Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

मन्त्रीको बिदेश भ्रमण लर्काे, पासोमा बेरियो बालेन सरकारको सुशासनको पात्रो

Share:WhatsAppFacebookX (Twitter)Telegram
मन्त्रीको बिदेश भ्रमण लर्काे, पासोमा बेरियो बालेन सरकारको सुशासनको पात्रो
Photo / Coverage: जनताटाइम्स

विपद्ले थलिएको अर्थतन्त्र, पुनर्निर्माणको चाप र निजी क्षेत्रको खस्कँदो मनोबलबीच १६ सदस्यीय मन्त्रिपरिषद्का ६ मन्त्री विदेश भ्रमणमा पुगेपछि बालेन सरकार मितव्ययिता, प्रशासनिक सुधार र सुशासनको नारा दिने आफ्नै प्रतिबद्धता कार्यान्वयनमा चुकेको तथ्य उजागर भएको छ काठमाडौं, कात्तिक २९ । सुशासन, मितव्ययिता, प्रशासनिक सुधार र सरकारी खर्च कटौतीलाई प्रमुख एजेन्डा बनाएर सत्तारोहण गरेको प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको रास्वपा सरकार आफ्नै प्रतिबद्धताको परीक्षामा परेको छ । मुलुक प्राकृतिक विपद्को क्षति, आर्थिक मन्दीको दबाब, निजी क्षेत्रको कमजोर मनोबल र पुनर्निर्माणको चुनौतीसँग जुधिरहेका बेला सरकारका मन्त्रीहरूको विदेश भ्रमणको लर्को लागेको छ । सरकार गठन भएको आठ महिना नपुग्दै मन्त्रिपरिषद्का करिब एकतिहाइ मन्त्री एकसाथ विदेश भ्रमणमा पुगेपछि बालेन सरकारको प्राथमिकता र कार्यशैलीमाथि प्रश्न उठ्न थालेको हो । १६ सदस्यीय मन्त्रिपरिषद्का ६ जना मन्त्री एकै अवधिमा विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमका नाममा विदेश पुगेको विवरण सार्वजनिक भएको छ । भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल र गृहमन्त्री सुधन गुरुङ रहनुभएको छ । सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको कतार भ्रमण तथा पर्यटनमन्त्री खडकराज पौडेलको बेलायत भ्रमण पनि यही अवधिको विदेश भ्रमणको बहसमा जोडिएका छन् । यी सबै भ्रमणको औतित्यमाथि यतिबेला प्रश्न उठेको हो । विपद्ले थलिएको देश, विदेशमा व्यस्त मन्त्री भदौ १० गते भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीले मुलुकको पूर्वाधार, व्यापार, पर्यटन र निजी क्षेत्रलाई ठूलो क्षति पुर्याएको छ । बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँ बरावरको क्षति र आर्थिक नोक्सानी पुगेको प्रारम्भिक सरकारी आकलन छ । त्यसमध्ये झन्डै ३ खर्ब रुपैयाँ निजी व्यवसाय, घरपरिवार र निजी पूर्वाधारमा परेको क्षति रहेको प्रारम्भिक मूल्यांकन छ । बाढीले झन्डै ४ हजार ८ सय व्यवसायमा क्षति पुगेको छ भने १३ जलविद्युत् आयोजना र पाँच सौर्य ऊर्जा आयोजनासमेत प्रभावित भएका छन् । पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने प्रारम्भिक अनुमान छ । भोटेकोशी बाढीको असर अर्थतन्त्रमा समेत देखिएको छ । एसियाली विकास बैंकले चालु आर्थिक वर्षको आर्थिक वृद्धि प्रक्षेपण ४.५ प्रतिशतबाट घटाएर ४.१ प्रतिशतमा झारेको छ । यस्तो अवस्थामा सरकारको पहिलो प्राथमिकता विपद्पीडितको पुनःस्थापना, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, प्रभावित उद्योग व्यवसायको पुनरुत्थान र लगानीकर्ताको मनोबल फर्काउने हुनुपर्ने हो । तर मन्त्रीहरूको विदेश भ्रमणको बढ्दो सक्रियताले सरकारको प्राथमिकता काम होइन, घुमघाम र मनोरञ्जन रहेछ भन्ने आभाष हुनुका साथै नियतमै प्रश्न उठाएको छ । एउटै सम्मेलनमा पाँच मन्त्री, औचित्यको प्रश्न मन्त्रीहरूको विदेश भ्रमणमध्ये सबैभन्दा बढी चर्चा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालको सहभागितालाई लिएर भइरहेको छ । टर्कीको अन्ताल्यामा आयोजित सम्मेलनमा परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कृषिमन्त्री गीता चौधरी, स्वास्थ्यमन्त्री निशा मेहता र शिक्षामन्त्री सस्मित पोखरेल एकसाथ पुग्नुभएको छ । जलवायु परिवर्तनको जोखिममा रहेको नेपालका लागि कोप सम्मेलन महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च हो । जलवायु