भुटानमा हिमताल विस्फोटपछि भारतका सीमावर्ती क्षेत्रमा सतर्कता

काठमाडौं । भुटानको सिन्ताफु हिमताल विस्फोट भएर आएको बाढीपछि भारतको पश्चिम बङ्गाल र आसाम राज्यको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाइएको छ । हिन्दूकुश हिमालय क्षेत्रमा बढ्दै गएका हिमाली जोखिमलाई दृष्टिगत गर्दै प्रभावकारी पूर्वसूचना प्रणाली, नियमित अनुगमन र सीमापार समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा विज्ञले जोड दिएका छन् । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले आज जारी गरेको विज्ञप्तिअनुसार हिमताल विस्फोट हुनुअघि सिन्ताफु तालमा करिब ६० देखि ७० लाख घनमिटर पानी सञ्चित रहेको अनुमान गरिएको थियो । यो परिमाण करिब दुई हजार ४०० देखि दुई हजार ८०० वटा पौडी पोखरीमा अट्ने पानी बराबर हो । विस्फोटपछि बाहिरिएको पानीको वास्तविक परिमाण भने अझै आँकलन भइसकेको छैन । इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले भुटानका अधिकारीले समयमै जारी गरेको चेतावनीले नियमित अनुगमन र प्रभावकारी पूर्वसूचना प्रणालीको महत्त्व पुष्टि गरेको बताएका छन् । उनले हिमाली क्षेत्रमा विपद्का घटना थप जटिल बन्दै गएकाले जोखिम पूर्वानुमान, पूर्वतयारी र सीमापार सहकार्यमा निरन्तर लगानी आवश्यक रहेको उल्लेख गरे । यो घटना गत अगस्टमा नेपालको ग्यिरोङ–रसुवागढी क्षेत्रमा गएको विनाशकारी चट्टान तथा हिमबरफको पहिरो र अक्टोबरको अन्तिम साता गोरखाको बुढीगण्डकी क्षेत्रमा गएको आकस्मिक बाढीपछि भएको हो । यी घटनाले हिमाली क्षेत्रमा देखिएका बहुप्रकोपीय जोखिम र समयमै सूचना प्रवाह गर्नुपर्ने आवश्यकतालाई थप उजागर गरेका छन् । इसिमोडका अनुसार विपद् जोखिम न्यूनीकरणका लागि जोखिमको प्रकृति पहिचान गर्नुका साथै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायको जोखिम र संवेदनशीलता बुझ्न आवश्यक छ । पूर्वसूचना प्रणाली प्रभावकारी हुन सूचना समयमै प्रभावित समुदायसम्म पुग्नुपर्ने र विपद्का बेला के गर्ने भन्ने स्पष्ट जानकारी उपलब्ध हुनुपर्ने संस्थाले जनाएको छ । इसिमोड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को यसअघिको अध्ययनले कोशी, गण्डकी र कर्णाली नदी बेसिनमा सीमापार फैलिएका ४७ वटा प्रमुख सम्भावित जोखिमयुक्त हिमताल पहिचान गरेको थियो । हालसम्म हिन्दूकुश हिमालय क्षेत्रमा ३८८ वटा हिमताल विस्फोटबाट बाढी (ग्लोफ) का घटना अभिलेख गरिएको इसिमोडले जनाएको छ । भुटानमा हिमताल जोखिमको अनुगमन गर्ने निकाय राष्ट्रिय जलविज्ञान तथा मौसम विज्ञान केन्द्रले देशभित्रका दर्जनौँ सम्भावित जोखिमयुक्त हिमतालको निगरानी गर्दै आएको छ । सन् २०१५ मा सिन्ताफु ताल रहेको मो छु नदीको माथिल्लो जलाधार क्षेत्रमा हिमताल विस्फोटबाट बाढी आएपछि भुटानी अधिकारीले सर्भिर–हिमालय पहलसँग सहकार्य गरी उक्त जलाधार क्षेत्रका हिमतालको जोखिम मूल्याङ्कन गरेका थिए । इसिमोडले हिन्दूकुश हिमालय क्षेत्रमा विपद् जोखिम न्यूनीकरणका लागि क्षेत्रीय साझेदारसँग मिलेर अनुगमन, पूर्वानुमान र पूर्वसूचना प्रणाली सुदृढ गर्ने काम गरिरहेको जनाएको छ । यसअन्तर्गत भुटानको लाया र लिङ्जी क्षेत्रमा स्थायी तुषारो (पर्माफ्रोस्ट) को अनुगमन, भुटान, नेपाल र बङ्गलादेशमा बाढी पूर्वानुमान प्रणालीको विकास तथा आकस्मिक विपद्का लागि चेतावनी जारी गर्ने संयन्त्रलाई प्रभावकारी बनाउने काम भइरहेको छ । त्यस्तै, काठमाडौँ १० कार्यबिन्दुमार्फत जोखिमसम्बन्धी सूचना आदानप्रदान, पूर्वसूचनाको मापदण्ड विकास र सीमापार सञ्चारलाई तीव्र बनाउने पहल भइरहेको इसिमोडले जनाएको छ । एसियाली विकास बैंकको सहयोगमा सञ्चालित हिन्दूकुश हिमालय क्षेत्रमा अनुकूलन तथा उत्थानशीलता निर्माण कार्यक्रममार्फत साझा तथ्याङ्क प्रणाली विकास, बहुप्रकोपीय जोखिमको बुझाइ विस्तार र उत्थानशील पूर्वाधार निर्माणमा समेत सहयोग भइरहेको विज्ञप्तिमा उल्लेख छ । हिमताल विस्फोटलगायतका हिमाली विपद्बाट हुने क्षति न्यूनीकरणका लागि नियमित अनुगमन, समयमै चेतावनी, प्रभावकारी सञ्चार र समुदायस्तरको पूर्वतयारीलाई एकीकृत गर्नुपर्नेमा इसिमोडले जोड दिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News
![[अर्काइभ] बहुदलवादी नेताहरूको हत्या गर्ने उद्घोष गरेपछि...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/edde9925-18c7-4dff-a430-e19bb6500852-30102026052212-watermarked.png)
[अर्काइभ] बहुदलवादी नेताहरूको हत्या गर्ने उद्घोष गरेपछि...
बहुदलवादी नेताहरूको हत्या गर्ने उद्घोष गरिएपछि त्यसको विरोधमा संसद्मा आवाज उठेको थियो । २०५७ असार २४ को उक्त घटनाबारे असार २६ मा सांसदहरूले सदनमा आपत्ति जनाएका थिए । ...

