काठमाडाैँ । पोखराको सार्वजनिक यातायात सेवालाई आधुनिक, सुरक्षित तथा वातावरणमैत्री बनाउने उद्देश्यले १६ थान विद्युतीय नगर मिनिबस सञ्चालनमा ल्याइने भएको छ। शाशील मोटर्स प्रा.लि.ले पोखरा यातायात प्रा.लि.का सदस्यहरूलाई १६ थान हाइगर विद्युतीय मिनिबस हस्तान्तरण गरेको हो। ६४.५ किलोवाट आवर क्षमताको बीवाईडी ब्लेड ब्याट्री जडित उक्त मिनिबस हस्तान्तरणसँगै पोखराको सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार हुने अपेक्षा गरिएको छ। यसबाट यातायात सेवा गुणस्तर, यात्रु सुरक्षा, सञ्चालन दक्षता तथा व्यावसायिक दिगोपनमा सुधार आउने विश्वास गरिएको छ। कार्यक्रममा पोखराका लागि हाइगरको नवनियुक्त आधिकारिक डिलर प्लाटिनियम अटोमोबाइल्सका प्रबन्ध निर्देशक पदमबहादुर केसीले ग्राहकको लगानीको सुरक्षा, विश्वास र दीर्घकालीन व्यावसायिक सम्बन्ध कम्पनीको प्राथमिकतामा रहेको बताउनुभयो। पोखरामा हाइगरका सवारीसाधनको गुणस्तरीय बिक्री, बिक्रीपछिको सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको उहाँको भनाइ थियो। त्यस्तै, पोखरा यातायात प्रा.लि.का अध्यक्ष देउप्रसाद गुरुङले हाइगर ब्रान्डको निर्माण गुणस्तर, सुरक्षा इन्जिनियरिङ तथा कार्यसम्पादनप्रति विश्वास व्यक्त गर्नुभयो। सवारीसाधनको गुणस्तर र कार्यक्षमताले व्यवसायको उत्पादकत्व तथा आम्दानी वृद्धिमा योगदान पुर्याउने उल्लेख गर्दै उहाँले हाइगरसँगको सहकार्यले पोखराको सार्वजनिक यातायात सेवामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गर्नुभयो। कार्यक्रममा हाइगरका इन्जिनियर मनोज वाग्लेले ४५ जनाभन्दा बढी चालक तथा सदस्यलाई विद्युतीय सवारीसाधनको सञ्चालन विधि, प्राविधिक विशेषता, ब्याट्री तथा चार्जिङ प्रणाली, सुरक्षा सावधानी र नियमित मर्मतसम्भारबारे अभिमुखीकरण तथा प्राविधिक तालिम प्रदान गर्नुभएको थियो। तालिमले चालकको प्राविधिक ज्ञान र सुरक्षित सवारी सञ्चालन क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमको समापनमा शाशील मोटर्सका सहायक महाप्रबन्धक प्रधुम्न केसीले १६ वटा विद्युतीय मिनिबस खरिद गर्ने पोखरा यातायात प्रा.लि.का सदस्य तथा ग्राहकप्रति आभार व्यक्त गर्नुभयो। ग्राहकको विश्वासलाई व्यावसायिक उपलब्धिका रूपमा मात्र नभई दीर्घकालीन जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै उहाँले बिक्रीपछिको सेवा र प्राविधिक सहयोगलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो। यसैबीच, पोखरामा हाइगरका सवारीसाधनको मर्मतसम्भार तथा बिक्रीपछिको सेवालाई सहज बनाउन विश्वकर्मा इन्जिनियरिङ वर्कसपसँगको सहकार्यमा अधिकृत सर्भिस सेन्टर (एएससी) सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। उक्त केन्द्रबाट स्थानीय स्तरमै आवश्यक मर्मतसम्भार तथा प्राविधिक सहयोग उपलब्ध हुने बताइएको छ। शाशील मोटर्सले सवारीसाधन बिक्रीमा मात्र सीमित नभई स्पेयर पार्ट्स, मर्मतसम्भार, वित्तीय पहुँच तथा बिक्रीपछिको सेवासहितको एकीकृत अटोमोबाइल सेवा प्रणाली विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
पोखराको सार्वजनिक यातायातमा शाशील मोटर्सको विद्युतीय पहल, १६ मिनिबस हस्तान्तरण

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






