बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया । बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ? बर्षभरि जहाँ भए पनि दसैँमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका केही परिवारका लागि यस बर्ष दसैँको खुसी आएन । भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूको दसैँ उल्लासमय नभएर खल्लो बन्न पुग्यो । विगतका बर्षमा दसैँको दिन घरमा आफन्त जम्मा हुन्थे । अभिभावकको हातबाट टीका र जमरा लगाउने, आशीर्वाद लिने र परिवारसँगै रमाइलो गर्ने चलन थियो । तर, यस बर्ष दसैँको टीका लगाउन घर फर्किने आफन्तको खबर कुरिरहेका परिवारमा बाढीले एकाएक दुःख निम्त्यायो । टीका लगाउने प्रतीक्षामा रहेका उनीहरूका लागि बाढीको खबरसँगै दसैँको खुसी पनि खोसियो । गेरुवा–५ सुखारकी ४२ वर्षीया भगिरथी थारुका लागि यस बर्षको दसैँ विगतका वर्षजस्तो रहेन । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर छोरा जगत थारु बेपत्ता भएपछि उनको परिवार शोकमा छ । दसैँमा छोरासँगै टीका लगाउने र खुसी साट्ने आशा गरेकी भगिरथीको निधार यस वर्ष खाली नै रह्यो । “दसैँमा छोराछोरीसँगै बसेर टीका लगाउने, आशीर्वाद दिने र लिने गथ्र्यौं । यस बर्ष पनि दसैँमा छोरा आउला, टीका लगाउन पाइएला भन्ने आशा थियो । तर, बाढीमा छोरा बेपत्ता भएपछि हाम्रो त खुसी नै खोसियो,” उनले भनिन् । डेढ महिनादेखि छोराको पर्खाइमा रहेका भगिरथीलाई दसैँ आए पनि मनमा खुसी छैन । घरमा चाडपर्वको वातावरण बने पनि छोराको अत्तोपत्तो नहुँदा उनको मनमा पीडा र पर्खाइ मात्रै छ । आफन्त फर्किएर आउने आशा अझै मरेको छैन, तर यस वर्षको दसैँ भने छोरासँग टीका लगाउने रहर अधुरै राखेर बितेको छ । राजापुर ९ तिनघरवाका सिर्जना थारुको पीडा पनि उस्तै छ । भोटेकोशी बाढीमा श्रीमान प्रदीप थारु बेपत्ता भएपछि उनको परिवारमा पनि दसैँको रौनक हराएको हो । हरेक वर्ष दसैँमा श्रीमानसँग टीका लगाएर आशीर्वाद साट्ने उनी यस बर्ष श्रीमानको अनुपस्थितिमा निकै निराशामा दसैँ बित्ने भएको छ । “दसैँमा श्रीमान् घर आउनुहुन्छ, टीका लगाउँछौँ भन्ने आशा थियो । बाढीमा बेपत्ता भएपछि त्यो खुसी पनि रहेन । श्रीमान कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ भन्ने थाहा छैन । यस्तो अवस्थामा कसरी खुसी भएर दसैँ मनाउनु ?” उनले भनिन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर गेरुवा गाउँपालिका–५ सुखारका जगत थारु, मनोज थारु, सुरेन्द्र थारु र सर्वेस थारु गरी चार जना बेपत्ता भएका थिए । त्यसैगरी राजापुर–९ तिनघरवाका सुरेश थारु, अमिस थारु, सिसन थारु, प्रदीप थारु र राजु थारु गरी पाँच जना बेपत्ता भएका थिए । उनीहरूका परिवार डेढ महिनादेखि आफन्त फर्किने आशामा छन् । बेपत्ताको अवस्था पत्ता नलागेकाले परिवारले अन्तिम संस्कार तथा काजक्रिया गर्न सकेका छैनन् । गेरुवा गाउँपालिका–५ का वडाध्यक्ष तथा प्रवक्ता धर्मप्रकाश चौधरीका अनुसार भोटेकोशी बाढीका कारण गाउँपालिकाका १४ परिवारमा यस बर्ष दसैँको खुसी छाउन सकेन । “बाढीमा आफन्त बेपत्ता भएपछि परिवार शोकमा छन् । दसैँमा टीका लगाएर खुसी साट्ने समयमा उनीहरू आफन्तको पर्खाइमा छन् । यस्तो अवस्थामा कसरी खुसी भएर चाडपर्व मनाउन सकून् र ?” उनले भने । भोटेकोशी बाढीमा परी बर्दियाका ७६ जना बेपत्ता भएका छन् । बेपत्ता आफन्तको अवस्था अज्ञात रहँदा ती परिवारका लागि दसैँको टीका केवल परम्परा र उत्सवको विषय मात्र बनेन, आफन्तसँगको विछोड र पुनर्मिलनको आशासँग जोडियो । अरूका घरमा परिवारका सदस्यले एकअर्कालाई टीका लगाइदिँदै आशीर्वाद साटिरहेका बेला पीडित परिवार भने बेपत्ता आफन्त फर्किने आशामा दिन गन्दै छन् । दसैँको टीका लगाएर परिवारसँग खुसी साट्ने उनीहरूको रहर यस वर्ष बाढीले अधुरै बनायो । उनीहरुका घरमा पनि चाडपर्व त आएको छ । तर पनि मनमा खुसी भने फर्किन सकेको छैन । उनीहरूका लागि यस वर्षको दसैँ टीका र जमराको उत्सव भन्दा पनि बेपत्ता आफन्तको सम्झना, फर्किने आशा र पीडाबीच बितेको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

