परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमण बहुआयामिक रूपमा सफल र उपलब्धिमूलक भएको बताएका छन् । सोमबार साँझ प्रधानमन्त्री साहको दुईदिने राजकीय भ्रमणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी दिँदै मन्त्री खनालले भ्रमणका क्रममा पारवहन, रेलमार्ग, ऊर्जा, पूर्वाधार तथा सीमापार सम्पर्क सञ्जाललगायतका क्षेत्रमा महत्त्वपूर्ण सहमति भएको बताए । उनका अनुसार प्रधानमन्त्री साह र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेटवार्तामा भारतले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित दीनदयाल (कान्डला) बन्दरगाह हुँदै नयाँ सम्पर्क मार्ग उपलब्ध गराउने समझदारी भएको छ । आवश्यक पूर्वाधार तयार भएपछि ओडिसास्थित पारादीप बन्दरगाहमा समेत नेपाललाई पहुँच उपलब्ध गराइने उनले जानकारी दिए । भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटन गरेका छन् । त्यस्तै, प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको स्थलगत मार्ग निर्धारण सर्वेक्षणलाई अन्तिम रूप दिने र नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमति भएको मन्त्री खनालले बताए । ऊर्जा क्षेत्रमा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिन तथा सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको अध्ययन तीव्र पार्न दुवै पक्ष सहमत भएको उनले जानकारी दिए । त्यस्तै, इनरुवा–नयाँ पूर्णिया र दोधारा–बरेली सीमापार विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त उद्यम गठन गर्ने प्रक्रियामा भएको प्रगतिप्रति दुवै देशले सन्तुष्टि व्यक्त गरेका छन् । पूर्वाधार तथा सीमापार सम्पर्क विस्तारतर्फ भैरहवा, सुनौली र दोधारा–चाँदनीमा एकीकृत जाँच चौकी (आईसीपी) निर्माणलाई तीव्रता दिने सहमति भएको छ । भारतको धार्चुला र नेपालको दार्चुलाबीच निर्माण भएको नयाँ सीमापार सवारीसाधन सञ्चालनयोग्य पुलको समेत उद्घाटन गरिएको मन्त्री खनालले बताए । यसैगरी, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन गरी नेपाली जनतालाई समर्पण गरिएको छ भने झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास गरिएको छ । हवाई सम्पर्क विस्तारअन्तर्गत काठमाडौं–भैरहवा–लखनउ दुईतर्फी हवाई सेवा सञ्चालनका लागि समेत भारत सहमत भएको मन्त्री खनालले जानकारी दिए । उनले प्रधानमन्त्री साहको भारत भ्रमण दुई देशबीचको सम्बन्ध विस्तार र नेपालको बहुआयामिक विकासमा सहकार्यका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री साह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सोमबार साँझ स्वदेश फर्किएको हो ।
भारतसँग के–के सहमति भयो ? परराष्ट्रमन्त्रीले सुनाए भ्रमणका उपलब्धि

Read Complete Original Article
Published originally on पर्दाफास






