १५ गते आइतबार भने कोशी, बागमती तथा नारायणी जलाधारका केही स्थानमा हल्का वर्षा हुन सक्ने र बाढीको जोखिम न्यून रहने अनुमान गरिएको छ । महाशाखाले सम्भावित वर्षा र जलजन्य जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोलाको तटीय क्षेत्र, खोला किनारका सडक, जोखिमयुक्त नदी उपत्यका र हिमाली क्षेत्रमा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अत्यावश्यक यात्रा गर्नुपरे सतर्कता अपनाउन, खोला तर्ने तथा नदी किनारमा जाने काम नगर्न र आधिकारिक सूचना तथा स्थानीय प्रशासनको निर्देशन पालना गर्न पनि अनुरोध गरिएको छ । २- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि १५ गतेसम्म आयोजना गर्ने काठमाडौँ फिल्म फेस्टिभलमा भारतीय अभिनेत्री शबाना आजमी, सांघाई फिल्म एकेडेमीका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हा सहभागी हुने भएका छन् । काठमाडौँको मौलिकता, संस्कृति, परम्परा तथा मूर्त र अमूर्त सम्पदाको प्रवर्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा पुराना नेपाली चलचित्रको प्रदर्शन, अन्तरसंवाद, चलचित्रसम्बन्धी विशेष कक्षा, रेड कार्पेट र अवार्ड समारोह सञ्चालन हुनेछन्। महोत्सवमार्फत काठमाडौँका ओझेलमा परेका कथालाई उजागर गर्नुका साथै नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्ने महानगरपालिकाको लक्ष्य छ । महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका नेपाली चलचित्र ‘कुमारी’ र ‘के घर के डेरा’ विशेष रूपमा प्रदर्शन गरिनेछ। अन्तर्राष्ट्रिय पानोरमा खण्डमा चीन, भारत, अस्ट्रेलिया, मंगोलिया, अमेरिका, फ्रान्स, कोरिया र जर्मनीलगायत देशका चलचित्र देखाइनेछन्। जापानको यामागाता सहरबाट आएको लघु चलचित्र पनि प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ । नेपाल पानोरामा सर्ट्सका लागि प्राप्त ७५ चलचित्रमध्ये १० वटा छनोट गरिएका छन् । छनोट भएका प्रत्येक चलचित्रलाई एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, ‘मेरो संस्कृति, मेरो सम्पदा’ शीर्षकको युवा लक्षित छोटो भिडियो प्रतियोगितामा प्राप्त ३५ मध्ये ११ वटा भिडियो प्रदर्शनका लागि छानिएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महोत्सवका कार्यक्रम वसन्तपुर, राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डलगायत स्थानमा सञ्चालन हुनेछन् । चलचित्र प्रदर्शन निःशुल्क भए पनि सिट सुरक्षित गर्न टिकट लिनुपर्नेछ। महानगरपालिकाले महोत्सवलाई स्थानीय रचनात्मक उद्योगको विकास, नेपाली चलचित्रकर्मीको क्षमता अभिवृद्धि, सांस्कृतिक सम्पदाको प्रवर्धन र पर्यटन विकासको माध्यमका रूपमा अघि बढाउन लागेको जनाएको छ । महाशाखाका अनुसार यो प्रारम्भिक जलविज्ञान जोखिम आकलन हो । चक्रवातको सम्भावित प्रभाव, वर्षाको अवस्था र नदीको जलसतहसम्बन्धी अद्यावधिक पूर्वानुमानका आधारमा प्रणाली सक्रिय रहुन्जेल निरन्तर बाढी–पहिरोको पूर्वानुमान तथा पूर्वसूचना बुलेटिन जारी गरिने महाशाखाले जनाएको छ । ३- अध्यागमन विभागले कार्तिक १२, १३ र १४ गते पदयात्रा नगर्न र नगराउन आग्रह गरेको छ । विभागले मगंलबार सूचना जारी गर्दै कार्तिक १२ देखि १४ गतेसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको उल्लेख गरेको छ । विभागले पर्यटकहरूलाई उच्च पहाडी र हिमाली क्षेत्रमा नजान र गइसकेको भए उक्त अवधिभर सुरक्षित ठाउँमा रहन अनुरोध गरेको छ । विभागले भनेको छ- ‘कुनै पनि निषेधित क्षेत्रमा पदयात्रा गर्न अनुमति लिएका पदयात्रीले सम्भावित जोखिम न्यूनीकरणको लागि उक्त अवधिभर पदयात्रा नगर्नुहुन तथा पदयात्रामा गइसकेको भए सुरक्षित ठाउँमा रहनुहुन अनुरोध छ ।’ त्यस्तै, सो अवधिभरका लागि उच्च पहाडी र हिमाली क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा जाने पदयात्रा अनुमति पनि जारी नहुने जानकारी विभागले गराएको छ । ट्रेकिङ एजेन्सी, पदयात्री तथा पथप्रदर्शक लगायत सम्पूर्ण सरोकारवालाहरुलाई पनि सूचनाको पालना गर्न आग्रह गरिएको छ । ४- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिको विरोध गर्ने नागरिकलाई मध्यरातमा पक्राउ गरिएको भन्दै सरकारको आलोचना गरेका छन् । उनले विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई प्रश्न गर्ने नागरिकमाथि धरपकड गर्नु उचित नभएको बताएका छन् । पौडेलले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई नेपालको अन्तर्राष्ट्रिय पहिचान, धार्मिक आस्था र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदा भएको उल्लेख गरेका छन् । यस्तो महत्त्वपूर्ण संस्थाको नेतृत्वमा नियुक्ति गर्दा लोकप्रियतासँगै योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र र जवाफदेहितालाई समेत आधार बनाउनुपर्ने उनको भनाइ छ । उनले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्माको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठेको उल्लेख गर्दै ती प्रश्नको जवाफ दिन सरकारसँग माग गरेका छन् । ती विषयमा स्पष्टता नआएसम्म सरकारले नियुक्तिको औचित्य र छनोटका आधार पुष्टि गर्न नसक्ने पौडेलको टिप्पणी छ । सरकारलाई विरोध नभई सुझाव दिएको बताउँदै पौडेलले राति नागरिकलाई पक्राउ गरेर पछि छाड्ने कार्यशैलीको आलोचना गरेका छन् । गलत निर्णय भएको भए त्यसलाई सच्याउने साहस देखाउनुपर्ने भन्दै उनले प्रश्न उठाउने नागरिकलाई तर्साउने नभई उनीहरूका प्रश्नको जवाफ दिन सरकारलाई आग्रह गरेका छन् । ५- इजरायलमा सन् १९७७ यताकै उच्च मतदान भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र पूर्वसैनिक प्रमुख गादी आइजेनकोटबीच कडा प्रतिस्पर्धा भइरहेका बेला यो निर्वाचनलाई इजरायलको राजनीतिक भविष्यका लागि महत्त्वपूर्ण मानिएको छ । शुरुको पाँच घण्टाको मतदानमा ३१ प्रतिशत भन्दा बढी मतदाताले मतदान गरेको रिपोर्टमा उल्लेख छ । मतदानसम्बन्धी सर्वेक्षणले नेतान्याहु र आइजेनकोट नेतृत्वका राजनीतिक समूहबीच कडा प्रतिस्पर्धा देखाएका छन् । तर कुनै पनि समूहले सरकार गठनका लागि आवश्यक ६१ सिट प्राप्त गर्ने स्पष्ट संकेत नदेखिएकाले निर्वाचनपछि सरकार गठनमा लामो राजनीतिक वार्ता हुन सक्ने अनुमान गरिएको छ । निर्वाचनमा सुरक्षा, लोकतन्त्र र नेतान्याहुको शासन प्रमुख मुद्दा बनेका छन् । विपक्षीहरूले हमासको नेतृत्वमा भएको सन् २०२३ अक्टोबर ७ को आक्रमण रोक्न नसकेको भन्दै नेतान्याहुको आलोचना गरेका छन् । नेतान्याहुले भने मध्यपूर्वका द्वन्द्वमा हासिल गरेको उपलब्धि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्धलाई आफ्नो पक्षमा प्रस्तुत गरेका छन् । यसैबीच, मतदान केन्द्रमा अनियमितता भएको भन्दै केही दलले प्रश्न उठाएका छन् । तर इजरायलको केन्द्रीय निर्वाचन समितिले मतपत्रमा व्यवस्थित रूपमा हेरफेर भएको प्रमाण नरहेको जनाएको छ । इजरायलको समानुपातिक निर्वाचन प्रणालीका कारण सरकार गठन गर्न विभिन्न दलबीच गठबन्धन आवश्यक हुन्छ । कुनै पनि समूहले बहुमत जुटाउन नसकेमा सरकार गठनमा गतिरोध उत्पन्न हुन सक्ने र नयाँ निर्वाचनसमेत गर्नुपर्ने अवस्था आउन सक्छ । ६- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली लेखकहरूले आफ्ना देशका विद्वानहरूलाई नचिन्ने टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण गर्दै अध्यक्ष ओलीले नेपालीहरूमा आफ्ना देशका विद्वानहरूलाई धेरै नचिन्नने वा विद्वान नठान्ने प्रवृत्ति रहेको टिप्पणी गरेका हुन् । उनले स्वदेशी विद्वानहरूले जतिसुकै तर्कपूर्ण र तथ्यपूर्ण लेखेको भए तापनि आफ्ना ग्रन्थहरूमा नेपाली लेखकहरूभन्दा विदेशी विद्वानहरूकै उद्धरण दिने परिपाटी बढी रहेको बताएका हुन् । उनले भने- ‘हामी आफैले दक्षिण तिरका जोगीहरु आए भने खुट्टा छोएरै ढोग्ने चलन छ । आफ्ना कहाँका विद्वान त्यति चिन्दैनौं । सम्भवत तपाइहरुले आफ्ना ग्रन्थहरुमा पनि विदेशीकै उद्धरण गर्नुभएको होला, किनभने नेपालीले लेखेकोलाई त्यत्ति विद्वान ठान्दैनौं, जति सुकै तर्कपूर्ण किन नहोस् ।’ ओलीले आफुले विभिन्न विद्वानहरुसँग विषयगत रुपमा छलफल गर्ने मन रहेको बताउदै यसले आफ्ना विचारलाई थप उपयोगी बनाउन सक्ने बताए । ७- भारतीय अभिनेता इमरान खानलाई भारत छाड्न जारी गरिएको नोटिसमा बम्बई उच्च अदालतले नोभेम्बर २ सम्म रोक लगाएको छ। अदालतले उक्त मितिमै मुद्दाको अर्को सुनुवाइ गर्ने जनाएको छ । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै मुम्बईको अगस्त क्रान्ति मैदानमा भएको प्रदर्शनमा सहभागी भएपछि इमरानलाई प्रहरीले हिरासतमा लिएको थियो । त्यसपछि उनलाई अक्टोबर २८ सम्म भारत छाड्न निर्देशन दिँदै नोटिस जारी गरिएको थियो । अमेरिकी नागरिकता भएका इमरानले उक्त नोटिसविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए । उनले नोटिसलाई गैरकानुनी भन्दै खारेज गर्न र सुनुवाइ पूरा नहुँदासम्म कार्यान्वयन रोक्न माग गरेका थिए । उनको निवेदनमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएकै आधारमा विदेशी नागरिकता भएका भारतीय मूलका नागरिकको ओसीआई हैसियत रद्द गर्ने प्रक्रिया अघि बढाउनु अनुचित भएको जिकिर गरिएको छ । इमरानका वकिलका अनुसार, उनलाई ओसीआई हैसियत किन रद्द नगर्ने भन्दै कारण देखाऊ नोटिससमेत जारी गरिएको थियो । ८- नेपाल क्रिकेट संघ (क्यान) ले चीनमा हुने बेल्ट एण्ड रोड सिरिजका लागि यू–१९ महिला क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले सोनी पाख्रिनको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टिका शाह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनिषा चौधरी, आशिकाकुमारी महरा परेका छन् । त्यस्तै, अनु कडायत, मनिषा कुमारी उपाध्याय, सना प्रविण, अलिशा कुमारी यादव र तिर्सना विश्वकर्मा रहेका छन् । क्यानका अनुसार यु–१९ विश्वकपको तयारीका क्रममा नेपाली टोलीले चीनमा खेल्न लागेको हो । बेल्ट एण्ड रोड सिरिज नोभेम्वर ३ देखि ८ सम्म हुनेछ । सो प्रतियोगितामा आयोजक चीन, नेपाल, हङकङ र थाइल्याण्ड सहभागी हुँदैछन् । चीनपछि नेपाली यु–१९ महिला टोलीले भारतमा समेत क्रिकेट सिरिज खेल्ने बताइएको छ । ९- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित हासिल गरेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछाएको विराटनगरले १९.३ ओभरमा १४९ रन बनाउदै अल आउट भएको थियो । विराटनगरका लागि इमरान सेखले सर्बाधिक ३९ रन बनाएका थिए भने आन्द्रे रसेलले ३३ रन बनाएका थिए । त्यस्तै लोकेश बमले २६ र अन्गेलो म्याथ्युजले १४ रन बनाएका थिए । त्यस्तै चितवनका बलर कमल सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने रिजन ढकालले २ विकेट लिएका थिए । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको थियो । चितवनका लागि डेविड मलानले सर्वाधिक ७० रन बनाए भने देव खनालले १२ रन बनाउँदै स्टम्पिङ आउट भए । कप्तान रवि बोपारा ३२ र डान मुस्ले २९ रनमा अविजित रहेका थिए । त्यस्तै, विराटनगरका लागि एन्जेलो म्याथ्यूस, आन्द्रे रसेल र चारिथ आसालंकाले १-१ विकेट लिएका थिए । एनपीएल अन्तर्गत आजको दोस्रो खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुदैछ । १०- भारतले न्युजिल्यान्डलाई तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा ६ विकेटले पराजित गर्दै पाँच खेलको शृङ्खलामा ३–० को अग्रता बनाएको छ । अभिषेक शर्माले ३५ बलमै शतक पूरा गर्दै विस्फोटक ब्याटिङ गरेपछि भारतले १९९ रनको लक्ष्य सहज रूपमा पछ्याएको हो । न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९८ रन बनाएको थियो। उसका ड्यारिल मिचेलले ५२ बलमा अविजित ८९ रन बनाए भने फिन एलनले ४० रनको योगदान दिएका थिए। भारतका बलरमध्ये अर्शदीप सिंह, अक्षर पटेल र नितीश कुमार रेड्डीले एक–एक विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको भारतका अभिषेकले आक्रामक सुरुवात गर्दै न्युजिल्यान्डका बलरमाथि दबाब सिर्जना गरेका थिए। उनको ३५ बलमा शतक पूरा गर्ने प्रदर्शन खेलको मुख्य आकर्षण बन्यो । भारतका लागि वैभव सुर्यबंशीले ४५ रन बनाएका थिए । यस जितसँगै भारतले शृङ्खलाका लगातार तीन खेल जितेर अन्तिम दुई खेलअघि नै शृङ्खला आफ्नो पक्षमा पार्ने बलियो स्थिति बनाएको छ । अब शृङ्खलाको चौथो खेल आगामी शुक्रबार हुने छ । ११- नेप्सेमा आज सामान्य वृद्धि आएको छ । आज मंगलबार नेप्से ०.