तीन महिनामा सात अर्ब १३ करोड राजस्व सङ्कलन
चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा रु सात अर्ब १३ करोड ७६ लाख ८० हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले असोज मसान्तसम्म... ...

सुनकोसी मरिणका दुई इन्जिनियर रिहा
काठमाण्डु– सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी–मरिण डाइभर्सन आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाल रिहा भएका छन्। आवश्यक सोधपुछ तथा अनुसन्धानपछि शुक्रबार दुवै जनालाई रिहा गरिएको हो । रजौरिया सिँचाइ विभागका महानिर्देशक तथा रिजाल सुनकोशी–मरिण डाइभर्सन आयोजनाका प्रमुखका रूपमा कार्यरत छन्। बिहीबार प्रहरीले रजौरियालाई सिरहाको लहानबाट र रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिएर काठमाण्डु पठाएको थियो। उनीहरूलाई सुनकोसी […] ...

अघिल्लो दिन प्रहरीको ‘चेतावनीयुक्त’ विज्ञप्ति, भोलिपल्ट कसको निर्देशनमा भयो पत्रकारमाथि धरपकड ?
काठमाडौँ । समाचार लेखेकै आधारमा नेपाल प्रहरीले शुक्रबार केही सञ्चारमाध्यमका सञ्चारकर्मीमाथि एकाएक धरपकड गरेपछि उक्त कार्यको चर्को आलोचना भएको छ । यो धरपकड यस्तो बेला भयो, बिहीबारमात्रै प्रहरी प्रधान कार्यालयले... ...


