काठमाडौं । सशस्त्र प्रहरी बलले भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइएका करिब २८ लाख २७ हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका फूल बरामद गरी नष्ट गरेको छ। तिहार तथा छठ पर्वलाई लक्षित गरी ल्याइएका सयपत्री, कमल र रजनिगन्धाका फूल झापा र धनुषाका विभिन्न सीमावर्ती क्षेत्रबाट बरामद गरिएको हो। सशस्त्र प्रहरीका अनुसार झापाको भद्रपुर नगरपालिका–८ देवीबस्तीबाट २५ लाख ६३ हजार ४०० रुपैयाँ बराबरका फूल बरामद गरिएको छ। सशस्त्र प्रहरी नायब निरीक्षक अमरबहादुर भुजेलको कमान्डमा खटिएको नौ जनाको मोबाइल गस्ती टोलीले २२ लाख ६८ हजार ४०० रुपैयाँ बराबरका ११ हजार ३४२ थान भारतीय सयपत्रीका माला र २ लाख ९५ हजार रुपैयाँ बराबरका १२ झोला कमलका फूल बरामद गरेको थियो। बरामद फूल जनप्रतिनिधिको उपस्थितिमा सशस्त्र प्रहरी गण परिसरभित्र खाल्डो खनी नष्ट गरिएको छ। त्यसैगरी धनुषाको देवडिहा क्षेत्रबाट १ लाख २४ हजार रुपैयाँ बराबरका फूल बरामद गरिएको छ। गस्ती टोलीलाई देखेपछि तस्करहरू दुईवटा मोटरसाइकल छाडेर फरार भएका थिए। उक्त स्थानबाट ९१ हजार रुपैयाँ बराबरको १३० केजी सयपत्री र ३३ हजार रुपैयाँ बराबरको ३० केजी रजनिगन्धा बरामद गरिएको थियो। ती फूल स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र पत्रकारको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ। यस्तै, कात्तिक २२ गते बिहान धनुषाकै फूलगामा क्षेत्रबाट १ लाख ४० हजार रुपैयाँ बराबरको २०० केजी सयपत्री फूल बरामद गरिएको थियो। सशस्त्र प्रहरीको टोलीलाई देखेपछि तस्करहरूले टाउकोमा बोकेर ल्याउँदै गरेका फूल सीमाक्षेत्रमै छाडेर फरार भएका थिए। उक्त फूल पनि स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, जटही भन्सार कार्यालयका प्रतिनिधि र स्थानीय बासिन्दाको रोहवरमा नष्ट गरिएको छ। नेपाली किसानले उत्पादन गरेका स्थानीय फूलको प्रवर्द्धन तथा अवैध आयात नियन्त्रण गर्न सीमा क्षेत्रमा निगरानी कडा पारिएको सशस्त्र प्रहरीले जनाएको छ।
भारतबाट भन्सार छली ल्याइएका २८ लाखभन्दा बढीका फूल नष्ट

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