९४ अंकले घटेर २६३०.७६ विन्दुमा पुगेर रोकिएको छ । आज ३६० कम्पनिका एक करोड ५३ लाख ४६ हजार २२६ कित्ता शेयर ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३ मा कारोबार भएको थियो । आज हाइड्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ भने माथिल्लो मैलुन खोला जलविद्युतको शेयर १२.०९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी युनिलिभरको शेयर ४.९१ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको २८ करोड ५८ लाख बराबरको कारोबार भएको छ भने पिपुल्स हाइड्रोको २४ करोड ६९ लाख बराबरको कारोबार भएको छ । १२- एप्पलको पहिलो पट्याउन फोल्ड मोबाइल ‘आइफोन डुओ’ को भित्री स्क्रिनमा समस्या देखिएको छ । फोनको बीचमा पट्याउने भागमा स्क्रिन फुट्ने र चर्किने गुनासो आएपछि कम्पनीले पनि केही फोनमा समस्या देखिएको स्वीकार गरेको छ । करिब ३ लाखदेखि साढे ४ लाख रुपैयाँसम्म पर्ने यो मोबाइल प्रयोग गरेको केही समयमै पर्दा बिग्रिएको प्रयोगकर्ताले बताएका छन् । प्रयोगकर्ताका अनुसार फोन पहिलोपटक खोलेर प्रयोग गरेको केही समयमै भित्री स्क्रिन आफैँ बिग्रिने समस्या देखिएको छ । विशेषगरी फोन बीचबाट पट्याउने भागमा यस्तो समस्या बढी देखिएको बताइएको छ । एप्पलले केही सीमित फोनमा भित्री स्क्रिनसम्बन्धी समस्या आएको जानकारी दिएको छ । कम्पनीले समस्या देखिएका फोन साटेर नयाँ फोन उपलब्ध गराउने जनाएको छ । आफ्नो आइफोन डुओको स्क्रिनमा समस्या देखिएमा ग्राहकलाई तत्काल एप्पलकेयरमा सम्पर्क गरी फोन साट्न आग्रह गरिएको छ । कम्पनीले सेप्टेम्बर ९ मा आफ्नो पहिलो पहिलो फोल्ड गर्न मिल्ने मोबाइल सार्वजनिक गरेको थियो । आइफोन डुओमा बाहिर ५.४ इन्चको पर्दा र भित्र ७.६ इन्चको मुख्य स्क्रिन रहेको बताइएको छ । यो एप्पलले उत्पादन गरेको अहिलेसम्मकै ठूलो स्क्रिन भएको आइफोन हो । यसको सुरुआती मूल्य १ हजार ९९९ अमेरिकी डलर र सबैभन्दा महँगो संस्करणको मूल्य ३ हजार १९९ अमेरिकी डलर रहेको छ । १३-साउदी अरबले यमनका हुथी विद्रोहीसँग जारी तनाव अन्त्य गर्न एक बिलियन डलर आर्थिक सहयोग दिने प्रस्ताव गरेको खबर सार्वजनिक भएको छ । इजरायली सञ्चारमाध्यमका अनुसार साउदी अरबले आफ्नो भूमिमा आक्रमण रोक्ने सर्तमा हुथीलाई उक्त रकम दिन प्रस्ताव गरेको हो । यसका लागि इरानले मध्यस्थता गरिरहेको बताइएको छ । समाचारअनुसार साउदी अरबका रक्षामन्त्री राजकुमार खालिद बिन सलमान सोमबार वार्ताका लागि इरानको राजधानी तेहरान पुगेका थिए । उनी चढेको सैन्य विमानमा रकमसमेत ल्याइएको दाबी गरिएको छ । वार्तामा पाकिस्तानका सेना प्रमुख आसिम मुनीर, टर्कीको गुप्तचर निकायका प्रमुख इब्राहिम कालिन र इरानका राष्ट्रपति मसुद पेजेस्कियान पनि सहभागी भएको दाबी गरिएको छ । साउदी अरबले भने सैन्य दबाबमा परेर युद्धविराम सम्झौता नगर्ने अडान राखेको बताइएको छ । साउदी समर्थित यमनी सरकारबाट हुथीले कब्जा गरेका क्षेत्र फिर्ता गर्नुपर्ने उसको सर्त रहेको छ । हुथीका आक्रमणबाट साउदी अरबका विमानस्थल र तेल पूर्वाधारमा क्षति पुगेको तथा अर्थतन्त्रमा असर परेको समाचारमा उल्लेख छ । यता, होर्मुज जलडमरुमा इरानका आक्रमणका कारण खाडी मुलुकबाट हुने तेल निर्यातसमेत प्रभावित भएको बताइएको छ । तीन वर्षअघि भएको सहमतिअनुसार साउदी अरबले हुथीको नियन्त्रणमा रहेका क्षेत्रमा सरकारी कर्मचारीको तलब भुक्तानी र आधारभूत सेवा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने तथा हुथीले युद्धविराम कायम राखेर साउदी अरबमाथिका आक्रमण रोक्ने अपेक्षा गरिएको थियो । तर, पुरानो सहमति कार्यान्वयन नभएको आरोप हुथीले लगाउँदै आएका छन् । सन् २०१५ देखि जारी द्वन्द्वमा आधुनिक हतियार र अमेरिकी सहयोग पाएको साउदी अरबले पनि हुथीलाई पराजित गर्न सकेको छैन । सस्तो ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्ने हुथीका आक्रमण रोक्न महँगा प्रतिरक्षा क्षेप्यास्त्र प्रयोग गर्नुपर्ने भएकाले साउदी अरबको सैन्य खर्च बढ्ने गरेको विश्लेषण गरिएको छ । १४- नेपालले ‘गाभी, द भ्याक्सिन एलाइन्स’ले बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहायता प्राप्त गर्ने भएको छ । यसैगरी, गाभीबाट नेपालको नियमित खोप कार्यक्रमका लागि प्रदान गरिँदै आएको सहायता रकमको आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि औँल्याउँदै नेपालले फिर्ता गर्नुपर्ने भनी देखाइएको ३ लाख ८ हजार २७१ अमेरिकी डलर रकम मिनाहा हुने भएको छ । नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न संक्रामक रोगबाट सुरक्षित राख्दै आएको छ। नियमित खोप सेवाको निरन्तरता, पहुँच र प्रभावकारिता कायम राख्न अन्तर्राष्ट्रिय साझेदारबाट प्राप्त हुने सहयोग महत्वपूर्ण रहँदै आएको छ । विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोतमा दबाब बढिरहेको अवस्थामा सन् २०३० सम्मका लागि खोप सहायता सुनिश्चित हुनु र फिर्ता गर्नुपर्ने भनी देखाइएको रकम मिनाहा हुनु नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई दिगो बनाउने दिशामा महत्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ । १५- यस वर्षको दसैँका अवधिमा देशभर भएका १ हजार ३३९ सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ भने २ हजार ९८८ जना घाइते भएका छन् । असोज २५ देखि कात्तिक ८ गतेसम्म भएका दुर्घटनामा ८३ पुरुष, ३९ महिला, ७ बालक र ५ बालिकाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । घाइतेमध्ये ४३७ जना गम्भीर र २ हजार ५५१ जना सामान्य घाइते भएका छन् । प्रदेशगत विवरणअनुसार कोशीमा ३९७, काठमाडौँ उपत्यकामा १७१, कर्णालीमा १७१, लुम्बिनीमा १६१, सुदूरपश्चिममा १५०, बागमतीमा ११२, गण्डकीमा ९७ र मधेशमा ८० दुर्घटना भएका छन्। दुर्घटनामा १ हजार ५५२ मोटरसाइकल, ३३७ जिप तथा कार, २०७ टेम्पो, ७१ ट्रक तथा ट्याङ्कर, ६४ माइक्रोबस, ५४ बस, ३८ ट्याक्टर, १५ टिपर, १० डोजर, स्काभेटर तथा लोडर र १३३ अन्य सवारीसाधन गरी कुल २ हजार ४८१ सवारीसाधन संलग्न थिए। गत वर्षको दसैँमा १ हजार ४९२ सवारी दुर्घटना भएका थिए । दसैँ अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार ७०३ सवारीसाधनलाई कारबाही गरिएको छ। तीमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने २ हजार ७९४, क्षमताभन्दा बढी यात्रु राख्ने १ हजार ८८२, तीव्र गतिमा चलाउने ७४६, यान्त्रिक परीक्षणसम्बन्धी नियम उल्लङ्घन गर्ने ८८, छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८ र लागूपदार्थ सेवन गरी चलाउने ५३ सवारीसाधन छन्। लामो दूरीका सवारीसाधनमा दुई चालक भए–नभएको जाँचसम्बन्धी नियम उल्लङ्घन गर्ने ९ सवारीसाधनलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीले दसैँमा देशभर ४०८ यात्रु सहायता कक्ष र अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा सहायता कक्ष स्थापना गरेको थियो। चालकको अनुमतिपत्र, मादक तथा लागूपदार्थ सेवन, यात्रुको सङ्ख्या र सवारीसाधनको यान्त्रिक अवस्था जाँच गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, आगामी दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गरी दुर्घटना न्यूनीकरणका लागि थप सुरक्षा योजना लागू गरिएको छ। प्रहरीले ट्राफिक नियम उल्लङ्घन भएको देखेमा प्रहरीको १०० वा १०३ नम्बरमा खबर गर्न आग्रह गरेको छ । १६- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् । उनले निर्वाचन प्रक्रिया निकै खराब र भ्रष्ट देखिएको टिप्पणी गर्दै मतगणना गर्ने तरिका तथा समयसीमा बढाइएको विषयमा प्रश्न उठाएका हुन् । ट्रम्पले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग आफ्नो सम्बन्ध राम्रो रहेको र आफूलाई लुला मन पर्ने बताएका छन् । तर निर्वाचनको समग्र प्रक्रिया भने शंकास्पद देखिएको उनको दाबी छ । ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुला दा सिल्भाले दक्षिणपन्थी प्रतिस्पर्धी तथा लिबरल पार्टीका नेता फ्लाभियो बोल्सोनारोलाई झिनो मतान्तरले पराजित गर्दै जित हासिल गरेका छन्। उनी चौथोपटक राष्ट्रपति बनेका छन् । १७- कृत्रिम बुद्धिमत्तासम्बन्धी अमेरिकी कम्पनी एन्थ्रोपिकले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरेको छ । कम्पनीले अमेरिकाको धितोपत्र तथा विनिमय आयोग (एसईसी) मा दर्ता फाराम बुझाएको छ । एन्थ्रोपिकले आफ्नो ‘क्लास ए’ साधारण सेयरलाई नास्ड्याक ग्लोबल सिलेक्ट मार्केटमा ‘एएनटी’ सङ्केतअन्तर्गत सूचीकृत गर्न चाहेको छ । कम्पनीले आईपीओमा कति सेयर बिक्री गर्ने र प्रतिकित्ता मूल्य कति निर्धारण गर्ने भन्ने खुलाएको छैन । निष्कासनमा कम्पनीले नयाँ सेयर जारी गर्नुका साथै विद्यमान सेयरधनीले पनि आफ्नो स्वामित्वका केही सेयर बिक्री गर्नेछन् । तर, विद्यमान सेयरधनीले बिक्री गरेको सेयरबाट प्राप्त रकममा कम्पनीको अधिकार हुने छैन । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको पहिलो छ महिनामा १६ अर्ब ३० करोड अमेरिकी डलर आम्दानी गरेको छ । तर, सोही अवधिमा कम्पनीले ८० अर्ब ७० करोड अमेरिकी डलर खुद घाटा बेहोरेको विवरणमा उल्लेख छ । कम्पनीले भविष्यमा नाफा कमाउन वा नाफालाई निरन्तरता दिन नसक्ने जोखिमसमेत औँल्याएको छ । कृत्रिम बुद्धिमत्ताको पूर्वाधार निर्माण र व्यवसाय विस्तारमा ठूलो लगानी गर्नुपर्ने भएकाले वित्तीय जोखिम बढ्न सक्ने कम्पनीको भनाइ छ । एन्थ्रोपिकले सन् २०३३ सम्म गुगलसँग करिब ११४ अर्ब ५० करोड अमेरिकी डलर खर्च गर्ने प्रतिबद्धता रहेको पनि जनाएको छ । कम्पनीका अनुसार पछिल्लो १२ महिनाको अवधिमा १० लाख अमेरिकी डलरभन्दा बढी आम्दानी दिने ग्राहकको सङ्ख्या एक हजार नौ सयभन्दा बढी पुगेको छ । रिपोर्टअनुसार आईपीओपछि कम्पनीको मूल्याङ्कन दुई ट्रिलियन अमेरिकी डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ । यद्यपि, कम्पनीले आफ्नो आधिकारिक मूल्याङ्कन सार्वजनिक गरेको छैन । यस आईपीओमा गोल्डम्यान स्याक्स र मोर्गन स्ट्यान्लीले प्रमुख व्यवस्थापकको भूमिका निर्वाह गर्नेछन् । एन्थ्रोपिकको सेयर निष्कासनले अत्याधुनिक कृत्रिम बुद्धिमत्ता प्रणाली विकासमा लाग्ने उच्च लागत र यस क्षेत्रको भविष्यको सम्भावनालाई लगानीकर्ताले कसरी मूल्याङ्कन गर्छन् भन्ने परीक्षण गर्नेछ । कम्पनीले आफ्नो दर्ता विवरणमा अत्याधुनिक कृत्रिम बुद्धिमत्ताबाट उत्पन्न हुन सक्ने विनाशकारी जोखिम र मानव अस्तित्वमै पर्न सक्ने खतराबारे पनि चेतावनी दिएको छ । अमेरिकी बजारमा सार्वजनिक निष्कासन गर्न चाहने कम्पनीले व्यवसाय, वित्तीय अवस्था र सम्भावित जोखिमको विवरणसहित एसईसीमा बुझाउने दर्ता फारामलाई ‘फर्म एस–१’ भनिन्छ । १८- भारतीय अभिनेत्री रश्मिका मन्दाना र उनका पति विजय देवरकोन्डा आफ्नो वैवाहिक सम्बन्धबारे सामाजिक सञ्जालमा भइरहेको टिप्पणीपछि चर्चामा आएका छन् । दुवैले छुट्टाछुट्टै पोस्टमार्फत आफ्नो सम्बन्धबारे उठेका प्रश्न र आलोचनाको जवाफ दिएका छन् । रश्मिकाले आफूलाई विजयप्रति गहिरो प्रेम रहेको बताउँदै फेरि पनि उनलाई नै जीवनसाथीका रूपमा रोज्ने उल्लेख गरेकी छन् । यो विवाद टेलिभिजन कार्यक्रम ‘कफी विथ करण ९’ मा उनीहरूबीच भएको कुराकानीपछि सुरु भएको थियो । कार्यक्रममा करण जोहरसँग कुराकानी गर्दै रश्मिका र विजयले आफ्नो सम्बन्ध र विवाहबारे अनुभव सुनाएका थिए । रश्मिकाका अ नुसार उनले विजयसँग विवाहबारे सोधेकी थिइन् । विजयले उनलाई सय पटक सोध्न भनेपछि आफूले करिब एक वर्षसम्म यसबारे कुरा गरेको उनले बताएकी थिइन् । तर, उक्त कुराकानी हाँसोठट्टाको वातावरणमा