काठमाडौं । चलचित्रको प्रचारका लागि अपनाइने नयाँ-नयाँ शैली कहिलेकाहीँ चर्चाको विषय बन्छन् । तर, प्रचारको नाममा वास्तविक घटनाकै भ्रम सिर्जना गरियो भने त्यसले मनोरञ्जनभन्दा बढी विवाद निम्त्याउनसक्छ । यस्तै भएको छ, प्रदर्शनको तयारीमा रहेको हास्यप्रधान नेपाली चलचित्र ‘ककाकिकी’को प्रचारका क्रममा । शनिबार काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा चलचित्रको ट्रेलर सार्वजनिक गर्ने कार्यक्रम चलिरहेको थियो । कार्यक्रमको अन्त्यतिर अचानक प्रहरीको टोली हलभित्र प्रवेश गर्यो । त्यसपछि चलचित्रका निर्देशक बिक्की अग्रवाल, अभिनेत्री गौरी मल्ल तथा कलाकार मनोज गजुरेल र शिशिर वाङ्देललाई प्रहरीले नियन्त्रणमा लिएजसरी बाहिर निकाल्यो । उहाँहरूलाई हलबाट बाहिर ल्याएर प्रहरी भ्यानमा राखिएको दृश्यले उपस्थित सञ्चारकर्मी तथा सर्वसाधारणलाई आश्चर्यचकित बनायो । कार्यक्रमस्थलमा अप्रत्याशित रूपमा देखिएको उक्त दृश्य वास्तविक प्रहरी कारबाही हो कि भन्ने भ्रमसमेत सिर्जना भयो । कलाकार पक्राउ परेको खबर र भिडियो सामाजिक सञ्जालमा फैलिन थालेपछि घटनाले थप चर्चा पायो । तर, केही समयपछि उक्त दृश्य वास्तविक पक्राउ नभई चलचित्रको कथावस्तुमा आधारित प्रचारात्मक स्टन्ट भएको निर्माण पक्षले स्पष्ट पार्यो । निर्माण टिमका अनुसार चलचित्रमा समावेश प्रहरीद्वारा पात्रहरूलाई नियन्त्रणमा लिने दृश्यलाई ट्रेलर सार्वजनिक कार्यक्रममा समेत पुनः प्रस्तुत गरिएको थियो । चलचित्रको कथावस्तुलाई जीवन्त रूपमा देखाउँदै दर्शकको ध्यान आकर्षित गर्ने उद्देश्यले यस्तो प्रस्तुति गरिएको उनीहरूको भनाइ छ । माया इन्टरटेनमेन्ट स्टुडियो प्रालिले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्र लेख्दै उक्त दृश्य काल्पनिक भएको स्पष्ट पारेको छ । चलचित्रको छायांकन तथा प्रचारप्रसारका क्रममा प्रहरीसँग आवश्यक समन्वय र अनुमति लिएर दृश्य तयार गरिएको कम्पनीको दाबी छ । कुनै पनि कलाकार, निर्देशक वा चलचित्रकर्मी वास्तविक रूपमा पक्राउ नपरेको पनि कम्पनीले जनाएको छ । तर, निर्माण पक्षको स्पष्टीकरणपछि पनि प्रचारको शैलीमाथिको बहस रोकिएको छैन । प्रहरीको पोशाक, पक्राउ र नियन्त्रणजस्ता संवेदनशील विषयलाई वास्तविक घटनाकै स्वरूपमा प्रस्तुत गर्दा सर्वसाधारणमा अनावश्यक त्रास र भ्रम फैलिनसक्ने भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । कतिपयले चलचित्र प्रचारका नाममा अपनाइएको यस्तो शैलीलाई गैरजिम्मेवार र असंवेदनशीलसमेत भनेका छन् । गजुरेलले मागे माफीप्रचारात्मक प्रस्तुतिले दर्शकमा भ्रम सिर्जना गरेको भन्दै कलाकार मनोज गजुरेलले माफी माग्नुभएको छ । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले उक्त प्रस्तुतिमा आफू पनि सहभागी भएको स्वीकार गर्नुभएको छ । उहाँले आफू व्यक्तिगत रूपमा सस्तो प्रचारबाजीभन्दा सिर्जनाको गुणस्तर र दर्शकको विश्वासमा आस्था राख्ने व्यक्ति भएको उल्लेख गर्दै घटनाबाट दर्शकमा परेको भ्रम र असुविधाप्रति दुःख व्यक्त गर्नुभएको छ । मनोरञ्जनका नाममा समाजमा अनावश्यक भ्रम थप्नु उचित नहुने उहाँको भनाइ छ । नियत राम्रो हुँदाहुँदै पनि निर्णयमा त्रुटि हुनसक्ने र त्यस्तो त्रुटि स्वीकार गरी सुधार गर्नु सर्जकहरूको दायित्व भएको उहाँले बताउनुभएको छ । साथै, चलचित्र धेरै कलाकार तथा प्राविधिकको मिहिनेतबाट निर्माण हुनेभएकाले प्रचारको एउटा शैलीकै आधारमा समग्र चलचित्रको मूल्यांकन नगरिदिन उहाँले दर्शकसँग आग्रह गर्नुभएको छ । अस्पताल बनाउने कथामा हास्यरसविवादका बीच सार्वजनिक भएको चलचित्र ‘ककाकिकी’को ट्रेलरले भने यसको कथावस्तुबारे उत्सुकता जगाएको छ । ट्रेलरमा कुलेबारी गाउँका स्थानीयवासीले आफ्नो गाउँमा अस्पताल निर्माण गर्ने प्रयास र त्यसका लागि बनाएका विभिन्न योजनालाई हास्यरसमा प्रस्तुत गरिएको छ । अस्पताल बनाउन बैंक लुट्नेसम्मको योजना बनाइएको दृश्यले चलचित्रको कथालाई रोचक बनाएको छ । चलचित्रमा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के र मनोज गजुरेललगायत कलाकारको अभिनय छ । ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री गौरी मल्लले चलचित्रले अन्य चलचित्रभन्दा फरक प्रस्तुति दिने प्रयास गरेको बताउनुभएको छ । निर्देशक बिक्की अग्रवालले नेपाली दर्शकको रुचिनुसार चलचित्र निर्माण गरिएको दाबी गर्नुभएको छ । बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशन रहेको चलचित्रको लेखन बिक्की अग्रवाल, सरोज भण्डारी र विकास अर्यालले गर्नुभएको हो । श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको चलचित्रको छायांकन निर्देशन (डिओपी) सुदीप बरालले गर्नुभएको छ । ‘कमेडी दरबार’ टिमसँग सम्बन्धित यस चलचित्रमा हास्य र सामाजिक विषयवस्तुलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको छ । यसअघि भदौ १९ गते प्रदर्शन गर्ने तयारी गरिएको चलचित्र बाढीपहिरोका कारण भएको जनधनको क्षतिलाई मध्यनजर गर्दै प्रदर्शन मिति सारिएको थियो । अब चलचित्र आगामी मंसिर ११ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । चलचित्रको कथावस्तु, कलाकारको उपस्थिति र ट्रेलरले दर्शकमाझ उत्सुकता जगाइरहेका बेला प्रचारका क्रममा अपनाइएको शैलीले भने निर्माण टिमलाई प्रदर्शनअघि नै जवाफदेहिताको प्रश्नसँग जोडिदिएको छ । चलचित्रले पर्दामा कस्तो मनोरञ्जन दिन्छ भन्ने कुरा प्रदर्शनपछि थाहा हुनेछ, तर दर्शकको विश्वास जित्न प्रचारमा सिर्जनशीलतासँगै संवेदनशीलता र जिम्मेवारी पनि उत्तिकै आवश्यक हुन्छ भन्ने सन्देश ‘ककाकिकी’ प्रकरणले दिएको छ ।
प्रचारको ‘स्टन्ट’ : ‘ककाकिकी’

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






