काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- टर्कीको अन्ताल्यामा आयोजित कोप–३१ जलवायु सम्मेलन जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा सहमति जुट्न नसक्दा निष्कर्षविहीन बनेको छ । युरोपेली सङ्घसहित विभिन्न देशले चौथो मस्यौदा सम्झौता अस्वीकार गरेपछि सम्मेलनको निष्कर्ष अन्योलमा परेको हो । मस्यौदामा कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनको उल्लेख नै नभएपछि युरोपेली सङ्घले आपत्ति जनाएको छ । युरोपेली सङ्घका प्रतिनिधि डाराग ओब्रायनले केही तेल उत्पादक देशले सम्मेलनलाई आफ्नो स्वार्थअनुकूल प्रभावित पारेको आरोप लगाउँदै प्रस्तावित सम्झौता जलवायु परिवर्तन नियन्त्रणका लागि पर्याप्त नभएको बताएका छन् । सम्मेलन अध्यक्ष मुरात कुरुमले चौथो मस्यौदामा सहमति हुन नसकेको र नयाँ मस्यौदा नआउने बताएका छन् । यसैबीच, रुसले जीवाश्म इन्धनको प्रयोग तत्काल अन्त्य गर्दा ऊर्जा अभाव र गरिबी बढ्न सक्ने तर्क गरेको छ । चीनले भने मस्यौदाप्रति केही असन्तुष्टि जनाउँदै त्यसलाई स्वीकार गर्ने जनाएको छ । जीवाश्म इन्धनको प्रयोग घटाउने स्पष्ट समयसीमा, आर्थिक सहयोग र न्यायोचित ऊर्जा रूपान्तरणको योजना समेट्न नसकेको भन्दै वातावरणीय अभियानकर्मीहरूले पनि मस्यौदाको आलोचना गरेका छन् । २- प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको उक्त शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ । उनीहरूले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार नै नयाँ दिल्ली पुगेका हुन् । उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपालका राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतका राजदूत महामहिम सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरलगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री शाहको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितसँगको उच्चस्तरीय भेटवार्ता भने सोमबार हुने तालिका छ । ३- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रतियोगिताको तयारी तीव्र पारिएको जनाउँदै अब राष्ट्रिय खेलकुद नियमित आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले एनपीएलले नेपाली खेलकुदमा जगाएको ऊर्जा, व्यावसायिकता र उत्साहलाई निरन्तरता दिँदै राष्ट्रिय खेलकुदलाई भव्य बनाउने तयारी भइरहेको बताएका छन् । उनका अनुसार दशौँ राष्ट्रिय खेलकुदका मुख्य प्रतियोगिता मङ्सिर ८ गतेदेखि सुरु हुनेछन् भने औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ । मन्त्री पोखरेलले हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका हालसम्म नौवटा संस्करण मात्रै सम्पन्न हुनु दुःखद भएको बताएका छन् । विगतमा देखिएको प्रतियोगिता आयोजनाको ढिलासुस्ती र अवरोध अन्त्य गर्दै अब नियमित रूपमा राष्ट्रिय खेलकुद आयोजना गर्ने उनको प्रतिबद्धता छ । नेपाली खेलकुदलाई बलियो संस्कृति र व्यावसायिक क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उनले दशौँ राष्ट्रिय खेलकुदलाई ऐतिहासिक र भव्य बनाउन खेलाडी, खेलप्रेमी तथा सरोकारवालासँग साथ र सहकार्यको अपेक्षा गरेका छन् । राष्ट्रिय खेलकुद प्रतियोगितालाई नियमित सञ्चालन गर्दै नेपाली खेलकुदको स्तर अभिवृद्धिमा गम्भीरतापूर्वक काम गर्ने पनि मन्त्री पोखरेलले बताएका छन् । ४- नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा विमानस्थलमा स्वागत गर्ने भारतीय प्रतिनिधिको