काठमाडौं, मंसिर १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पादकहरूसँग अन्तरक्रियामा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलको अनुपस्थितिबारे प्रश्न उठाउने सञ्चारमाध्यमका सम्पादकहरूमाथि नै पार्टीभित्रको अन्तर्विरोधमा खेल्न खोजेको आरोप लगाउनुभएको छ । एमाले प्रचार विभागले बिहीबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग आयोजना गरेको अन्तरक्रियामा पौडेल र पोखरेलको अनुपस्थितिबारे प्रश्न उठेपछि अध्यक्ष ओलीले प्रश्नकर्ताहरूप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । पार्टीका दुई प्रभावशाली पदाधिकारी कार्यक्रममा सहभागी हुने पूर्वजानकारी गराइएको भए पनि उनीहरू उपस्थित नभएकाे भन्दै केही सम्पादकले त्यसबारे जिज्ञासा राख्नुभएको थियो । प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले पार्टीमा धेरै नेता हुँदाहुँदै दुई जनाको अनुपस्थितिलाई मात्रै किन प्राथमिकता दिइएको भन्दै प्रतिप्रश्न गर्नुभयो । ‘पार्टीमा त्यत्रा नेता छन्, स्थायी कमिटी, पोलिटब्युरो छ, तर जम्मा दुई जना किन आउनुभएन भनेर सोधिन्छ,’ उहाँले भन्नुभयो, ‘प्रदीपजी (ज्ञवाली) मसँग नजिक पनि हुनुहुन्छ र यहाँ पनि आउनुभएको छ, अरू नेता पनि हुनुहुन्छ, तर त्यो प्रश्नले अन्तर्विरोधमा खेल्न खोजियो ।’ उक्त भेटघाटमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक अवस्था, वर्तमान सरकारका कामकारबाही, नेपाल–भारत सम्बन्ध, प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण तथा प्रेस स्वतन्त्रताका विषयमा पनि धारणा राख्नुभएको थियो । भारत भ्रमणका क्रममा राष्ट्रिय हितका विषयमा पर्याप्त छलफल हुन नसकेको दाबी गर्दै उहाँले भ्रमणबाट अपेक्षित उपलब्धि हासिल नभएको टिप्पणी गर्नुभएको थियो । त्यसैगरी, वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै उहाँले सञ्चारमाध्यमले स्वतन्त्र पत्रकारिताको पक्षमा आवाज उठाउनुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा एमाले नेता प्रदीप ज्ञवाली, सूर्य थापा, निरु पाल, निरज आचार्यलगायतको उपस्थिति रहेको थियो ।
पार्टीकाे अन्तर्विरोधमा नखेल्न सम्पादकहरुलाई एमाले अध्यक्ष ओलीकाे आग्रह

Read Complete Original Article
Published originally on जनताटाइम्स




![बाढीको ९२ दिन बित्दा पनि सामान्य बनेन देवीघाटको जनजीवन [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-2_9766b67a_KcprLHLLSq.jpeg)
