बाढीले खोस्यो दसैंको खुसी

बर्दिया।बडादसैंमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ? बर्षभरि जहाँ भए पनि दसैंमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका केही परिवारका लागि यस बर्ष दसैंको खुसी आएन। भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूको दसैं उल्लासमय नभएर खल्लो बन्न पुग्यो। विगतका बर्षमा दसैंको दिन घरमा आफन्त जम्मा हुन्थे। अभिभावकको हातबाट टीका र जमरा लगाउने, आशीर्वाद लिने र परिवारसँगै रमाइलो गर्ने चलन थियो। तर, यस बर्ष दसैंको टीका लगाउन घर फर्किने आफन्तको खबर कुरिरहेका परिवारमा बाढीले एकाएक दुःख निम्त्यायो। टीका लगाउने प्रतीक्षामा रहेका उनीहरूका लागि बाढीको खबरसँगै दसैंको खुसी पनि खोसियो। गेरुवा–५ सुखारकी ४२ वर्षीया भगिरथी थारुका लागि यस बर्षको दसैं विगतका वर्ष जस्तो रहेन। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर छोरा जगत थारु बेपत्ता भएपछि उनको परिवार शोकमा छ। दसैंमा छोरासँगै टीका लगाउने र खुसी साट्ने आशा गरेकी भगिरथीको निधार यस वर्ष खाली नै रह्यो। “दसैंमा छोराछोरीसँगै बसेर टीका लगाउने, आशीर्वाद दिने र लिने गर्थ्याै। यस बर्ष पनि दसैंमा छोरा आउला, टीका लगाउन पाइएला भन्ने आशा थियो। तर, बाढीमा छोरा बेपत्ता भएपछि हाम्रो त खुसी नै खोसियो,” उनले भनिन्। डेढ महिनादेखि छोराको पर्खाइमा रहेकी भगिरथीलाई दसैं आए पनि मनमा खुसी छैन। घरमा चाडपर्वको वातावरण बने पनि छोराको अत्तोपत्तो नहुँदा उनको मनमा पीडा र पर्खाइ मात्रै छ। आफन्त फर्किएर आउने आशा अझै मरेको छैन, तर यस वर्षको दसैं भने छोरासँग टीका लगाउने रहर अधुरै राखेर बितेको छ। राजापुर ९ तिनघरवाका सिर्जना थारुको पीडा पनि उस्तै छ। भोटेकोशी बाढीमा श्रीमान प्रदीप थारु बेपत्ता भएपछि उनको परिवारमा पनि दसैंको रौनक हराएको हो। हरेक वर्ष दसैंमा श्रीमानसँग टीका लगाएर आशीर्वाद साट्ने उनी यस बर्ष श्रीमानको अनुपस्थितिमा निकै निराशामा दसैं बित्ने भएको छ। “दसैंमा श्रीमान घर आउनु हुन्छ, टीका लगाउँछौँ भन्ने आशा थियो। बाढीमा बेपत्ता भएपछि त्यो खुसी पनि रहेन। श्रीमान कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ भन्ने थाहा छैन। यस्तो अवस्थामा कसरी खुसी भएर दसैं मनाउनु ?” उनले भनिन्। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर गेरुवा गाउँपालिका–५ सुखारका जगत थारु, मनोज थारु, सुरेन्द्र थारु र सर्वेस थारु गरी चार जना बेपत्ता भएका थिए। त्यसैगरी राजापुर–९ तिनघरवाका सुरेश थारु, अमिस थारु, सिसन थारु, प्रदीप थारु र राजु थारु गरी पाँच जना बेपत्ता भएका थिए। उनीहरूका परिवार डेढ महिनादेखि आफन्त फर्किने आशामा छन्। बेपत्ताको अवस्था पत्ता नलागेकाले परिवारले अन्तिम संस्कार तथा काजकिरिया गर्न सकेका छैनन्। गेरुवा गाउँपालिका–५ का वडाध्यक्ष तथा प्रवक्ता धर्मप्रकाश चौधरीका अनुसार भोटेकोशी बाढीका कारण गाउँपालिकाका १४ परिवारमा यस बर्ष दसैंको खुसी छाउन सकेन। “बाढीमा आफन्त बेपत्ता भएपछि परिवार शोकमा छन्। दसैंमा टीका लगाएर खुसी साट्ने समयमा उनीहरू आफन्तको पर्खाइमा छन्। यस्तो अवस्थामा कसरी खुसी भएर चाडपर्व मनाउन सकून् र ?” उनले भने। भोटेकोशी बाढीमा परी बर्दियाका ७६ जना बेपत्ता भएका छन्। बेपत्ता आफन्तको अवस्था अज्ञात रहँदा ती परिवारका लागि दसैंको टीका केवल परम्परा र उत्सवको विषय मात्र बनेन, आफन्तसँगको विछोड र पुनर्मिलनको आशासँग जोडियो। अरूका घरमा परिवारका सदस्यले एकअर्कालाई टीका लगाइदिँदै आशीर्वाद साटिरहेका बेला पीडित परिवार भने बेपत्ता आफन्त फर्किने आशामा दिन गन्दै छन्। दसैंको टीका लगाएर परिवारसँग खुसी साट्ने उनीहरूको रहर यस वर्ष बाढीले अधुरै बनायो। उनीहरुका घरमा पनि चाडपर्व त आएको छ। तर पनि मनमा खुसी भने फर्किन सकेको छैन। उनीहरूका लागि यस वर्षको दसैं टीका र जमराको उत्सव भन्दा पनि बेपत्ता आफन्तको सम्झना, फर्किने आशा र पीडाबीच बितेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

ठमेलमा विदेशी पर्यटकले पनि लगाए दसैँको टीका
काठमाडौँ। नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै हर्षोल्लासका साथ बडादसैँको टीका र जमरा लगाएका छन् । नेपालीको महान् पर्व बडादसैँका अवसरमा विदेशी पर्यटकले ठमेलस्थित काठमाडौँ... ...

एमाले वरिष्ठ नेता भण्डारी चीन जाँदै, ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने
पूर्वराष्ट्रपति एवं नेकपा एमालेका वरिष्ठ नेता विद्यदेवी भण्डारी बिहीबार चीन जाने तय भएको छ। एमालेको वरिष्ठ नेता भएर सक्रिय राजनीतिमा फर्किएपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो। भण्डारीले अक्टोबर २३–२५ मा चीनको हेबेई प्रान्तस्थित सियोङआनमा आयोजना हुने ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ। भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार फोरममा ... ...

क्यासिनो खेल्ने पाँच जना प्रहरीको नियन्त्रणमा
वीरगन्ज (पर्सा), कात्तिक ४ गते । क्यासिनोभित्र प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका –१४ गण्डकस्थित गोल्डेन... ...

नवदुर्गासँग जोड्दै नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नख:
भक्तपुर – भक्तपुरका नेवार समुदायले बुधबार मोहनी नख: मनाएका छन् । विजयादशमीको दिन बुधबार मान्यजनको हातबाट मोहनी सि: न अर्थात कालो टीका, राटो टीका, जमरा ग्रहण गरी मोहनी न:ख मनाएका हुन् । यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पूजा गर्ने क्रममा महानवमीको दिनमा घरघरमा पालामा दियो बालेर त्यसको माथिवाट अर्को पालाले छोपेर पालामा जम्मा भएको कालो […] ...