भएको थियो । विजयले कार्यक्रममा विवाहजस्तो ठूलो निर्णय तत्कालीन भावनाका आधारमा मात्र लिन नचाहेको बताएका थिए । उक्त कुराकानीको केही अंश सामाजिक सञ्जालमा भाइरल गराउदै ट्रोल भएपछि कतिपय प्रयोगकर्ताले विजयको व्यवहारमाथि प्रश्न उठाउँदै उनलाई ‘रेड फ्ल्याग’ अर्थात् सम्बन्धमा समस्या निम्त्याउन सक्ने व्यक्तिका रूपमा टिप्पणी गरेका थिए । केहीले रश्मिकाले अझ राम्रो जीवनसाथी पाउनुपर्ने भन्दै उनलाई सम्बन्धबारे सल्लाहसमेत दिएका थिए । यद्यपि, कतिपयले टेलिभिजन कार्यक्रममा भएको केही मिनेटको कुराकानीका आधारमा कुनै जोडीको सम्पूर्ण सम्बन्धबारे निष्कर्ष निकाल्न नहुने बताएका थिए । त्यसपछि रश्मिकाले लामो पोस्ट लेख्दै आफू र विजयको सम्बन्धबारे स्पष्ट पारेकी छन् । सामान्यतया यस्ता टिप्पणीमा प्रतिक्रिया नदिने भए पनि यसपटक आफ्नो सम्बन्धबारे भइरहेको अनावश्यक टिप्पणी र सल्लाहले आफू अचम्मित भएको उनले बताएकी छन् । विवाहका लागि सय पटक सोधेको वा एक वर्षसम्म कुरेको विषय नै मुख्य नभएको उल्लेख गर्दै उनले दुवैले एकअर्कालाई बुझ्न पर्याप्त समय र अवसर दिएको बताएकी छन् । जीवनका सुखदुःख र तनावपूर्ण परिस्थितिमा पनि सँगै रहन चाहन्छौँ भन्ने निश्चित गरेपछि आफूहरूले एकअर्कालाई रोजेको उनको भनाइ छ । रश्मिकाले आफ्नो वैवाहिक सम्बन्धबारे अरूले चिन्ता लिन आवश्यक नरहेको बताउँदै आफू विजयप्रति अत्यन्तै प्रेममा रहेको उल्लेख गरेकी छन् । फेरि जीवनसाथी रोज्ने अवसर पाए पनि विजयलाई नै रोज्ने र सय पटक मात्र होइन, हजार पटक पनि विवाहबारे सोध्न तयार हुने उनले बताएकी छन् । महिलाको परिवार र निजी जीवनबारे नबुझी सम्बन्धबाट बाहिरिन सल्लाह दिनुलाई नारीवाद भन्न नमिल्ने उनको टिप्पणी छ । उनले यस्तो व्यवहारलाई ‘नारीवादको नाममा गरिने दुर्व्यवहार’ का रूपमा व्याख्या गरेकी छन् । रश्मिकाको पोस्टपछि विजयले पनि सामाजिक सञ्जालमा पत्नीसँगका तस्बिर र भिडियो साझा गर्दै आफूहरू निकै खुसी रहेको बताएका छन् । उनले रश्मिकालाई आफ्नो सबैभन्दा मिल्ने साथी, पत्नी र जीवनयात्राकी सहयात्री भन्दै उनलाई जीवनसाथीका रूपमा रोज्नु आफ्नो सही निर्णय भएको उल्लेख गरेका छन् । संसारभरिका मानिस आफ्नो विरुद्धमा भए पनि आफू र रश्मिका सँगै रहने आशय व्यक्त गर्दै उनले प्रेम र खुसीसहित सरल जीवन बिताउने सबैलाई शुभकामना दिएका छन् । १९- नेकपा एमालेका नेता सूर्य थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यशैली र अभिव्यक्तिमाथि कडा टिप्पणी गरेका छन् । थापाले महत्वाकांक्षी र पदलोलुप व्यक्तिहरूका कारण देश बर्बादीतर्फ गइरहेको आरोप लगाउँदै वाग्लेलाई अर्थमन्त्रीबाट हटाउन प्रधानमन्त्रीसँग माग गरेका छन् । थापाले सामाजिक सञ्जालमार्फत वाग्लेको आलोचना गर्दै राष्ट्रिय योजना आयोगको सदस्य तथा उपाध्यक्ष भइसकेका व्यक्तिले आफूलाई नयाँ पात्रका रूपमा प्रस्तुत गर्नु उचित नभएको बताएका छन् । प्रतिनिधिसभाको अर्थ समितिमा सँगै काम गर्दाको अनुभव उल्लेख गर्दै उनले समितिको बैठकमा वाग्लेको भूमिका र उपस्थितिबारे पनि प्रश्न उठाएका छन् । थापाले वैकल्पिक विकास वित्त परिचालन कोषसम्बन्धी विधेयक संसद्बाट पारित भएपछि अर्थमन्त्री वाग्लेको नेतृत्वमा अर्थ मन्त्रालयले त्यसका महत्वपूर्ण प्रावधान परिवर्तन गरेको आरोप लगाएका छन् । यसले संसद् र अर्थ समितिको प्रयास कमजोर बनाएको उनको दाबी छ । साथै, वाग्लेको आर्थिक विज्ञताबाट अर्थतन्त्र सुधारमा अपेक्षित परिणाम नदेखिएको र विद्युतीय गाडीको भन्सारसम्बन्धी विषयमा पनि प्रश्न उठेको थापाको भनाइ छ । भारत भ्रमणका क्रममा वाग्लेले दिएको अभिव्यक्तिप्रति पनि थापाले आपत्ति जनाएका छन् । भारतको विरोध गरेर मात्रै राष्ट्रवादी देखिने युग सकिएको भन्ने वाग्लेको भनाइलाई नेपालको राष्ट्रिय स्वाभिमान र हितविपरीत भएको उनको आरोप छ । कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका अतिक्रमित भूभाग फिर्ता गर्न आवाज उठाउनु भारतविरोधी