Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/World/फ्रान्समा हिंसात्मक प्रदर्शन चर्किएपछि विभिन्न सहरमा कर्फ्यु

फ्रान्समा हिंसात्मक प्रदर्शन चर्किएपछि विभिन्न सहरमा कर्फ्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
फ्रान्समा हिंसात्मक प्रदर्शन चर्किएपछि विभिन्न सहरमा कर्फ्यु

काठमाडौं, कात्तिक ३ । फ्रान्समा बढ्दो महँगी र जीवनयापन खर्चविरुद्ध सुरु भएको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले राजधानी पेरिससहित विभिन्न सहरका केही क्षेत्रमा रातिको कर्फ्यु आदेश जारी गरेको छ। युवाहरूको सहभागितामा चर्किएको आन्दोलनका क्रममा सार्वजनिक भवनमा आगजनी, व्यापारिक प्रतिष्ठानमा लुटपाट तथा तोडफोडका घटना बढेपछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको हो। दक्षिणी फ्रान्सका मार्से, बोर्डो, नाइस र लियोन तथा उत्तरी सहर लिललगायतका क्षेत्रमा आंशिक कर्फ्यु लागू गरिएको विवरणमा उल्लेख छ। फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले लगातार दुई दिनसम्म हिंसात्मक अशान्ति फैलिएपछि सोमबार साँझ क्षेत्रीय अधिकारीहरूलाई केही सहरी क्षेत्रमा आंशिक कर्फ्यु लगाउन निर्देशन दिनुभएको थियो। प्रदर्शनका क्रममा नगरपालिकाका कार्यालयमा आगजनी हुनुका साथै सयौँ व्यापारिक प्रतिष्ठानमा लुटपाट र तोडफोड भएको थियो। हिंसात्मक घटनापछि राष्ट्रपति इमानुएल म्याक्रोंले सुरक्षा व्यवस्थामा देखिएका कमजोरीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। तर, उहाँले गृहमन्त्री लरेन्ट नुनेजको राजीनामा भने अस्वीकार गर्नुभएको छ। एलिजे दरबारले जारी गरेको विज्ञप्तिअनुसार गृहमन्त्री नुनेजले आइतबार राष्ट्रपतिसमक्ष राजीनामा बुझाउनुभएको थियो। तर, संकटका बेला कानुन कार्यान्वयन गर्ने निकायको नेतृत्व निरन्तर कायम राख्नुपर्ने आवश्यकता औँल्याउँदै राष्ट्रपतिले राजीनामा अस्वीकार गर्नुभएको हो। म्याक्रोंले सुरक्षा व्यवस्थापनमा देखिएका कमजोरीको समीक्षा गर्न, गुप्तचर सूचनाको प्रभावकारी उपयोग सुनिश्चित गर्न तथा सुरक्षा बलका लागि संकट व्यवस्थापनसम्बन्धी नयाँ कार्यविधि लागू गर्न गृहमन्त्रीलाई निर्देशन दिनुभएको छ। सन् २०१८ मा सामाजिक अन्यायविरुद्ध सुरु भएको ‘यल्लो भेस्ट’ आन्दोलनलाई पुनः सक्रिय बनाउने उद्देश्यसहित श्रमिक सङ्गठन, विद्यार्थी सङ्गठन तथा अभियन्ताहरूले प्रदर्शनको आह्वान गरेका थिए। अधिकारीहरूका अनुसार शनिबार भएका अधिकांश शान्तिपूर्ण जुलुसमा करिब पाँच लाख ५० हजार मानिस सहभागी भएका थिए। आयोजकहरूले भने सहभागीको सङ्ख्या आठ लाख पुगेको दाबी गरेका छन् । राष्ट्रका नाममा आइतबार सम्बोधन गर्दै राष्ट्रपति म्याक्रोंले देशव्यापी प्रदर्शनका क्रममा भएका तोडफोड र लुटपाटप्रति दुःख व्यक्त गर्नुभएको थियो। उहाँले हिंसात्मक घटनाका लागि मुख्य रूपमा अति–वामपन्थी समूहहरूलाई जिम्मेवार ठहर गर्दै उनीहरूले प्रहरी र सार्वजनिक भवनमा आक्रमण गरेको आरोप लगाउनुभएको थियो। प्रदर्शनकारीहरूले बढ्दो जीवनयापन खर्च र विद्यालयहरूको कमजोर अवस्थाप्रति असन्तुष्टि जनाउँदै आएका छन्। आर्थिक समस्याले विशेषगरी युवा वर्गको भविष्य र जीवनस्तरमा पारेको प्रभावलाई सम्बोधन गर्नुपर्ने माग पनि आन्दोलनका क्रममा उठाइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play