Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/मङ्गलका चन्द्रमा फोबोसबाट धुलो ल्याउन जापानको अन्तरिक्ष अभियान

मङ्गलका चन्द्रमा फोबोसबाट धुलो ल्याउन जापानको अन्तरिक्ष अभियान

Share:WhatsAppFacebookX (Twitter)Telegram
मङ्गलका चन्द्रमा फोबोसबाट धुलो ल्याउन जापानको अन्तरिक्ष अभियान

काठमाडौं, कात्तिक ३ । जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट धुलोका नमुना सङ्कलन गरी पृथ्वीमा ल्याउने उद्देश्यसहित अन्तरिक्ष अभियान अघि बढाएको छ। मार्स मुन्स एक्सप्लोरेसन (एमएमएक्स) नाम दिइएको यस अभियानले मङ्गलका चन्द्रमाहरू कसरी बने भन्ने रहस्य पत्ता लगाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। अभियान सफल भएमा मङ्गल ग्रह वा यसका चन्द्रमाबाट नमुना सङ्कलन गरी पृथ्वीमा ल्याउने पहिलो अभियान हुनेछ। अन्तरिक्ष यान सन् २०२७ अगस्टमा फोबोस पुग्ने र सन् २०३१ मा नमुनासहित दक्षिण अस्ट्रेलियाको वुमेरा मरुभूमिमा अवतरण गर्ने लक्ष्य राखिएको छ। मङ्गलको छिमेकमा पुगेपछि अन्तरिक्ष यानले पहिले डेमोसको अध्ययन गर्नेछ। त्यसपछि फोबोसमा केन्द्रित भएर त्यहाँको सतह अध्ययन गर्न एउटा सानो रोभर अवतरण गराउने योजना छ। रोभरले अवतरणका लागि उपयुक्त स्थान पहिचान गर्न सहयोग गर्नेछ। त्यसपछि अन्तरिक्ष यानले रोबोटिक हात र दुईवटा नमुना सङ्कलकको प्रयोग गरी फोबोसको सतहबाट धुलो जम्मा गर्नेछ। पृथ्वीमा ल्याइने नमुनाको मात्रा करिब १० ग्राम हुनेछ। वैज्ञानिकहरूका अनुसार नमुनाको मात्रा थोरै भए पनि त्यसको रासायनिक र खनिज संरचनाको विस्तृत अध्ययन गर्न सकिनेछ। वैज्ञानिकहरूले मङ्गलका चन्द्रमा फोबोस र डेमोसको उत्पत्तिबारे दुई प्रमुख परिकल्पना अघि सारेका छन्। पहिलो, मङ्गल ग्रहमा कुनै ठूलो अन्तरिक्ष चट्टान ठोक्किँदा उछिट्टिएका भग्नावशेषबाट यी चन्द्रमा बनेका हुन सक्छन्। दोस्रो, यी चन्द्रमा बाहिरी सौर्यमण्डलबाट आएका क्षुद्रग्रह हुन्, जसलाई मङ्गलको गुरुत्वाकर्षणले आफ्नो कक्षमा तानेको हुन सक्छ। एमएमएक्स मिसनको नमुना विश्लेषणतर्फकी उपप्रमुख तथा नेचुरल हिस्ट्री म्युजियमकी प्राध्यापक सारा रसेलका अनुसार नमुनाको रासायनिक तथा खनिज संरचनाको अध्ययनले यी दुई परिकल्पनामध्ये कुन सही हो भन्ने पत्ता लगाउन मद्दत गर्नेछ। फोबोस मङ्गल ग्रहको सतहसँग नजिक रहेकाले मङ्गलमा हुने ठक्करका क्रममा उछिट्टिएका केही कण फोबोसमा पुगेको हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ। त्यसैले फोबोसबाट सङ्कलित नमुनामा मङ्गल ग्रहका कणसमेत भेटिन सक्ने सम्भावना छ। त्यस्ता कणले मङ्गलको संरचना र इतिहासबारे थप जानकारी दिन सक्नेछन्। यसअघि अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सेभरेन्स रोभरले मङ्गल ग्रहबाट नमुना सङ्कलन गरी भण्डारण गरिरहेको छ। ती नमुना पृथ्वीमा ल्याउने नासा र युरोपेली अन्तरिक्ष एजेन्सीको ‘मार्स स्याम्पल रिटर्न’ अभियान भने बजेटसम्बन्धी समस्याका कारण अघि बढ्न सकेको छैन। चीनले पनि मङ्गल ग्रहबाट नमुना ल्याउने अभियान सन् २०२८ मा प्रक्षेपण गर्ने योजना बनाएको छ। मङ्गल ग्रहका केही टुक्रा उल्कापिण्डका रूपमा पृथ्वीमा आइपुगेका छन्। तर पृथ्वीको वायुमण्डल, माटो र पानीसँग सम्पर्कमा आएपछि ती नमुना दूषित हुन सक्छन्। अन्तरिक्षबाट प्रत्यक्ष रूपमा सङ्कलन गरी ल्याइएका नमुनाको अध्ययनले मङ्गल र यसका चन्द्रमाबारे थप विश्वसनीय जानकारी प्राप्त गर्न वैज्ञानिकहरूलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