राष्ट्रवाद नभएको उल्लेख गर्दै थापाले नेपालको सीमा र राष्ट्रिय हितको विषयमा स्पष्ट अडान आवश्यक रहेको बताएका छन् । थापाले अर्थमन्त्री वाग्लेको अभिव्यक्ति उनको मन्त्रालयको कार्यक्षेत्रभन्दा बाहिर रहेको दाबी गर्दै प्रधानमन्त्रीले उनलाई यथाशीघ्र पदबाट हटाउनुपर्ने बताएका छन् । विदेशी विश्वविद्यालयको उपाधि र अन्तर्राष्ट्रिय संस्थाको अनुभवलाई मात्रै योग्यताको आधार मान्न नहुने उल्लेख गर्दै उनले देशको हित, स्वाभिमान र जिम्मेवारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । थापाका यी टिप्पणी अर्थमन्त्री वाग्लेमाथि लगाइएका राजनीतिक आरोप र उनको कार्यशैलीप्रतिको आलोचनाका रूपमा आएका हुन् । २०- इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २००१ पछि बालोन डी’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बनेर इतिहास रचेका छन् । बायर्न म्युनिखका ३३ वर्षीय स्ट्राइकर केनलाई लन्डनमा आयोजित समारोहमा विश्वकै उत्कृष्ट खेलाडी घोषित गरिएको हो । यसअघि माइकल ओवेनले सन् २००१ मा यो अवार्ड जितेका थिए । केन बालोन डी’ओर जित्ने पाँचौँ इंग्लिस खेलाडी बनेका छन् । यसअघि स्टान्ली म्याथ्युजले सन् १९५६, बबी चार्ल्टनले सन् १९६६ तथा केभिन किगनले सन् १९७८ र १९७९ मा यो अवार्ड जितेका थिए । यसपटक फ्रान्सका किलियन एम्बाप्पे दोस्रो र स्पेनका लामिन यमाल तेस्रो स्थानमा रहे । केनले गत सिजन बायर्न म्युनिखका लागि ५१ खेलमा ६१ गोल गरेका थिए । इंग्ल्यान्डका लागि गरेको गोलसमेत जोड्दा उनले ६५ खेलमा ७३ गोल र आठ गोलका लागि सहयोग गरेका थिए । बायर्नका लागि एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका केनले जर्मन बुन्डेसलिगामा ३६ र च्याम्पियन्स लिगमा १४ गोल गरेका थिए । व्यक्तिगत प्रदर्शन उत्कृष्ट रहे पनि केनले गत सिजन विश्वकप र च्याम्पियन्स लिगको उपाधि जित्न सकेका थिएनन् । उनले बायर्नबाट जर्मन घरेलु दुई उपाधि जितेका थिए । उपाधिभन्दा व्यक्तिगत प्रदर्शन र गोल सङ्ख्यालाई प्राथमिकता दिँदै उनलाई बालोन डी’ओर प्रदान गरिएको हो । अवार्ड जितेपछि केनले आफ्नो करिअरमा धेरै उतारचढाव आएको र निरन्तर मेहनत तथा आत्मविश्वासका कारण सफलता प्राप्त गरेको बताएका छन् । इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले केनको उपलब्धिलाई ठूलो सम्मान भनेका छन् भने राजकुमार विलियमले उनलाई उत्कृष्ट कप्तान र असाधारण खेलाडीका रूपमा प्रशंसा गरेका छन् । The post यी हुन् आज दिनभरका प्रमुख २० समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

प्राधिकरणले भन्यो- शुक्रबारदेखि वर्षा र हिमपातको जोखिम छ, सतर्क रहनू
बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्णव’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकोे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले सूचना जारी गर्दै वर्षा, चट्याङ तथा हावाहुरीले पुर्याउन सक्ने असरप्रति उच्च सतर्क रहन पनि आग्रह गरेको छ। अर्णव चक्रवातको प्रभावले कोस... ...

काठसहित पाँच मोटरसाइकल प्रहरी नियन्त्रणमा
दाङ । दाङमा अवैध रूपमा चोरी तस्करी गर्न लागेको १६ वटा सालको चिरान काठसहित पाँचवटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठका अनुसार राप्ती... ...
चाँदीकप उपाधिका लागि एपिएफ र हाम्रो एकता भिड्दै
कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा जारी १६औँ रनिङ चाँदीकप खुला फुटबल प्रतियोगिताको उपाधिका लागि एपिएफ क्लब र हाम्रो एकता हाम्रो बलबिच प्रतिस्पर्धा हुने भएको छ । मङ्गलबार भएको दोस्रो सेमिफाइनल खेलमा राम... ...

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मिर्गौला पीडितलाई सहयोग
ताप्लेजुङ । ताप्लेजुङ युके युवा समाज युकेले ताप्लेजुङका क्यान्सर तथा मिर्गौला पीडितसहित तीन जनालाई रु एक लाख ६० हजार आर्थिक सहयोग प्रदान गरेको छ । समाजले मङ्गलबार सदरमुकाम फुङलिङमा पीडित... ...