तह र व्यक्तित्व फरक–फरक हुने गरेको छ । कुनै प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री आफैँले स्वागत गरेका छन् भने कतिपयलाई विदेशमन्त्री, गृहमन्त्री, राज्यमन्त्री तथा उच्च सरकारी अधिकारीले स्वागत गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आज भारत पुग्दा उनलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् । प्रधानमन्त्री शाह प्रधानमन्त्री बनेपछि पहिलो पटक भारतको राजकीय भ्रमणमा गएका हुन् । राजकीय भ्रमणमा कहिलेकाहिँ राज्य प्रमुखले प्रोटोकल तोडेर आफै स्वागतका लागि विमानस्थालमा पुग्ने गरेको देखिएको छ । सन् २००६ जुन ६ देखि ९ सम्म भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई तत्कालिन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले विमानस्थलमा पुगेर स्वागत गरेका थिए । यसलाई कूटनीतिक शिष्टाचारको असामान्य अभ्यासका रूपमा मानिने गरिएको छ । भारतीय प्रधानमन्त्रीले अहिलेसम्म विमानस्थलमै पुगेर नेपाली प्रधानमन्त्रीलाई स्वागत गरेको यो पहिलो पटक थियो । त्यसयताका प्रधानमन्त्रीले सो तहको स्वागत पाएका छैनन् । विमानस्थलमा स्वागत गर्ने प्रतिनिधिको तहले कूटनीतिक शिष्टाचार र भ्रमणको औपचारिकताबारे संकेत गर्ने भए पनि त्यसैका आधारमा दुई देशबीचको सम्बन्धको सम्पूर्ण अवस्था मूल्याङ्कन गर्न भने मिल्दैन । त्यस्तै, सन् २००८ सेप्टेम्बर १४ देखि १८ सम्म भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतका गृह राज्यमन्त्री सकिल अहमद र विदेश सचिव शिवशंकर मेननले स्वागत गरेका थिए । सन् २००९ अगस्ट १८ देखि २२ सम्म भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई विदेश राज्यमन्त्री प्रनीत कौरले स्वागत गरेकी थिइन् । सन् २०११ अक्टोबर २० देखि २३ सम्म भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भारतको विदेश मन्त्रालयकी शिष्टाचार प्रमुख रुचिरा कम्बोज र नेपालका लागि तत्कालीन भारतीय राजदूत जयन्त प्रसादले स्वागत गरेका थिए । सन् २०१६ फेब्रुअरी १९ देखि २४ सम्म भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय विदेशमन्त्री सुषमा स्वराजले स्वागत गरेकी थिइन् । सोही वर्ष सेप्टेम्बर १५ देखि १८ सम्म भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि स्वराजले नै स्वागत गरेकी थिइन् । ५- नेपालले एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत युएईलाई पराजित गरेको छ । कतारको दोहामा आइतबार सम्पन्न खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । युएईले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले २२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले सर्बाधिक ५७ रन बनाए भने मयन यादवले २७, बसिर अहमदले १८ रन बनाएका थिए । त्यस्तै युएईका बलर मुहमद मोहसिनले २ विकेट लिए भने उद्दिश सुरी र अंश टन्डनले एक एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएई ३९.