Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Others/म फिल्म बनाउने सोचले फर्किएकी हुँ : विपना थापा

म फिल्म बनाउने सोचले फर्किएकी हुँ : विपना थापा

10/18/2026, 6:46:43 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
म फिल्म बनाउने सोचले फर्किएकी हुँ : विपना थापा

पछिल्लो दुई वर्ष यता विपना थापाको अभिनयमा सक्रियता बढेको छ । ‘वरमाला’ मा अभिनय गरेपछि आफ्नो श्रीमानसँग भारत पुगेकी अभिनेत्री थापाले केही समय पारिवारिक गृहस्थी जीवनमै आफूलाई समर्पित गरिन् । करिब एक सय भन्दा बढी फिल्ममा देखिएकी थापा नेपालको सर्वाधिक व्यस्त अभिनेत्रीको रुपमा परिचित थिइन् । यद्यपि, डिजिटल प्रविधिको प्रवेशसँगै नेपाली फिल्मको कथ्य शैलीमा आएको परिवर्तनसँगै बदलिँदो अवस्थालाई मध्यनजर गर्दै उनले आफूलाई केहि समय परिवारमै व्यस्त बनाइन । लगभग उनी विसं २०८० सालताका नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा अभिनय गर्न नेपाल आइन । त्यसयता उनी नेपाली फिल्ममा पुनः सक्रिय छिन् । ‘मैंले परिवारलाई दिनुपर्ने समय दिएँ, त्यसपछि मेरो अर्को परिवार फिल्मकर्मीलाई अब म काम गर्न तयार छु भनेर जानकारी दिएँ । त्यसपछि आएका फिल्मको प्रस्तावलाई स्वीकार गर्दै काम गरिरहेकी छु’, उनले भनिन् । ‘यसपटकको दशैँ विशेष छ’ चाडपर्वको मध्य सिजनमा नेपालमा भेटिएकी उनको यसपटकको दशैँ विशेष छ । किनकि उनले अभिनय गरेको फिल्म ‘आ बाट आमा २’ हलमा गत असोज ३० देखि प्रदर्शनरत छ । उनी दर्शकसँग प्रतिक्रिया लिन दौडधुप गरिरहेकी छिन् । यसपटक उनको दशैं आफ्नो परिवार, फिल्मी परिवारसँगै दर्शकसँग मनाइरहेकी छिन् । उनले नेपाल न्यूज बैंकसँगको कुराकानीमा आफ्ना सुरुआती दिनका सम्झनाहरू साटेकी छिन् । काठमाडौँको स्यूचाटारमा जन्मिएकी अभिनेत्री थापाका परिवारका सबै सदस्य राजनीतिमा सक्रिय थिए । वडा तहदेखि सांसदसम्म उनको परिवारका सदस्य राजनीतिमा सक्रिय रहँदा पनि अभिनेत्री थापालाई त्यता सक्रिय हुने रहर जागेन । उनले आफूलाई कलामै व्यस्त बनाउनुका साथै आफ्नो रूची बढाइन् । हुन् त उनका बुवाले ‘छोरीलाई पनि मनिषा कोइराला जस्तै नायिका बनाउँछु’ भन्ने गर्थे । चर्चित नृत्याङ्गना विमला श्रेष्ठ उनको छिमेकी थिइन् । सोही कारण अभिनेत्री थापाको लगाव कलातर्फ बढिरहेको थियो । ‘कुनै दिन म यी विमला फुपूजस्तै नाच्ने हुन्छु’ भन्ने अठोटका साथ अघि बढिरहेकी थापा सानै उमेरदेखि नाच्नमा पारगङ्त थिइन् । त्यस्तो त उनले आफ्नो करिअरको सुरुआत ‘आमा’ नामक टेलीफिल्ममार्फत गरेकी थिइन् । त्यो मौका उनलाई निर्देशक रेशराज आचार्यले दिएका थिए । ‘आमा’ भन्ने टेलिफिल्ममा बालकलाकारको रुपमा छोरीको भूमिकामा पहिलोपटक अभिनय गर्दौ उनको अभिनय यात्राको सुरुआत भयो । त्यो टेलीफिल्म प्रशारण नभएता पनि उनको अभिनयको लामो यात्रा अगाडि बढ्यो । किनकि अभिनेत्री थापालाई त्यहि दौरान निर्देशक मोहन निरौलाले देखेका थिए । त्यसपछि थापालाई फिल्ममा अभिनय गर्ने प्रस्ताव राखे । ‘मलाई मोहन सरले फिल्ममा अभिनय गर्छौँ भनेर सोध्नुभयो । मैंले मेरो घरमा आएर सोध्नुस् भनेर जवाफ दिएँ । उहाँहरू मेरो घरमा आएपछि कुराकानी भयो र पहिलो फिल्म ‘जन्मभूमि’ मा काम गर्ने तय भयो’, उनले भनिन् । अभिनेत्रीका रुपमा देखिने भएपछि उनले आफ्नो बुवालाई स्मरण गरिन् । किनकि आफ्नो छोरीलाई पर्दाको हिरोइन बनाउँछु भन्ने बुवाले