क्यासिनो खेल्ने पाँच जना प्रहरीको नियन्त्रणमा
वीरगन्ज (पर्सा), कात्तिक ४ गते । क्यासिनोभित्र प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका –१४ गण्डकस्थित गोल्डेन... ...

नवदुर्गासँग जोड्दै नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नख:
भक्तपुर – भक्तपुरका नेवार समुदायले बुधबार मोहनी नख: मनाएका छन् । विजयादशमीको दिन बुधबार मान्यजनको हातबाट मोहनी सि: न अर्थात कालो टीका, राटो टीका, जमरा ग्रहण गरी मोहनी न:ख मनाएका हुन् । यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पूजा गर्ने क्रममा महानवमीको दिनमा घरघरमा पालामा दियो बालेर त्यसको माथिवाट अर्को पालाले छोपेर पालामा जम्मा भएको कालो […] ...

अफ्रिकामा फैलिएको इबोला संक्रमण नाइजेरिया पुग्यो
लागोस।अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ। युगान्डाबाट आएकी एक महिलामा संक्रमण पुष्टि भएको छ भने केन्यामा संक्रमितको संख्या नौ पुगेको छ। नाइजेरियाका स्वास्थ्यमन्त्री मुहम्मद अली पाटेका अनुसार, संक्रमित महिलालाई एकान्तवासमा राखेर उपचार भइरहेको छ। उनको सम्पर्कमा आएका ४४ जनाको पहिचान गरी निगरानी सुरु गरिएको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मे महिनामा सुरु भएको प्रकोपबाट नौ हजारभन्दा बढी संक्रमित भएका छन् भने चार ...

ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता- अशोकको ११ औँ जीत
म्याग्दीको धौलागिरि गाउँपालिका–७ स्थित ऐतिहासिक ताकमकोतमा भएको परम्परागत ठेलो फाल्ने प्रतियोगितामा अशोक खत्रीले ११ औँ पटक उपाधि जितेर कीर्तिमान बनाएका छन्। सोही वडाका अध्यक्षसमेत रहेका खत्रीले बडादसैँको महानवमी पर्वको अवसरमा आयोजित प्रतियोगितामा ११ औँ पटक उपाधि जितेर इतिहास बनाएका हुन्। आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको ठेलोलाई सहभागी २२ जनामध्... ...