५ ओभरमा अलआउट हुदै १२१ रन बनाएको थियो । युएईका लागि मुहमद शाहदादले सर्बाधिक ४० रन बनाए भने हरप्रित सिंहले ३२ रन बनाएका थिए । त्यस्तै नूरुल्लाह आयोबीले१२ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर कुशल भुर्तेल र सन्दीप लामिछानेले ३-३ विकेट लिए भने राशिद खान, नन्दन यादव र ललित राजबंशीले एक एक विकेट लिएका थिए । पहिलो खेलमा भारतसँग लज्जास्पद हार बेहोरेको नेपालले दोस्रो खेलमा जित हासिल गरेर प्रतियोगितामा कमब्याक गरेको छ । अब नेपालले तेस्रो तथा अन्तिम खेल पाकिस्तान ए सँग मंगलबार खेल्ने तालिका छ । त्यस्तै युएईले भने दुवै खेलमा हार बेहोरेको छ र अब अन्तिम खेल मंगलबार नै भारत ए सँग खेल्ने तालिका छ । सन् २०१७ अगस्ट २३ देखि २७ सम्म भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि विदेशमन्त्री सुषमा स्वराजले स्वागत गरेकी थिइन् । सन् २०१८ अप्रिल ६ देखि ८ सम्म भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए । त्यसैगरी, सन् २०२२ अप्रिल १ देखि ३ सम्म भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई पर्यटन तथा रक्षाराज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए । त्यस्तै, सन् २०२३ मे ३१ देखि जुन ३ सम्म भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विदेश तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन् । ६- प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई दिइएको छ । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री श्रेष्ठलाई दिइएको हो । प्रधानमन्त्री शाह आइतबार दिउँसो दुईदिने राजकीय भारत भ्रमणमा गएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहसँगै दोस्रो वरीयतामा रहेका अर्थमन्त्री स्वर्णिम वाग्ले र तेस्रोमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जाने भएकाले मन्त्रीपरिषद्मा चौथो वरीयतामा रहेका ऊर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अर्कोतर्फ प्रधानमन्त्री विदेश भम्रण जादा राष्ट्रपतिलाई जानकारी गराउने प्रचलन भने यस पटक तोडिएको छ । प्रधानमन्त्री शाहले पूर्व प्रधानमन्त्रीहरुसँग पनि कुनै छलफल गरेनन् भने राष्टपतिलाई समेत भेट नगरी भारत गएका छन् । ७- नेपाली कांग्रेसका नेता तथा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बानियाँलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन गत साता अनुमति लिएको हो । उनका छोरा दीक्षान्त बानियाँ पनि यसअघि नै सीआईबीको हिरासतमा छन् । उनलाई गत कात्तिक १६ गते पक्राउ गरिएको थियो । बानियाँ र उनका छोरामाथि बानियाँ निर्माण सेवा प्रालि, भूगर्भ सिमेन्ट कम्पनी र बानियाँ सप्लायर्स प्रालिका नाममा प्रभु बैंकबाट ३४ करोड रुपैयाँ ऋण लिएर तोकिएको प्रयोजनभन्दा फरक काममा खर्च गरेको आरोप छ । बानियाँ २०८२ साउनदेखि २०८३ भदौसम्म वाग्मती प्रदेशको मुख्यमन्त्री रहेका थिए । ८- कतार र जर्मनीले इरानलाई आणविक हतियार अप्रसार सन्धि पालना गर्न तथा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य पुनः सुरु गर्न आग्रह गरेका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नोभेम्बर २० र २१ मा भएको जर्मनी भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा इरानलाई आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यमा सीमित रहेको सुनिश्चित गर्न भनिएको हो । दुवै देशले व्यापारिक जहाजमाथि इरानले गर्दै आएका आक्रमण र धम्कीको निन्दा गर्दै होर्मुज जलडमरूमध्यमा जहाज आवागमन अवरुद्ध गर्ने कुनै पनि गतिविधिको विरोध गरेका छन् । त्यस्तै, यमनका हुथी विद्रोहीलाई हतियार तथा अन्य सहयोग उपलब्ध गराउन बन्द गर्न पनि इरानलाई आग्रह गरेका छन् । यो वक्तव्य कतारले इरान र अमेरिकाबीचको द्वन्द्व अन्त्य गर्न मध्यस्थताको प्रयास गरिरहेका बेला आएको हो । ९- मेक्सिकोमा अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) को सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्करीका