त्यस्तिबेलासम्म संसार छाडिसकेका थिए । उनले पहिलो फिल्मका लागि पारिश्रमिक पाँच हजार रुपैयाँ र मुट्ठीभरि ‘ह्वाइट र्‍याबिट’ चक्लेट पाइन् । ‘वरमाला’को पारिश्रमिक र दशैं गीतको चर्चा यसरी उनको अभिनय यात्राको सुरुआत भयो । विवाहपछि फिल्म छाड्ने बेलामा उनले अभिनय गरेको फिल्म ‘वरमाला’ अधिकतम पाँच लाख रुपैयाँ बुझिन् । यो रकम लिँदा नेपाली रजतपट बृत्तमा ठूलै हल्लाखल्ला भएको विपना बताउँछिन् । डेब्यू फिल्मपछि नै दर्शक र फिल्मकर्मीको रोजाइमा परेकी थापाको टाढाका नातेदार हुन् अभिनेता सुशील क्षेत्री । नाताले उनीहरू दाजुबहिनी हुन् । ‘आगो फिल्ममा काम गर्दा सहज हुन्छ भनेर सुरुआती एक हप्ता जस्तो मेरो र सुशील दाइको दृश्यहरु नै छायांकन गरिएको थियो । उहाँ मसँग काम गर्दा सहज हुनुहुन्थ्यो’, उनले भनिन् । अभिनेता र अभिनेत्रीकै रुपमा उनीहरूले धेरै फिल्ममा काम गरेका छन् । ती मध्ये एक हो ‘मुग्लान’ । जसको गीत ‘दशैँ आयो’ हरेक दशैँमा बज्ने गर्छ । अहिले पनि उत्तिकै लोकप्रिय छ । ‘त्यो गीत त्यतिबेला कोदो फुल्ने समयमा नै छायांकन गरिएको थियो । दशैँकै माहोल थियो, सबैले नयाँ कपडा र दशैँको टीका लगाएर छायांकन गरेका थियौँ । फिल्मी परिवारसँग दशैँ मनाएको अनुभुती भएको थियो । हामीलाई गीतले दर्शकको मन जित्छ भन्ने विश्वास थियो’, उनले भनिन् । हरेक दशैँदेखि आफ्नो दुई गीत धेरै गुन्जिने गरेको उनी बताउँछिन । ‘दशैँ आयो’ सँगै उनको प्रदर्शनरत फिल्म ‘आ बाट आमा २’ मा समावेश गरिएको ‘रातो टीका लगाउँदा क्या दामी देखियो’ गीतले पनि दर्शकको उत्तिकै मन जित्नेमा उनी विश्वस्त छिन् । ‘आउँदो दशैँदेखि मेरा दुई गीत बज्छन, यसमा म ढुक्क छु । किनकि ‘मुग्लान’ को झैँ यसपटक छायांकन गर्दा मैंले दशैँको माहोल फिल गरेकी थिएँ । निर्देशकलगायत अन्य सबै कलाकार पनि मेरा दुई गीत अबदेखि दशैँमा गुञ्जिनेछन् भनेकी थिएँ’ उनले भनिन् । पछिल्लो सक्रियता आफ्नो चलिरहेको फिल्मी करिअरमा विश्राम लिनुको कारण उनले पारिवारिक दायित्व बताएकी छिन् । विवाह गरेपछि एउटी बुहारीले निर्वाह गर्नुपर्ने कर्तव्यले उनलाई केही समय विश्राम लिन प्रेरित गरेको उनको भनाइ छ । ‘मैले बुहारीको रुपमा आफ्नो कर्तव्य पुरा गर्नुपर्ने थियो, किनकि श्रीमान्, सासु र बच्चालाई हेरचाह गर्नुपर्ने दायित्व थियो । एक किसिमको जिम्मेवारी पुरा गरेकाले पुनः फिल्ममा सक्रिय छु’, उनले भनिन् । त्यसो त अभिनेत्री थापाले अझै पनि आगामी कार्ययोजना पूर्ण रुपमा बनाएकी छैनन् । उनी आफ्नो छोराले १२ कक्षाको परीक्षा दिन लागेकाले पनि त्यसपछि आगामी कार्ययोजना बनाउने बताउँछिन् । ‘अहिले छोराको अध्यन चलिरहेको छ, पाँच/छ महिनामा परीक्षा हुन्छ । त्यसपछि म के गर्ने भन्ने योजना बनाउने छु, अहिले अभिनय गरिरहेकी छु, त्यहि हो’, उनले भनिन् । त्यस्तो त उनी अभिनय गर्ने योजना बनाएर मात्र कमब्याक गरेकी होइनन् । उनी फिल्म मेकिङमै आउन चाहन्छिन् । ‘म फिल्म बनाउने सोचले नै फर्किएकी हुँ, तर अहिले नै बनाउने छु भन्ने होइन । तर, भविष्यमा अवश्य फिल्म बनाउने छु’, उनले भनिन् । आफ्ना जीवनका व्यस्त दैनिकीमा उनले लगातार ३६ घण्टासम्म काम गरेकिछिन् । वर्षौंको विश्रामपछि ‘सुटिङसेट’मा विताउने पलले उनलाई आनन्द दिईरहेको छ । त्यसकारण पनि अभिनेत्री थापा आफ्नो कलाकारितालाई पुनः इन्जोय गरिरहेकी छिन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

