काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मकवानपुरको चिसापानीगढीमा भएको ईभी हाइस दुर्घटनापछि सडक सुरक्षा प्रणालीमा तत्काल सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार भएको उक्त दुर्घटनामा १४ जनाको मृत्यु र ६ जना घाइते भएका थिए। छठ पर्व मनाउन घर फर्किरहेका यात्रु सवार उक्त सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै आङ्देम्बेले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। आङ्देम्बेले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारको सम्पूर्ण व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। उनले सवारीसाधनको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरी निगरानीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। सडक सुरक्षा सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै उनले भने, ‘नागरिकको ज्यान जोगाउनु सरकारको पहिलो दायित्व हो। सडक सुरक्षा, सवारीको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरीको निगरानी प्रभावकारी बनाउन सरकार किन गम्भीर हुँदैन?’ उनले यसअघि रोल्पाको जलजलामा भएको दुर्घटनापछि गठन गरिएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। दुर्घटनापछि छानबिन समिति गठन गर्ने, केही समय चर्चा गर्ने र त्यसपछि घटनालाई बिर्सने सरकारी प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ छ। उनले सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै दुर्घटनाको निष्पक्ष छानबिन गर्न र दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
भीमफेदी दुर्घटनापछि सडक सुरक्षामा गम्भीर हुन आङ्देम्बेको माग

Read Complete Original Article
Published originally on नेपालन्युज