नाइके फाउस्तो इसिद्रो मेजा फ्लोरेस पक्राउ परेपछि हिंसा भड्किएको छ । ‘एल चापो इसिद्रो’ नामले चिनिने मेजा फ्लोरेसलाई मेक्सिकोको सिनालोआ राज्यमा शुक्रबार राति गरिएको सैन्य कारबाहीका क्रममा पक्राउ गरिएको हो । उनी एफबीआईको सर्वाधिक खोजीमा रहेका १० अपराधीको सूचीमा थिए । सीबीएस न्युजका अनुसार मेक्सिकोको सेनाले शनिबार उनको पक्राउबारे जानकारी दिएको हो । एफबीआईका अनुसार मेजा फ्लोरेस लागुऔषध तस्करी गर्ने अन्तरदेशीय आपराधिक गिरोहका कथित प्रमुख हुन् । उक्त गिरोहले अमेरिकामा हेरोइन, मेथाम्फेटामिन, कोकिन, फेन्टानिल र गाँजाको तस्करी गर्दै आएको आरोप छ । मेक्सिकोमा समेत लागुऔषध उत्पादन, ढुवानी र वितरणमा गिरोहको नियन्त्रण रहेको एफबीआईले जनाएको छ । मेक्सिकोको राष्ट्रिय रक्षा मन्त्रालयका अनुसार विशेष सैन्य टोलीले उनको अवस्थिति पत्ता लगाएपछि गोप्य रूपमा पुगेर एउटा घर घेराबन्दी गरी पक्राउ गरेको थियो । पक्राउपछि सिनालोआ क्षेत्रमा हिंसा भड्किएको र सर्वसाधारणमा त्रास फैलिएको समाचारमा उल्लेख छ । सार्वजनिक भएका दृश्यमा गुआसावे क्षेत्रमा हेलिकप्टरबाट गोली प्रहार भएको देखिएको छ भने एक बेसबल रङ्गशालामा खेल हेरिरहेका मानिस गोली चलेको आवाज सुनेपछि भागाभाग गरेको देखिन्छ । १०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन् । उनले नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने यस भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका हुन् । प्रधानमन्त्री शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईदिने औपचारिक राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन् । प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी तथा विभिन्न संस्थाका प्रतिनिधि सहभागी छन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । भेटमा द्विपक्षीय सम्बन्ध थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारी रहेको रास्वपाले जनाएको छ । भ्रमणअघि प्रधानमन्त्री शाहले पार्टी सभापति रवि लामिछानेसँग भेट गरी भ्रमणबारे विस्तृत छलफल तथा जानकारी गराएका थिए । रास्वपाले प्रधानमन्त्रीको भारत भ्रमण सफल, उपलब्धिपूर्ण र सुखद रहोस् भन्दै शुभकामना व्यक्त गरेको छ । ११- संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा नेपालका लोकेश बम, राशिद खान र मयन यादवले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । एसिसी पुरुष राइजिङ स्टार्स प्रतियोगिता २०२६ अन्तर्गत यूएईविरुद्धको खेलमा लोकेशले नेपालको ४६औँ, राशिदले ४७औँ र मयनले ४८औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेलाडीका रूपमा डेब्यु गरेका हुन् । १२- एमसीए–नेपालले न्यू बुटवल सबस्टेसनदेखि न्यू दमौली सबस्टेसनसम्मको ४०० केभी क्षमताको दोहोरो सर्किटयुक्त विद्युत् प्रसारण लाइन निर्माण सुरु गरेको छ । एमसीए–नेपालले तनहुँ र पाल्पा जिल्लाबाट प्रसारण लाइन निर्माण कार्य प्रारम्भ गरेको जनाएको छ । एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको विद्युत् प्रसारण आयोजनाले निर्माण गर्ने कुल ३१५ किलोमिटर लामो प्रसारण लाइनमध्ये न्यू बुटवल–न्यू दमौली खण्ड ९० किलोमिटरको हुनेछ । यस खण्डअन्तर्गत तनहुँ, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा २५० वटा प्रसारण टावर निर्माण गरिनेछन् । उक्त प्रसारण लाइन निर्माणले नेपालको ऊर्जा सुरक्षा सुदृढ बनाउनुका साथै देशमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको एमसीए–नेपालले जनाएको छ । १३- मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार, प्रदेश प्रमुखको कार्यालयलमा आयोजित समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई मुख्यमन्त्रीको शपथ खुवाएका हुन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलका नेता यादवलाई प्रदेश प्रमुख कर्णले शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलले सरकार गठनका लागि दाबी नगरेपछि प्रदेश प्रमुख कर्णले कानुनी परामर्शपछि ठूलो दलको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएका यादवले ३० दिनभित्र बहुमत साबित गर्न विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । १४- प्रधानमन्त्री बालेन्द्र शाहले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुदसँगै कर्णाली प्रदेशको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । प्रधानमन्त्री शाहले पहिलोपटक कर्णालीमा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेशको पहिचान र सम्भावना उजागर गर्ने महत्त्वपूर्ण अवसर भएको बताएका हुन् । उनका अनुसार प्रतियोगितामा सहभागी हुने राष्ट्रियस्तरका ८ हजारभन्दा बढी खेलाडी, खेल अधिकारी तथा पदाधिकारीले कर्णालीका विभिन्न जिल्लामा प्रतिस्पर्धा गर्नेछन्। यसले खेलकुदका माध्यमबाट कर्णालीको प्राकृतिक भूगोल, मौलिक संस्कृति, ऐतिहासिक महत्त्व र आर्थिक सम्भावनालाई देशभर चिनाउन सहयोग पुग्ने उनको विश्वास छ । प्रधानमन्त्री शाहले प्रतियोगिताले नयाँ खेलाडीको पहिचान, खेलाडीलाई प्रतिस्पर्धाको अवसर र खेल पूर्वाधार विकासमा समेत योगदान पुर्याउने बताएका छन् । उनले प्रतियोगितालाई सफल बनाउन नागरिकस्तरबाटै साथ र समर्थन गर्न पनि आग्रह गरेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका मुख्य खेलहरू मङ्सिर ८ गतेदेखि सुरु हुनेछन् भने औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ । हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका अहिलेसम्म नौवटा संस्करण मात्रै आयोजना हुनुलाई प्रधानमन्त्री शाहले दुःखद पक्षका रूपमा उल्लेख गरेका छन् । उनले आगामी दिनमा प्रतियोगितालाई नियमित आयोजना गर्न र यसको स्तर अभिवृद्धि गर्न सरकारले गम्भीरतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् । १५- इजरायलमा नयाँ सरकार गठनका लागि गादी आइजेनकोट नेतृत्वको याशार पार्टीले बेन्जामिन नेतान्याहूको लिकुड पार्टीलाई गठबन्धनमा आउन निमन्त्रणा दिएको छ । तर, आइजेनकोटले प्रधानमन्त्री पद भने नेतान्याहूलाई नदिने स्पष्ट पारेका छन् । दुवै दलबीच आइतबार गठबन्धन सरकार गठनबारे छलफल हुने भएको छ । अक्टोबर २७ मा सम्पन्न निर्वाचनमा कुनै पनि गठबन्धनले बहुमत प्राप्त गर्न सकेका थिएनन् । १२० सदस्यीय संसद्मा सरकार गठनका लागि ६१ सिट आवश्यक पर्नेमा नेतान्याहूको गठबन्धनले ५३ र आइजेनकोटको गठबन्धनले ४८ सिट प्राप्त गरेका छन् । १९ सिट रहेको अरब दलहरूको समर्थन पाएपछि राष्ट्रपति इसाक हर्जोगले आइजेनकोटलाई सरकार गठनको जिम्मेवारी दिएका छन् । तर, अरब दलसँग सरकार बनाउनुपर्ने विषयमा आइजेनकोटको गठबन्धनभित्रै मतभेद देखिएको छ । पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटले आइजेनकोटलाई समर्थन गरे पनि नेतान्याहू नेतृत्वको सरकारमा सहभागी नहुने बताएका छन् । उनले नयाँ सरकार गठनका लागि सन् २०२३ को हमास आक्रमणमा भएको सुरक्षा कमजोरीको छानबिन, प्रधानमन्त्रीको