दक्षिण कोरियामा सरकारद्वारा उपलब्ध गराइएका आधा जति जीपीयूहरू प्रयोगविहीन
प्रविधिJust now

दक्षिण कोरियामा सरकारद्वारा उपलब्ध गराइएका आधा जति जीपीयूहरू प्रयोगविहीन

दक्षिण कोरियामा सरकारद्वारा उपलब्ध गराइएका आधा जति जीपीयूहरू प्रयोगविहीन रहेको देखिएका छन्। उद्योग क्षेत्रका स्रोतहरूलाई उद्धृत गर्दै ‘न्युसिस’ ले जनाएअनुसार, दक्षिण कोरियाको एआई क्षमता सुदृढ पार्न ठूलो लगानी गरिएको भए तापनि, सरकारले उपलब्ध गराएका कुल १०,१०४ ओटा ग्राफिक्स प्रोसेसिङ युनिटहरूमध्ये सेप्टेम्बरसम्ममा ५१.८ प्रतिशत मात्र प्रयोगमा रहेका छन्। सन् २०२५ को पूरक बजेटमार्फत प्राप्त गरिएका यी जीपीयूहरूमा ७,८४८ वटा ‘एनभिडिया बी२००’ (Nvidia B200) ...

टेक्नोलोजी खबर
सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एफ ७० फाइभजीका प्रमुख विशेषता र सार्वजनिक हुने मिति
प्रविधिJust now

सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एफ ७० फाइभजीका प्रमुख विशेषता र सार्वजनिक हुने मिति

सामसङले फेब्रुअरीमा ग्यालेक्सी एफ ७०ई र अगस्टमा ग्यालेक्सी एफ ७० प्रो सार्वजनिक गरेको थियो। यस सिरिजको आधारभूत मोडेल ग्यालेक्सी एफ ७० भने गत साता गुगलको डेटाबेसमा देखा परेको थियो। आज फ्लिपकार्टले ग्यालेक्सी एफ ७० फाइभजीका लागि छुट्टै पृष्ठ सार्वजनिक गर्दै यो फोन भारतमा अक्टोबर १८ मा सार्वजनिक हुने जनाएको छ। यसको सुरुवाती मूल्य करिब २२५ अमेरिकी डलर हुनेछ। यो फोनमा फुल एचडी ...

टेक्नोलोजी खबर
लन्डनमा मोबाइल कनेक्टिभिटी सुधार्ने प्रयास प्रभावकारी देखिएन
प्रविधिJust now

लन्डनमा मोबाइल कनेक्टिभिटी सुधार्ने प्रयास प्रभावकारी देखिएन

बेलायतको राजधानी लन्डनमा मोबाइल कनेक्टिभिटी सुधार गर्ने अभियानमा सहरका मेयर जुटेका छन्। तर, उनले हालै सार्वजनिक गरेको कार्ययोजना भने अपेक्षाअनुसार प्रभावकारी देखिएको छैन। लन्डनका मेयर सादिक खानले बिहीबार सहरमा मोबाइल नेटवर्कको सेवा कमजोर रहेका क्षेत्रबारे नयाँ प्रतिवेदन, स्थानीय प्रशासनिक क्षेत्रलाई कनेक्टिभिटी सुधार गर्न सहयोग गर्ने कार्यहरूको सूची र नेटवर्कको कार्यसम्पादन देखाउने अन्तरक्रियात्मक नक्सासम्बन्धी विवरण सार्वजनिक गरे। यस घोषणामा अपेक्षाअनुसार प्रचार धेरै गरिएको ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play