फ्रान्समा एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

पेरिस, फ्रान्स । फ्रान्सभरि भएका प्रदर्शनहरूबाट शुक्रबार र शनिबारमा प्रहरीले एक हजार ३१४ जनालाई पक्राउ गरेको फ्रान्सको आन्तरिक मन्त्रालयले आइतबार बताएको छ । झडपमा ५३ जना प्रहरी घाइते भएका बताइएको छ । जीवनयापनको उच्च लागत विरुद्ध फ्रान्सका प्रमुख सहरहरूमा भएका ठूला प्रदर्शनहरूको क्रममा हिंसा भड्किएपछि शनिबार धेर मानिसलाई पक्राउ गरिएको हो । यो फ्रान्समा सप्ताहन्तमा भएको लगातार दोस्रो अशान्ति हो । देशमा आगामी अप्रिल र मेमा राष्ट्रपति चुनाव हुन गइरहेको समयमा भड्किएको यो हिंसाले फ्रान्सको आगामी नेतृत्व चयनलाई समेत प्रभावित पार्नसक्ने देखिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोँको दुई कार्यकाल सकिएपछि हुन लागेको यो निर्वाचनले उनको उत्तराधिकारी चयन गर्नेछ । आन्तरिक मन्त्रालयका अनुसार प्रहरीले शनिबारका प्रदर्शनहरूमा ७५ वटा आगजनीलाई नियन्त्रण गरेको थियो भने २४ वटा पसल लुटिएका थिए । मन्त्रालयले एक विज्ञप्तिमा केही अनुसन्धान सुरु गरिएका उल्लेख छ । अनुसन्धानबारे विस्तृत विवरण दिइएको छैन । झडप शान्त भएपछि शनिबार रात सहरहरू ‘शान्त’ रहेको बताइएपनि प्रदर्शनकारीहरूले आफ्ना थप कार्यक्रम घोषणा गरेर अघि बढ्ने बताएका छन् । आइतबारको मन्त्रालयको विज्ञप्तिमा कति प्रदर्शनकारी घाइते भए भन्ने उल्लेख छैन । शनिबार राति आन्तरिक मन्त्री लोराँ न्युनेजले प्रदर्शनकारीहरूतर्फ एक जना टुलुजमा र अर्का क्लर्मोन्ट–फेरान्डमा गरी दुई जना गम्भीर घाइते भएको बताउनुभएको थियो । आन्तरिक मन्त्रालयअन्तर्गतको टुलुज प्रिफेक्चर प्रशासनले एएफपीलाई बताएअनुसार २० वर्षीय एक युवकको हातमा गम्भीर चोट लागेको छ । प्रदर्शनकारीहरूको उपचार गर्ने एक सडक चिकित्सकले नाम नखुलाउने शर्तमा एएफपीसँग भने, “युवकको दाहिने हातका ‘केही औँला’ मा गोली लागेपछि गुमेका छन् । क्लर्मोन्ट–फेरान्ड क्षेत्रका प्रिफेक्चरले त्यहाँ एक जनाको हातमा चोट लागेको बताएको छ, तर कुनै औँला गुमाएको छैन । फ्रान्सेली क्षेत्रीय दैनिक ला नोभेल रिपब्लिक ले पोइतियर्समा एक जनाको बायाँ आँखामा चोट लागेको रिपोर्ट गरेको छ । त्यसमा आफ्नो अनुहार हातले छोपिरहेका एक जनाको तस्बिर पनि प्रकाशित गरिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सप्तकोशीमा बोट दुर्घटना : तीन जनाको मृत्यु, एक बेपत्ता
भोजपुर । यात्रु बोकेको बोट सप्तकोशीमा दुर्घटना भएको छ । आइतबार दिउँसो करिब साढे एक बजेतिर भोजपुरको कोप्चेबाट १४... ...

सम्हालिएको सेयर बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, के होला अबको कारोबार ?
काठमाडौं । दसैँ बिदाको अघिल्लो दिन असोज ३० गते धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ निर्देशन जारी गर्यो । त्यही दिनदेखि लागु हुने नियमले सेयर कारोबारमा बोर्डले कडाइ गरेको... ...

इन्ज्युरी समयमा दुई गोल गर्दै इन्टर शीर्षमा
एलेक्स जिमिनेजको गोलमा पाहुना टोलीले ६५औं मिनेटमा अप्रत्याशित अग्रता लिएको थियो । तर मार्कस थुरामले ९१ औं मिनेटमा बराबरी गोल फर्काए भने पिट्र जेलेन्स्कीले ९८ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे । ...
.jpg)
बर्जुमा बोराभित्र पुरुषको शव फेला
सुनसरी, कात्तिक ८ गते । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ ।भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका–... ...