वित्त, हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षण, हानि तथा नोक्सानीको क्षतिपूर्ति र जलवायु अनुकूलनका विषयमा नेपालको बलियो उपस्थिति आवश्यक पनि छ । तर एउटै सम्मेलनमा पाँच मन्त्रीको सहभागिता आवश्यक थियो ? के यी सबै विषयमा मन्त्रीस्तरकै प्रतिनिधित्व अनिवार्य थियो ? के सम्बन्धित मन्त्रालयका सचिव वा प्राविधिक विज्ञले प्रतिनिधित्व गर्न सक्ने अवस्था थिएन ? यी प्रश्नको जवाफ नागरिकले खोजिरहेका छन । तर सरकारले सार्वजनिक गर्न सकेको छैन । परराष्ट्रमन्त्री र कृषिमन्त्रीले औपचारिक प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । तर त्यही सम्मेलनमा प्रधानमन्त्रीपछिको बरियतामा रहनुभएका अर्थमन्त्री स्वर्णिम वाग्ले पनि पुग्नुभएको हो । उहाँले जलवायु वित्त तथा आर्थिक विकासका विषयमा धारणा राख्नुभएको छ भने स्वास्थ्यमन्त्रीले जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी छलफलको नेतृत्व गर्नुभएको छ । शिक्षामन्त्री पनि सम्मेलनका कार्यक्रममा सहभागी हुन टर्कीमा देखिनुभएको छ । विषयगत जिम्मेवारी फरक हुनु स्वाभाविक हो । तर एउटै अन्तर्राष्ट्रिय सम्मेलनमा यति धेरै मन्त्री पठाउँदा त्यसबाट प्राप्त हुने अतिरिक्त उपलब्धि के हो ? आर्थिक रुपमा जर्जर बनेको बेला बिदेशमा मन्त्रीको जुलुस लागेर सरकारी ढुकुटी रित्याउने कामको औचित्य सरकारले पुष्टि गर्न सक्ने अवस्था छैन । सम्मेलनदेखि पर्यटन मेलासम्म मन्त्रीकै नेतृत्व विदेश भ्रमणको सूची कोप–३१ मा मात्रै सीमित छैन । गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्सको दुबई पुग्नुभएको छ । सम्मेलनमा साइबर अपराध, डिजिटल ठगी, वित्तीय अपराध, मानव बेचबिखन, सीमा सुरक्षा तथा आधुनिक प्रहरी प्रविधिबारे छलफल हुने कार्यक्रम छ । यो सम्मेलनमा प्रहरी प्रमुख र गृहसचिव सहभागी हुनुपर्ने हो तर मन्त्री आफै दौडिनुभएको छ । त्यस्तै सञ्चारमन्त्री विक्रम तिमिल्सिना कतारको दोहामा आयोजित अन्तर्राष्ट्रिय दूरसञ्चार संघको विश्व दूरसञ्चार नीति मञ्चमा सहभागी हुन पुग्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल नोभेम्बर ३ देखि ५ सम्म बेलायतको लन्डनमा आयोजित वल्र्ड ट्राभल मार्केटमा सहभागी भएर फर्किनु भएको छ । उक्त भ्रमणमा पर्यटन क्षेत्रसँग सम्बन्धित ३२ वटा निजी कम्पनीले समेत सहभागिता जनाएका थिए । यसरी विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन, मञ्च र मेलामा मन्त्री स्वयं सहभागी भइरहँदा सरकारले कुन कार्यक्रममा मन्त्री नै जानुपर्ने र कुनमा सचिव वा विषयगत विज्ञ पठाउन सकिने भन्ने स्पष्ट मापदण्ड सार्वजनिक गरेको छैन । तर सरकार गठन भएलगत्ते आर्थिक मितब्ययिता र बिदेश भ्रमणमा कटौतीको नारा आफै लज्जित हुनुपरेको छ । सुशासनको नारा र व्यवहारबीच विरोधाभास बालेन नेतृत्वको रास्वपा सरकारले सत्तारोहण गर्दा सार्वजनिक बिदा कटौती, प्रशासनिक सुधार, सरकारी खर्च नियन्त्रण र कर्मचारीको कार्यसम्पादन सुधारलाई प्राथमिकतामा राखेको घोषणा गरेको थियो । सरकारी खर्चमा मितव्ययिता अपनाउने र राज्यको स्रोतसाधनको प्रभावकारी उपयोग गर्ने प्रतिबद्धता पनि सरकारको प्रमुख एजेन्डा थियो । तर अहिले मन्त्रीहरूको विदेश भ्रमणको औचित्य, खर्च र उपलब्धतामाथि उठेका प्रश्नले सरकारको सुशासनको दाबीलाई नै चुनौती दिएको छ । सरकारले सामान्य कर्मचारीको विदेश भ्रमणमा समेत नियन्त्रण र स्वीकृतिको प्रक्रिया कडा बनाउने नीति अघि सारेको छ । तर मन्त्रीहरूका हकमा त्यही मितव्ययिता र पारदर्शिताको मापदण्ड कसरी लागू भइरहेको छ भन्ने विषय स्पष्ट हुन सकेको छैन । मन्त्री विदेश जानु आफैँमा गलत होइन । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नु, कूटनीतिक सम्बन्ध विस्तार गर्नु र आर्थिक तथा प्राविधिक सहयोग जुटाउनु सरकारको जिम्मेवारी नै हो । तर विदेश भ्रमणको औचित्य, प्रतिनिधिमण्डलको आकार, राज्यकोषबाट भएको खर्च र भ्रमणपछि प्राप्त उपलब्धि सार्वजनिक नगर्ने हो भने त्यस्ता भ्रमणप्रति प्रश्न उठ्नु स्वाभाविक हो । निजी क्षेत्रको मनोबल र सरकारप्रतिको अविश्वास अर्कोतर्फ निजी क्षेत्र अहिले प्राकृतिक विपद्को क्षति, लगानीको अनिश्चितता र व्यवसाय सञ्चालनमा देखिएका कठिनाइसँग जुधिरहेको छ । भोटेकोशी बाढीले निजी क्षेत्रको अर्बौं रुपैयाँको सम्पत्ति र व्यावसायिक संरचना ध्वस्त पारेको छ । प्रभावित व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन सहुलियतपूर्ण कर्जा, कर छुट, पुनर्निर्माण सहायता र नीतिगत स्थिरता आवश्यक छ । तर निजी क्षेत्रको मनोबल उकास्ने काममा सरकारको सक्रियता कति प्रभावकारी छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ । सरकारका नीतिगत निर्णय र कार्यशैलीले निजी क्षेत्रको विश्वास बढाउनुपर्नेमा अनिश्चितता र आशंका बढाएको व्यवसायीहरूको गुनासो छ । यस्तो अवस्थामा मन्त्रीहरूको विदेश भ्रमणलाई लिएर उठेको प्रश्न केवल खर्चको विषय मात्र होइन, सरकारको प्राथमिकता र जवाफदेहितासँग पनि जोडिएको छ । राज्यकोषबाट खर्च भएको हो वा आयोजक तथा दातृ निकायले बेहोरेको हो भन्ने विवरणसमेत सार्वजनिक हुनुपर्छ । पर्यटनमन्त्रीको बेलायत भ्रमण दातृ निकायको खर्चमा भएको बताइए पनि अन्य भ्रमणको खर्चको पूर्ण विवरण सार्वजनिक बहसमा आएको छैन । प्रधानमन्त्री शाहले खोज्नुपर्ने जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको सुशासन र मितव्ययिताको प्रतिबद्धतालाई व्यवहारमा उतार्न चाहनु भएको हो भने मन्त्रीहरूको विदेश भ्रमणको विषयमा पनि स्पष्ट मापदण्ड लागू गर्नुपर्ने देखिन्छ । कुन मन्त्री किन विदेश गए ? प्रतिनिधिमण्डलमा कति सदस्य थिए ? भ्रमणमा राज्यकोषबाट कति रकम खर्च भयो ? आयोजक वा दातृ निकायले कति खर्च बेहोरे ? भ्रमणबाट नेपालले के उपलब्धि हासिल गर्यो ? भ्रमणपछि त्यसको प्रतिवेदन सार्वजनिक भयो कि भएन ? यी प्रश्नको जवाफ सरकारले जनतालाई स्पष्ट रुपमा दिनुपर्छ । अझ एउटै सम्मेलनमा पाँच मन्त्री सहभागी हुनुको औचित्य र त्यसबाट प्राप्त हुने उपलब्धिको मूल्यांकन सार्वजनिक गर्नु आवश्यक छ । अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागितालाई उपलब्धि मान्ने कि त्यसबाट नेपालले प्राप्त गरेको जलवायु वित्त, प्रविधि, सहकार्य र नीतिगत लाभलाई उपलब्धि मान्ने भन्ने विषयमा सरकार स्पष्ट हुनुपर्छ । सुशासनको पात्रोमा विदेश भ्रमणको छाँया बालेन सरकारको राजनीतिक पुँजी सुशासन, पारदर्शिता र पुरानो राजनीतिक कार्यशैलीभन्दा फरक शासन सञ्चालन गर्ने वाचामा आधारित छ । तर सरकार गठन भएको आठ महिना नपुग्दै पुरानै शैलीका विदेश भ्रमणको अभ्यास दोहोरिन थालेको आरोप लाग्नु सरकारका लागि सहज विषय होइन । देशभित्र विपद्पीडित पुनःस्थापनाको प्रतीक्षामा छन् । क्षतिग्रस्त सडक, पुल र जलविद्युत् आयोजना पुनर्निर्माणको पर्खाइमा छन् । निजी क्षेत्र लगानीको वातावरण खोजिरहेको छ । नागरिक सरकारी सेवा प्रवाहमा सुधार चाहिरहेका छन् । यस्तो बेला सरकारका मन्त्रीहरूको प्राथमिकता के हो भन्ने प्रश्न उठ्नु अस्वाभाविक होइन । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति आवश्यक छ, तर त्यसको नाममा राज्यकोषको खर्च र प्रतिनिधिमण्डलको आकारमाथि प्रश्न उठ्न नदिनु पनि उत्तिकै आवश्यक छ । सुशासन भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ । मितव्ययिता कर्मचारीका लागि मात्रै होइन, मन्त्री र प्रधानमन्त्रीका लागि पनि लागू हुनुपर्छ । नत्र सार्वजनिक खर्च घटाउने, प्रशासन सुधार्ने र पुरानो राजनीतिक संस्कार बदल्ने घोषणा गरेको बालेन सरकारको आफ्नै सुशासनको पात्रोमा विदेश भ्रमणको लर्को नै सबैभन्दा ठूलो विरोधाभास बनेर रहने बिज्ञहरूको निचोड छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अपर तामाकोशीको विद्युत बिक्रीबाट ३ अर्ब ९४ करोड आम्दानी, घटायो दीर्घकालीन ऋणको ब्याजदर
Economy & BusinessJust now