कार्यकाल अधिकतम आठ वर्षमा सीमित गर्नुपर्ने र सैनिकलाई आर्थिक सुविधामा प्राथमिकता दिनुपर्ने माग राखेका छन् । आइजेनकोटलाई सरकार गठनका लागि डिसेम्बर ६ सम्मको समय दिइएको छ । आवश्यक परे थप १४ दिन समय थप्न सकिने व्यवस्था छ । १६- लियोनल मेसी अमेरिकी लिग सकर (एमएलएस) को इतिहासमा लगातार दुई सिजन सर्वाधिक गोलकर्ताको अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् । मेसीले सन् २०२६ को नियमित सिजनमा २६ गोल र १७ असिस्टसहित कुल ४३ गोलमा प्रत्यक्ष योगदान दिएका थिए । यसअघि सन् २०२५ को नियमित सिजनमा उनले २९ गोल र १९ असिस्ट गर्दै कुल ४८ गोलमा योगदान गरेका थिए । लगातार दुई सिजन सर्वाधिक गोलकर्ताको अवार्ड जित्दै मेसीले एमएलएसमा नयाँ कीर्तिमान कायम गरेका छन् । २०२३ देखि इन्टर मियामीबाट खेलिरहेका मेसीले अहिलेसम्म १२५ खेल खेल्दै १०७ गोल गरेका छन् । १७- इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले बहराइनमा रहेको अमेरिकी सेनाको प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीका दुई राडारलाई निशाना बनाएको दाबी गरेको छ । इरानका स्थानीय मिडियाका अनुसार बहराइनको अल रिफा र अवालीस्थित दुई सैन्य शिविरमा जडान गरिएका राडारमाथि क्षेप्यास्त्र र मानवरहित विमानमार्फत आक्रमण गरिएको इरानी रिभोलुसनरी गार्ड्सले जनाएको छ । रिभोलुसनरी गार्ड्सको जनसम्पर्क विभागले इरानको हवाई क्षेत्रमा निरन्तर उल्लङ्घन तथा आफूमाथि भइरहेको आक्रामक गतिविधिको जवाफस्वरूप आक्रमण गरिएको उल्लेख छ । अमेरिकी सेनाका एमक्यू–१ र एमक्यू–९ नामक दुई जासुसी मानवरहित विमान इरानको हवाई क्षेत्रमा प्रवेश गरेपछि उक्त कारबाही गरिएको हो । इरानको रिभोलुसनरी गार्ड्सले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गर्ने कुनै पनि देश वा आक्रामक शक्तिलाई कडा र निर्णायक जवाफ दिने चेतावनीसमेत दिएको छ । यद्यपि, बहराइनस्थित अमेरिकी सैन्य शिविरका राडारमा क्षति पुगेको वा आक्रमणबाट भएको क्षतिको अमेरिकी पक्षले पुष्टि भने गरेको छैन । १८- स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले सेल्टा भिगोलाई २–१ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा पछि परेको अवस्था उल्टाउँदै रियलले महत्त्वपूर्ण तीन अंक जोडेको हो । खेलको छैटौँ मिनेटमै पाब्लो दुरानले गोल गर्दै सेल्टा भिगोलाई अग्रता दिलाएका थिए । सुरुवातमै पछि परेको रियलले बराबरीका लागि लगातार आक्रमण गरे पनि पहिलो हाफमा गोल गर्न सकेन । खेलको ३९औँ मिनेटमा रियलले पेनाल्टी पाउने अवसर पाएको थियो । तर, किलियन एम्बाप्पेले प्रहार गरेको पेनाल्टी बारमाथिबाट बाहिरिएपछि रियलले बराबरी गर्ने मौका गुमाएको थियो । दोस्रो हाफमा भने रियलले खेलमा पुनरागमन गर्यो । खेलको ६६औँ मिनेटमा जुड बेलिङ्घमले किलियन एम्बाप्पेको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि जितका लागि दबाब बढाएको रियलले खेलको ८५औँ मिनेटमा निर्णायक गोल गर्यो । भिनिसियस जुनियरको प्रहारपछि फर्किएको बललाई कार्लोस एस्पीले जाली चुमाउँदै रियललाई २–१ को अग्रता दिलाए । अन्तिम समयसम्म सेल्टाले बराबरी गोल फर्काउन नसकेपछि रियलले जित सुनिश्चित गर्यो । यस जितसँगै रियल मड्रिडले लगातार नवौँ जित निकालेको छ । ला लिगामा १३ खेलबाट ३३ अंक जोडेको रियल अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनासँग बराबरीमा पुगेको छ । तर, त्यस्तै सेल्टाको भने १३ खेलमा १३ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ । १९- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले विभिन्न पुरस्कार प्राप्त गरेका छन् । शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले पहिलोपटक उपाधि जितेको थियो । उपाधि जितेको सुदूरपश्चिम रोयल्सले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता लुम्बिनी लायन्सले ८० लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै, तेस्रो भएको चितवन राइनोजले ४० लाख र चौथो भएको काठमाडौं गोर्खाजले ३० लाख रुपैयाँ पुरस्कार पाएका छन् । व्यक्तिगत विधातर्फ सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । चितवन राइनोजका रिजन ढकाल प्रतियोगिताको उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै विद्युतीय गाडी पुरस्कार पाउन सफल भएका छन् । प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएका ढकालले गोल्डेन क्यापसँगै दुई लाख रुपैयाँ पनि प्राप्त गरेका छन् । उनी उत्कृष्ट बलरसमेत घोषित भएका छन् । उत्कृष्ट बलर बनेबापत उनले मोटरसाइकल पुरस्कार पाएका छन् । यसैगरी, विराटनगर किङ्सका लोकेश बम नेपाली खेलाडीमध्ये सर्वाधिक रन बनाउने खेलाडी घोषित भएका छन् । उनले प्रतियोगितामा २४२ रन बनाएका थिए । यस उपलब्धिका लागि उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, जनकपुर बोल्ट्सका राहुल यादव प्रतियोगिताको उदयीमान खेलाडी घोषित भएका छन् । उनले पनि मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । चितवन राइनोजका कमिल मिसार प्रतियोगिताको उत्कृष्ट ऊर्जाशील खेलाडी घोषित भएका छन् । उनले दुई लाख रुपैयाँ पुरस्कार पाएका छन् । पोखरा एभेन्जर्सका युवराज साम्राले प्रतियोगितामा सर्वाधिक २९४ रन बनाउँदै प्लेटिनम क्याप जितेका छन् । उनले यस विधामा दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, लुम्बिनी लायन्सले यस सिजनको एमसीसी स्पिरिट अफ क्रिकेट अवार्ड जितेको छ । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले एनपीएलसँग सहकार्य गर्दै प्रतियोगितामा उत्कृष्ट खेलभावना, निष्पक्ष खेल प्रदर्शन तथा विपक्षी टोली, खेल पदाधिकारी र दर्शकप्रति सम्मान देखाउने टिमलाई गत सिजनदेखि यो अवार्ड दिन शुरु गरिएको हो । गत सिजनमा यो अवार्ड काठमाडौँ गोर्खाजले पाएको थियो । २०- लिड्स युनाइटेडले इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा चेल्सीमाथि शानदार जित हासिल गरेको छ । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा गएराती सम्पन्न खेलमा लिड्स युनाइटेडले चेल्सीलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । चेल्सीले खेलको २५औं मिनेटमा इमानुएल एमेघाको गोलमा शुरुवाती अग्रता लिए पनि अग्रता जोगाउन नसक्दा हार बेहोरेको थियो । १-० ले पछि परेको लिड्सले खेलमा कमब्याक गर्दै शानदार जित हासिल गरेको थियो । लिड्सको जितमा नोआह ओकाफोरले २ गोल गरे भने डोमिनिक कलभर्ट लेविन र ब्रेण्डेन एरोनसनले एक गोल गरेका थिए । यो जितपछि लिड्स युनाइटेडको ११ खेलमा १७ अंक भएको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै चेल्सीको भने ११ खेलमा १६ अंक रहेको छ र लिगमा आठौँ स्थानमा रहेको छ । The post यी हुन् आज दिनभरका प्रमुख २० समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
यी हुन् आज दिनभरका प्रमुख २० समाचार

Read Complete Original Article
Published originally on कर्पोरट खबर