झोलुङगे पुलले फेरि जोड्यो ढुङ्गे र त्रिशूली बजार (तस्वीरहरू)
OthersJust now

झोलुङगे पुलले फेरि जोड्यो ढुङ्गे र त्रिशूली बजार (तस्वीरहरू)

पुल बगाएपछि आवतजावतमा समस्या भोग्दै आएका स्थानीयलाई झोलुङ्गे पुल बनेसँगै केही राहत मिलेको छ । यसअघि नदी वारपार गर्न कठिनाइ भोग्दै आएका स्थानीय तथा पैदल यात्रुका लागि पुल उपयोगी बनेको छ । ...

अनलाइन खबर
बदलिँदो समय, फेरिँदो दशैं : उस्तै छ सम्बन्धको महत्त्व
OthersJust now

बदलिँदो समय, फेरिँदो दशैं : उस्तै छ सम्बन्धको महत्त्व

दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार खाने र सुखदुःख साटासाट गर्ने चलनले यसपर्वलाई पूजाआजामा मात्र सीमित राखेको छैन । विशेषगरी माइती र मावलीबीचको सम्बन्ध प्रगाढ बनाउने, टाढिएका आफन्तलाई नजिक ल्याउने र नयाँ पुस्तालाई पारिवारिक संस्कारसँग जोड्ने माध्यमका रूपमा ...

पर्दाफास
रोल्पामा अटो दुर्घटना हुँदा २ महिलाको मृत्यु
OthersJust now

रोल्पामा अटो दुर्घटना हुँदा २ महिलाको मृत्यु

१ कात्तिक, रोल्पा । रोल्पामा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी गाउँपालिका–१ घोर्नेटीकी ३२ वर्षीया खुमाकुमारी भण्डारी र सोही वडाको जवाङकी ५४ वर्षीया गौसरा घर्तीमगर छन् । तुलसीपुर–घर्तीगाउँ भित्री सडकखण्डअन्तर्गत माडी–१ चालाङमा आइतबार बिहान करिब १० बजे घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह ४९४७ नम्बरको अटो सडकबाट करिब… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play