अपर तामाकोशीको विद्युत बिक्रीबाट ३ अर्ब ९४ करोड आम्दानी, घटायो दीर्घकालीन ऋणको ब्याजदर

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सामान्य घटेको छ । कम्पनीले तीन महिनामा १ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २ प्रतिशत कम हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ खुद नाफा ...

आर्थिक न्यूज
निर्जीवन बीमामा मोटर र सम्पत्ति बीमाको दबदबा, एक महिनामै साढे ४ अर्ब बीमाशुल्क संकलन
Economy & BusinessJust now

निर्जीवन बीमामा मोटर र सम्पत्ति बीमाको दबदबा, एक महिनामै साढे ४ अर्ब बीमाशुल्क संकलन

काठमाडौं- निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा मोटर र सम्पत्ति बीमाको हिस्सा सबैभन्दा ठूलो देखिएको छ । सवारीसाधनको बढ्दो प्रयोग, मोटर बीमासम्बन्धी अनिवार्य व्यवस्था तथा सम्पत्तिको बीमा गर्ने प्रवृत्ति बढ्दै जाँदा यी दुई क्षेत्र निर्जीवन बीमा कम्पनीका ...

आजको अर्थ
१५ वर्ष साउदीमा बिताएका गुरुङ स्वदेश फर्किएर बङ्गुरपालनमा रमाउँदै, पाठापाठी बेचेरै राम्रो आम्दानी
Economy & BusinessJust now

१५ वर्ष साउदीमा बिताएका गुरुङ स्वदेश फर्किएर बङ्गुरपालनमा रमाउँदै, पाठापाठी बेचेरै राम्रो आम्दानी

नवलपुर । करिब १५ वर्ष साउदी अरबमा वैदेशिक रोजगारी गरेर फर्किएका नवलपुरका एक किसान अहिले व्यावसायिक बङ्गुरपालनमा रमाइरहेका छन् । विदेशमा लामो समय श्रम र पसिना बगाएका मध्यविन्दु नगरपालिका–३, ब्रम्हस्थानका ५९ वर्षीय नन्दे गुरुङले स्वदेशमै व्यवसाय सुरु गरेर राम्रो आम्दानी गर्न थालेका हुन् । अरूको देशमा श्रम गर्नुभन्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उनी आठ … ...

आर्थिक न्यूज
नेपाल एसबीआई बैंकका सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश, यस्तो छ बाँडफाँट
Economy & BusinessJust now

नेपाल एसबीआई बैंकका सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश, यस्तो छ बाँडफाँट

नेपाल एसबीआई बैंक लिमिटेडले सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको ५५२औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट हाल ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play